Logo

कोइरालाको कथा (दन्त्य कथा)



कोइरालाको कथा

हिमालय पर्वत कुनै जमानामा वृन्दावन थियो । त्यतिखेर मानिसहरू भर्खरभर्खर खोरिया फाँडेर जग्गा आवाद गर्दै थिए । एउटा ठूलो ओडारमा पाँच जना कोइराला भाइहरू बस्दथे । तिनीहरू तन्त्रविद्धामा निकै सिपालु थिए, तर आफ्नो जीविका भने सिकार खेलेर चलाउँद । तिनीहरू बसेको ओडारको नाउँ थियो-मङ्जिङ्फुक ।

एक दिनको कुरा हो, पाँच जना भाइहरू सिकार खेल्न वनमा गए । दिनभरि जङ्गल डुलेर पनि त्यस दिन तिनीहरूले कुनै सिकार भेट्टाउन सकेनन् ।

तिनीहरू सार्है गले, र एउटा डाँडाको टुप्पामा गई बसे । त्यहाँ पाँच जना भाइहरूले ठोक्रोबाट काँड झिकेर पूर्व. पश्चिम, उत्तर, दक्षिण चारै दिशातर्फ हाने । अरू बाँकी काँडहरू भुइँमा गाडेर जोखना हेर्न लागे । तिनीहरूले भन्ठाने- जताबाट हरियो झिँगा आई यी भुइँमा गाडेको काँडहरूमा बस्तछ, उतैतिर सिकार भेटिनेछ । यस्तो विश्वास लिएर तिनीहरू कहिले हरियो झिँगा आउला र सिकार खेल्न जाउँला भनेर जोखना हेर्न लागे । घाम डाँडामा बस्न लाग्यो, तर हरियो झिँगा कतैबाट पनि आएन ।

पछि तिनीहरू थै खिन्न भएर उठे र घरतिर फिरे । दिनभर हिँडेका र गलेका, त्यसमाथि झन् भोकले सताउँदा त उनीहरू हुइइय परे । उनीहरूका आँखाले तोर्रीको फूल देख्न थाले ।

“भोकले मर्नुभन्दा हामी मुर्दा नै खाएर भए पनि प्राण जोगायौं ।”

माहिलोले गाली गर्यो- “धत्, मानिस खाने मान्छेहरू भनेर घृणा गर्छन् ।”

साँहिलोले भन्यो – “घाम डुबीसक्यो, यस्तो रिमरिम मा कसले देख्छ र ? भोकले मर्नु भन्दा त मुर्दै खाएर भए पनि बाँच्नु बेस । आखिर सिकार पनि त एउटा मुर्दा नै हो । आज पशुको शिकार पाइएन. तसर्थ यस मुर्दालाई नै सिकार सम्झेर खाऔँ ।”

काँहिलोले त्यस कुराको समर्थन गर्यो – “ठिक हो । आजको सिकार यहि भयो । सबै मिलेर चिहान खनौं र मुर्दा खाऔं । बरु, घरमा एक चोक्टा पनि नलाने र साथै यो मुर्दा खाएको पनि कसैले कसैलाई नभन्ने । जसले भन्छ, ऊ लगत्तै मान्छेको जुनीबाट रुखको जुनीमा जाने भनी वाचाबन्धन गरौँ ।”

कान्छोले भन्यो- “आज बल्लतल्ल भेटेको यो सिकार पनि खाएनौं भने त हामी भोकले बाटैमा मर्नेछौँ । तिमीहरूले नखाए पनि त नखाई छोड्दिन ।” यति भनेर ऊ भकाभक चिहान खन्न थाल्यो ।

कान्छो भाइको यस्तो छाला देखेर सबै दाजुहरू पनि उसलाई सघाउन पुगे । सबै जनाले मिलेर अँध्यारोमा छामछाम-छुमछुम गर्दै चिहान खनेर मुर्दालाई पाखामा निकाले र मासु काट्न थाले । त्यस मौकामा जेठो दाइले भन्यो- “ ए भाइ हो, काहिंलाले भनेको कुरो टिक हो । खानलाई सबै मिलेर खाऔँ, तर घरमा एक चोक्टा पनि नलगौँ, कहिल्यै कसैले कसैलाई पनि यो घटना नभन्ने । जसले लैजाला वा भन्ला उसले तुरुन्तै मर्नुपर्ला वा मानिसको जुनी छोडी रुख हुनुपर्ला ।”

“लौ हुन्छ” भनेर सबैले वाचाबन्धन गरे ।

त्यति बेलासम्ममा झमक्क रात परिसकेको थियो- चारैतिर अँध्यारो भइसकेको थियो । एक जनाले खाएको अर्कोले देख्तैनथ्यो । सबैले मुर्दाको मासु खाए र रहलपहल हाडमासु फेरी पुरिदिए ।

