Logo

अबोधबाट बोधको यात्रामा हिँड्दै गरेकी किशोरीको कथा !



अबोधबाट बोधको यात्रामा हिँड्दै गरेकी किशोरीको कथा !

बाबुआमासँग भन्दा दाजुभाइ दिदीबहिनीसँग, दाजुभाइ दिदीबहिनीसँग भन्दा साथीहरूसँग, साथीहरूसँग भन्दा मायालुसँग मानिस धेरै कुरा गर्छ । तर सबैभन्दा धेरै कुरा उमेरसँग गर्छ- आफ्नै उमेरसँग । अमर भन्छन्- गुलाबी उमेर आफ्नै उमेरसँगको कुराकानी हो ।

जीवनको बाटो त एकतर्फी छ । त्यसैले आफ्नो विगतलाई मानिस पोखरीमा देखिएको जूनको प्रतिबिम्बलाई झैँ हर्न मात्र सक्छ; जति जाल फ्याँके पनि माछालाई झैँ बाहिर झिक्न सक्दैन ।

जीवनमा सिकाउनेहरू धेरै हुन्छन् । घरले सिकाउँछ, स्कुल र कलेजले सिकाउँछन्, किताब र महात्माहरूले सिकाउँछन् । तर सबैभन्दा धेरै उमेरले सिकाउँछ ।

आफ्नै उमेरसँग केही सिक्दै गरेकी एक किशोरीको हुर्कँदो उमेरको कथा हो- गुलाबी उमेर । जहाँ उमेरको अनेक उतारचढाव; मनोदशा र मनोवृत्तिको चित्रण छ ।

उसो त गुलाबी उमेरका लेखक भर्खर बैजनी उमेरमा प्रवेश गरेका छन् । उनी आफू पनि उमेरसँग खुब बात गर्छन् । आफ्नो उमेरसँग बात गर्दागर्दै उनलाई एक किशोरीको उमेरसँग कुरा गर्न मन लाग्यो । तर सकेनन्

त्यसपछि उनले एउटी किशोरी पात्र खडा गरे र त्यही पात्रलाई आफ्नो उमेरसँग कुरा गर्न लगाए । अनि तयार भयो- गुलाबी उमेर

आजभोलि राजधानीका सार्वजनिक यातायातमा समेत कतिपय गुलाबी उमेर पढिरहेका भेटिन्छन् । गुलाबी उमेरकाले आफ्नो उमेर अनुभव गर्दै र गुलाबी उमेर पार गरेकाले आफ्नो या आफ्ना सन्तानको गुलाबी उमेर सम्झँदै पढिरहेका भेटिन्छन् ।

अनि यो पङ्क्तिकार भन्छ- आह… किताबको उपलब्धि । वाह… उमेरको कथा । वाउ अमर(न्यौपाने) दाइ ।

आजभोलि राजधानीका सार्वजनिक यातायातमा समेत कतिपय गुलाबी उमेर पढिरहेका भेटिन्छन् । गुलाबी उमेरकाले आफ्नो उमेर अनुभव गर्दै र गुलाबी उमेर पार गरेकाले आफ्नो या आफ्ना सन्तानको गुलाबी उमेर सम्झँदै पढिरहेका भेटिन्छन् ।

अनि यो पङ्क्तिकार भन्छ- आह… किताबको उपलब्धि । वाह… उमेरको कथा । वाउ अमर(न्यौपाने) दाइ ।


आख्यानकार अमर न्यौपानेका प्रकाशित कृतिहरू

उसो त भन्नैपर्दा-

२०६७ साल असार १३ गते  नेपाल साप्ताहिकमा छापिएको ‘अहँ मम्मी’ नामको कथा नै ‘गुलाबी उमेर’ बिउ बनिदियो । अहिले त्यस कथा अनलाइन अर्काइभमा भेटिँदैन । त्यस कथा लेख्दासम्म र नेपाल साप्ताहिकमा प्रकाशन गर्दासम्म त्यस कथा नै गुलाबी उमेरको मूल कथा बन्ला भन्ने उनले सोचेका थिएनन् । त्यति बेला उनी स्कुल पढाउँथे । कथा प्रकाशित भइसकेपछि उनका केही विद्यार्थीले पढेछन् । स्कुलमा खुब पपुलर भएछ । कतिपय विद्यार्थीले भनेछन्, “सरले हाम्रो कथा कसरी थाहा पाएछन् ?”

