Logo

भाइरल ज्वरोका बिरामी थपिँदै



Spread the love

७ असोज, डोटी – जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ थपिँदै छ । यहाँको जिल्ला अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउँछन् । पहिले १०० जनासम्म बिरामी आउने गरेका भए पनि अहिले ३०० सम्म पुग्न थालेको जनाइएको छ ।

जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुग्नेमध्ये अधिकांश स्थानीयवासीमा भाइरल ज्वरो र निमोनियाको संक्रमण देखापरेको जिल्ला अस्पतालका डा गिरीश अवस्थीले बताए । उनले भने, “अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।”

फोहर तथा दूषित पानीको प्रयोग गरेका कारण यहाँका बासिन्दामा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको उनको भनाइ छ । हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए ।

भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने यहाँका चिकित्सकले सुझाब दिएका छन् । व्यक्तिगत सरसफाइ र खानपान तथा पानी उमालेर खानमा ध्यान दिन जिल्ला अस्पताल डोटीका डा अवस्थीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्