भोकका सुरमा कान्छोचाहिँ भाइलाई मुर्दाको मासु साह्रै मिठो लागेछ । ऊ आफ्नी स्वास्नीलाई औधी प्रेम गर्थ्यो । जहिले पनि आफूलाई मिठो लागेको चीज, अलिकति भए पनि, आफ्नी प्यारी पत्नीलाई लगिदिने उसको बानी थियो । अँध्यारोमा उसले मुर्दाको मासुको सानो एक चोक्टा लुकाएर आफ्नी पत्नीलाई लगिदियो । त्यो कसैले पनि चाल पाएन ।

तिनीहरू घर पुग्दा आधारात भइसकेको थियो । जहान-बालबच्चा सबै सुतिसकेका थिए । तिनीहरू पनि घर पुग्नेबित्तिकै घप्ल्याकघुप्लुक सुतिहाले ।

सबै जना निदाएको पक्का भएपछि कान्छो भाइले स्वास्नीलाई कोट्टयाएर बिउँझायो । खस्याकखुसुक साउती गर्दै उसले त्यो मुर्दाको मासुको सानो चोक्टा स्वास्नीमा मुखमा हालिदियो, र भन्यो – “ यो आजको सिकार हो । घरमा नल्याउनु भन्ने सबै दाजुहरूको सल्लाह थियो । तर तिम्रो मायाले गर्दा मैले तिमीलाई मात्र सानो चोक्टा ल्याएको हुँ । खाएर चुपचाप सुत्नू । कहिल्यै कसैलाई पनि नभन्नू ।” यति भनेर ऊ निदाइहाल्यो ।

स्वास्नीचाहिँले मासुको चोक्टा चपाउन थाली । उसलाई साह्रै स्वाद लाग्यो । फेरी खाउँखाउँ जस्तो लाग्न थाल्यो । त्यसका लागि उसले लोग्नेलाई बिउँझाउन खोजी । तर, अनेक कोसिस गर्दा पनि ऊ बिउँझें । अघि मुर्दा काटकुट गर्दा कसोकसो गरि अँध्यारोमा मुर्दाको मासुको गन्ध कान्छो भाइको घुच्चुकमा लागेको रहेछ । उसकी स्वास्नीले अँध्यारोमा लोग्नेको मुख सुँघ्ने इच्छा गरी । उसले निदाएको लोग्नेको मुख आफूपट्टि फर्काएर सास लिँदा उसले उसको नाकमा लोग्नेको घुच्चुकबाट अघि खाएको मासुको गन्ध पर्यो । स्वाद त यहाँ पो रहेछ भनी उसले झट्टपट्ट लोग्नेको घुच्चुकमा दाँत गाडी र रगत पिइरही । लोग्ने बिचरो त्यसैले गर्दा मर्यो ।

भोलिपल्ट बिहान भएपछी सबै जना उठे । तर, कान्छो उठेन । के भएछ ? – भनेर खोजतलास गर्दा कान्छो त मरिसकेको रहेछ भन्ने सबैलाई थाहा भयो । के कारणले उसको मृत्यु भएको रहेछ ? – भन्ने हल्लीखल्ली हुन् थाल्यो । कान्छी बुहारीलाई भने आफूले गरेको दोषमा आफैं डर र सर्म लाग्न थाल्यो । ऊ कसैको सामु आउन सकिन । तर, लुकेर मात्रै के गरोस् बिचरी ? उसले झट्टपट्ट बाबियो काटेर गह्रामा ल्याई र तान्त्रिक मन्त्र जप गरेर बाबियो आफ्ना दुवै कुइनाहरूमा बाँधी । अनि कोइराला पक्षीको रुपमा रूप लिएर ऊ जङ्गलतिर भुर्र उडेर गई ।

यस्तो देखेर माहिलो भाइले भन्यो – “कान्छाले हिजोको वाचाबन्धन तोडेर सिकार घरमा ल्याएछ, र त्यसैले उसको मृत्यु भएको रहेछ ।” माहिलाले यति भनेकै मात्र के थियो, कान्छाको लास पनि त्यसै ठाउँमा तुरुन्तै एउटा वृक्ष भएर खडा भयो । त्यसैलाई आजकाल कोइरालाको रूख भन्दछन् ।

( किराती दन्त्यकथा पुस्तकबाट साभार )

सङ्कलनकर्ता र अनुवादक : इमानसिंह चेमजोङ

पहिलो २०२१ ( रायल नेपाल एकेडेमी )

 

 

प्रतिक्रिया दिनुहोस्