Logo

कमला नहर भत्किँदा रु १८ करोड क्षति



Spread the love

७ असोज, धनुषा – कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करीब रु १८ करोड बराबरको क्षति भएको छ । कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो ।

आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७५० मिटर तटबन्ध भत्किएको छ । प्राप्त विवरणअनुसार नदीको दुवैतर्फ ६८.२५ किलोमिटर तटबन्ध रहेको छ ।

धनुषातर्फ ३३.६ किलोमिटर र सिराहातर्फ ३४.६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ । सिराहातर्फ ४०० मिटर र धनुषातर्फको ३५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक–पटक माग भए पनि बजेट नआएको प्रमुख साहको भनाइ छ ।

बाँध निर्माण नहुँदा जीउधन र बालीनालीको व्यापक क्षति हुने गरेको उनले बताए । उक्त भत्किएको तटबन्ध समयमा नबनेमा त्यहाँ सिँचाइमा अभाव बढ्नाका साथै ग्रामीण क्षेत्रमा नोक्सानी हुने धनुषा इनरवाका बासिन्दाको गुनासो पाइएको छ । सो आयोजनाबाट भएको क्षतिको सम्बन्धमा क्षति कम गर्न सुझावसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा पठाइएको छ ।

सुझावपत्रमा कमला नदीको उद्गमदेखि भारतीय सीमासम्म विभिन्न स्थानमा नदीमा निर्माण गरिएका पुलहरु पूर्व–पश्चिम राजमार्ग ६४० मिटर, हुलाकी सडक ४५० मिटर र विहारको जयनगरमा निर्माण भएको ३०० मिटर ब्यारेज प्राविधिक रुपले निर्माण नभएकाले नदीको बहावमा अवरोध भई तटबन्ध भत्किएको र आसपासका ग्रामीण क्षेत्रमा क्षति भएको बताइएको छ ।

हाल सो आयोजनाद्वारा नदीमा पुल लगायतका संरचना निर्माण भइरहेको छ । आव २०६५÷६५ मा भारतीय अनुदान तथा नेपाल सरकारको सहयोगमा कमला नदी नियन्त्रणका लागि उक्त तटबन्धका साथै पूर्वाधारको निर्माण भएको हो । कमला नदीको दुवैतिर धनुषा र सिराहा जिल्लामा २५ हजार बिगाहा जमीनमा सो नदीबाट सिँचाइ हुँदै आएको छ । धनुषामा १२ हजार ५०० बिगाहा र सिराहामा १२ हजार ५०० बिगाहा जमिनमा सिँचाइ हुँदै आएको सो आयोजनाबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्