आफ्नो कथा लेखिदिने शिक्षक भनेर उनले विद्यार्थीबाट खुब प्रशंसा पाएछन् । त्यसपछि अझ उनी  विद्यार्थीहरूको मनपसन्द शिक्षक ठहरिए । कतिपय विद्यार्थीले उनलाई आफ्नो कथा सुनाउन समेत थाले ।

त्यसपछि उनलाई लाग्यो, किशोर किशोरीहरूको उपन्यास लेख्नुपर्छ । २०/२५ हजार शब्द पनि लेखे । त्यसपछि सेतो धरती उपन्यास लेख्न देवघाट गएर एक महिना बसे । सेतो धरतीको कथाले यसरी लखेट्यो कि उनी भाग्दाभाग्दै सेतो धरतीबाट करोडौँ कस्तुरीसम्मको साहसिक र रोमाञ्चक यात्रामा दौडिन पुगे ।

अलि विस्तारमा भन्नुपर्दा- 

उनले सेतो धरती लेखि भ्याए । चर्चा बटुले । ‘गुलाबी उमेर’ को सम्झना धमिलिँदै गयो । ‘गुलाबी उमेर‘ लाई ल्यापटपमा कुनामा कतै थन्को लगाएर करोडौँ कस्तूरी लेख्न थाले । करोडौँ कस्तूरी शैक्षिक उपन्यास भएकाले उपन्यास प्रकाशित भएपछि धेरै विद्यार्थीले भने, “हाम्रो उमेरको पनि कथा लेख्नु न  । हामी हाम्रो उमेर पढ्न चाहन्छौँ ।”

त्यसपछि उनी झस्के । “ला… ! मैले त लेख्दै थिएँ त । ओहो मेरो अल्छ्याइँ !”

तत्पश्चात् उनी ती सामग्री जम्मा गर्न लागे, जहाँ किशोर किशोरीका कथा टुक्रा टुक्रामा थिए । १३ देखि १९ वर्ष उमेरको किशोर किशोरीको मनोविज्ञान र तीनका उमेरको उतारचढावका फूलहरूलाई कथाको एउटा धागोमा उन्न थाले ।

अँ फुल उन्दाउन्दै धेरै ठाउँमा उनले काँडा पनि उनेछन् । ती काँडाले कहिले फूललाई नै घोचेछन्, कहिले जोगाएछन् । पटक पटक आफू पनि घोचिएको बताउँछन् उनी ।

अब सविस्तारमा जाऔँ-

आफ्नो अध्यापनको १२ वर्षे कामा उनले थुप्रै किशोर किशोरीका कथा सुने ।  किशोरवयका विभिन्न पक्षहरूका बारेमा परोक्ष या प्रत्यक्ष रूपमा जान्ने मौका पाए । उनको अध्यापन पेशाले उनलाई उनी(किशोर किशोरी)हरूले जीवनलाई हेर्ने आँखा, भोगाइलाई छाम्ने हात र सपनालाई चाख्ने स्वादको बारेमा नजिकैबाट सुमसुम्याउन अवसर दिलायो ।

यस्तै यस्तै सोचाइको पोखरीमा डुबीरहेका थिए उनी । तब उनलाई लाग्यो, कथामा मात्रै उनीहरूको कुरा अट्दैन ।

अब पौडिन थाले उनी ।  तत्पश्चात् उनलाई यो पनि लाग्यो- टिनेजको बारेमा यहाँ (नेपालमा) त्यति लेखिएका पनि छैनन् ।

अझ पौडी रहे । “उनीहरूको लागि किताब खै त ? उनीहरूले आफ्नो कथा कहिले पढ्न पाउने त ?” उनी यस्ता थुप्रै प्रश्नको चपेटा चेपिन थाले ।

उनलाई लाग्यो, टिनेजलाई नेपालीमा के भन्ने होला ?

विद्वानहरूलाई सोधे । विभिन्न शब्दकोश हेरे । अमर कोश हेरे । फेला पारेनन् । पारे पनि चित्त बुझेन । वैदिक कालमा विभाजन गरिएको उमेरको विभाजन उनलाई अहिलेको समयमा त्यति उपयोगी लागेन ।

यदि सूर्यको प्रकाश पृथ्वीमा नपरेको भए पृथ्वी आइस प्लानेट हुने थियो । सूर्यको प्रकाशका कारण नै पृथ्वीमा जीवन सम्भव भएको हो । सूर्यको प्रकाशमा सात रङ छन् । त्यसैले उमेरलाई पनि रङका आधारमा नै विभाजन गर्न जाती होला भन्ने उनलाई लाग्यो ।

यदि सूर्यको प्रकाश पृथ्वीमा नपरेको भए पृथ्वी आइस प्लानेट हुने थियो । सूर्यको प्रकाशका कारण नै पृथ्वीमा जीवन सम्भव भएको हो । सूर्यको प्रकाशमा सात रङ छन् । त्यसैले उमेरलाई पनि रङका आधारमा नै विभाजन गर्न जाती होला भन्ने उनलाई लाग्यो ।


