Logo

यस्तो बन्दैछ शालिग्राम सङ्ग्रहालय (सम्पूर्ण जानकारी)



Spread the love

८ असोज, बागलुङ – बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरछेवैमा सुरुङद्वार देखिन्छ । द्वारबाट छिरेपछि निर्माणाधीन भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पुगिन्छ ।

सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरुप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनिरहेको छ । सङ्ग्रहालयको ८० प्रतिशत काम पूरा भएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउ । “आउँदो माघसम्ममा सर्वसाधारणलाई सङ्ग्रहालय खुला गर्ने योजना छ”, उनले भने ।

कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइने बहुमूल्य शिला शालिग्राम जोगाउने उद्देश्यले गत वर्ष सङ्ग्रहालय निर्माणको काम शुरु भएको थियो । सय मिटर लामो सुरुङको प्रवेशद्वार नजीकै कृत्रिम भू–बनोटमा दामोदर कुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । यसमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।

भौगोलिक नक्सा अनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । मुस्ताङमा पर्ने दामोदर कुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । “सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरुप देखाउन खोजिएको छ”, अध्यक्ष प्रपन्नाचार्यले भने ।

सुरुङको केही भित्र पुगेर बायाँ मोडिएपछि शालिग्राम सङ्ग्रह गर्नका लागि बनाइएको संरचना भेटिन्छ । दुर्लभ र धार्मिक महत्वका एक लाख शालिग्राम त्यहाँ सङ्ग्रहित गरिनेछ ।

मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृति कक्ष पनि सङ्ग्रहालयमा रहनेछ । उहाँको मूर्तिसँगै गण्डकी सभ्यताबारे उनले लेखेका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा रहने जनाइएको छ ।

भारत, चीन, पाकिस्तानलगायत देशमा रहेका प्रसिद्ध नदीका शिलाहरु पनि सङ्ग्रहालयमा राखिने छ । समुन्द्री अवशेषहरुलाई पनि नमूनाका रुपमा राखिने जनाइएको छ । त्रिशूल आकारमा बनेको सुरुङको दायाँपट्टि ११२ जना अट्ने वृत्तचित्र प्रदर्शनी कक्ष छ । “एउटा गण्डकी सभ्यताको इतिहास र महिमा झल्काउने वृत्तचित्र बन्दैछ, अर्को गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमणको पीडा र रोदन देखाउने खालको छ”, अध्यक्ष प्रपन्नाचार्यले भने ।

अत्याधुनिक प्रविधिको प्रयोग गरेर भारतको बेङ्गलोर शहरमा वृत्तचित्र बनिरहेको उनको भनाइ छ । सुरुङको पछिल्लो भागमा ध्यान स्थल पनि बनाइएको छ । भक्तजन र पर्यटकलाई सङ्ग्रहालयभित्र एक÷डेढ घण्टा भुल्ने वातावरण बनाइने मन्दिर व्यवस्थापनको योजना छ ।

बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । भौतिक पूर्वाधारको काम करीब सकिएको र सजावटका काम बाँकी रहेको जनाइएको छ । शालिग्राम राख्नेदेखि धार्मिक स्थलहरुको नक्साङ्कन र वृत्तचित्रको काम पनि अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालय निर्माणमा झण्डै रु छ करोड लागत लाग्ने भएको छ ।

सङ्ग्रहालय निर्माणका लागि गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएका थिए । चालू आवमा कतैबाट पनि सरकारी बजेट नछुट्टिएको मन्दिर व्यवस्थापनको गुनासो छ । “चन्दा, दान, सहयोगबाटै काम अघि बढिरहेको छ”, अध्यक्ष प्रपन्नाचार्यले भने, “सरकारको पनि उचित सहयोग प्राप्त होस् भन्ने अपेक्षा छ ।”

शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटनमा ठूलो टेवा पुर्याउने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । “बागलुङ भित्रने पर्यटकलाई सङ्ग्रहालय महत्वपूर्ण गन्तव्य बन्ने देखिएको छ”, उनले भने, “सङ्ग्रहालयको निर्माण कार्य समयमै सक्न सबै पक्षको सहयोग आवश्यक छ ।”

प्राकृतिक र मानवीय अतिक्रमणका कारण शालिग्राम लोपन्मुख अवस्थामा पुगेपछि संरक्षण प्रयास थालिएको हो । धार्मिक हिसाबले पवित्र मानिने शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्को अवतारका रुपमा पुज्ने गरिन्छ । सङ्ग्रहालय नजीकै निर्माणाधीन श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल र ढोका बनाइएको छ ।

मन्दिर निर्माणको काम भक्तपुरका दक्ष कालीगढले गरिरहेका छन् । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवीदेवताका आकृति कुँदिएका छन् ।

मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेंकटनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीका मूर्ति रहने जनाइएको छ । पहिले मुक्तिनाथ जाने तीर्थयात्री सोही मन्दिर भएर जाने गर्दथे ।

बागलुङ बजारदेखि २० मिनेटको मोटरयात्रामा शालिग्राम सङ्ग्रहालयमा पुग्न सकिन्छ । श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, शालिग्राम सङ्ग्रहालय, कालिका भगवती मन्दिर, पञ्चकोट आदि जिल्लाको धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्य हुन् ।

प्रतिक्रिया दिनुहोस्