Logo

पर्यटन पूर्वाधार विकासमा जोड दिन आग्रह



Spread the love

८ असोज, पोखरा – गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले पर्यटन क्षेत्रलाई धरासायी बनाउने बताएका छन् । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) ले आज पोखरामा गरेको ‘पोखराको पर्यटन हिजो, आज र भोलि’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख कुँवरले व्यवसायी–व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धाले द्वन्द्वले दोष अरुलाई देखाउने आफ्नो जिम्मेवारी बिर्सने कार्य पर्यटन क्षेत्रमा देखिएको बताएका छन् ।

उनले समयको माग र पर्यटकको रुचिलाई बुझेर पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । आन्तरिक भ्रमण वर्ष र नेपाल भ्रमण वर्ष केवल सरकारको मात्र नभई सम्पूर्ण नागरिकको भएकाले साझा अवधारणाबाट सहयोगी भएर अघि बढ्न प्रदेश प्रमुख कुँवरले आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अराजकता, असहिष्णुता, अशान्त, अव्यवस्था र असुरक्षा नेपाली पर्यटनका लागि अभिशाप भएको बताए । हवाइमार्गबाट ८१ प्रतिशत र स्थलमार्गबाट १९ प्रतिशत पर्यटकको आगमन हुने तथ्याङ्कले देखाएकाले हवाइमार्गमा जोड दिनुपर्ने उनको जोड थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले पर्यटनमा विविधताको जरुरी रहेको धारणा राखे । बोर्डका पूर्वअध्यक्ष गणेश भट्टराई निजी क्षेत्रले पर्यटनमा निकै ठूलो योगदान दिएको राज्यको चासो कम भएको धारणा राखे ।

नेपाल पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकासका लागि राज्यले पर्यटनमैत्री नीति निर्माण गर्नुपर्ने बताए । टेवानका अध्यक्ष लक्की कार्कीले पोखराको पर्यटन दिन प्रतिदिन खस्कँदै गएको र पर्यटकको बसाइँ छोटिदै गएको भन्दै पर्यटन क्षेत्रको विकासमा सरोकारवालाले चासो राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्