उमेर विभाजन 

त्यसपछि उनी आफैँ उमेर विभाजन गर्न तम्सिए ।

जन्मेदेखि १२ वर्षसम्मको  उमेर, पल्लवी उमेर ।-  सबैभन्दा अबोध र निश्छल उमेर ।

१३ देखि १९ वर्षसम्मको  उमेर, गुलाबी उमेर ।- सबैभन्दा तरल र कल्पनाशील उमेर ।

२० देखि ४० वर्षसम्मको  उमेर, मखमली उमेर ।- सबैभन्दा ऊर्जावान् र शक्तिशाली उमेर ।

४१ देखि ६० वर्षसम्मको  उमेर, बैजनी उमेर ।-  सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर ।

६१ देखि मृत्युपर्यन्त, अस्मानी उमेर।- सबैभन्दा आध्यात्मिक र सोचमग्न उमेर ।

उमेर विभाजन सकिएसँगै,

उनलाई उमेरलाई पाँच भागमा विभाजन गर्न निकै समय लाग्यो । तर उमेर विभाजन सकिएसँगै उनले लेख्न शुरु गरे – १३ देखि १९ वर्ष अवधिको समयलाई समातेर । यसो गर्नुको पछाडि कारण रहेछ, उनी आफैँले बताए- ,मैले ७ वर्षको अवधिलाई समाते । त्यो ७ वर्ष सूर्यको प्रकाशसँग पनि जोडिन्छ । सूर्यको प्रकाशको ७ वटा रङ हुन्छ । ७ वटा भाग हुनु आफैँमा महत्त्वपूर्ण लाग्यो ।”

यसैकारण पनि हो- पाठकको हात-हातमा परेको किताबमा ७ अध्याय छ । उमेरअनुसारको एक-एक अध्याय ।

पुस्तक : गुलाबी उमेर

र, गुलाबी उमेरको लेखन शुरु भयो,

यो उपन्यास गुलाबी उमेरको कथा भए पनि थोरै पल्लबी र केही मखमली उमेरको रङ पनि मिसिएको छ । । उनका अनुसार- ‘१३ देखि १९ वर्ष को उमेर एकदम गम्भीर उमेर हो । किशोर किशोरी गम्भीर हुँदैनन् तर उमेर भने गम्भीर हो । किनभने जीवनको नदीलाई बाँध बाध्ने उमेर यही हो । जीवनलाई कुन बाटोमा हिँडाउने भनेर दिशा निर्देश गर्ने उमेर नै यहीँ हो ।’

नेपाली साहित्यमा किशोरकिशोरीको कथा खासै छैन । उनलाई लाग्यो, बादलझैं उडेको उमेरलाई अक्षरहरूमा आकार दिन अब ढिलो गर्नुहुन्न ।  उनी लेख्न बसेँ । सेतो धरती, पानीको घाम जस्तो लगातार लेखेनन् । “यत्ति नै समय भन्ने भएन तर ग्याप लामो भयो ।”, उनी बताउँछन् ।

उनी उपन्यास लेख्नुअघि इन्जिनियरले घर बनाउनुअघि नक्सा कोरेझैँ नक्सा कोर्छन् । थ्रिडी सहितको नक्सा । यसकारण म्याप बिग्रने या लेखक लेखनबाट भड्किने  भन्ने केही भएन । “दुई नम्बरको इट्टा हाल्ने ठाउँमा एक नम्बरको इट्टा हालियो होला, कहीँ टायल थपियो होला । कलर कहिँकहिँ चेन्ज गरियो होला । सामान्य चेन्ज भयो तर डिजाइन चेन्ज भएन ।”, उनी आफ्नो भनाई आफैँ प्रष्ट पार्छन्  ।

लेख्दै जाँदा..

कक्षामा पढाउँदा उनी किताबका कुरा पढाउँथे तर विद्यार्थीबाट जीवनका कुरा सिक्थे । किताबका कुरा त उनका थिएनन् तर जीवनका कुरा त विद्यार्थीका थिए । विद्यार्थीहरूलाई प्रोजेक्ट वर्क दिँदा एक पटक उनले आफ्नै उमेरको कथा लेख्न दिए । ती किशोरकिशोरीको कथा पढ्दा त उनलाई लाग्यो, बाफ रे ! यिनीहरू त लेख्न बाँकी कथा पो रहेछन् । ‘अबोधबाट बोधको यात्रामा हिँड्दै गरेका किशोरीहरू’सँग यति धेरै रहस्य हुँदा रहेछन् भन्ने उनले चाल पाए ।

जब ऋतु स्कुल आइन । उनले सोधे,- “ऋतु, यतिका दिन तिमी कहाँ ग’की थ्यौं ?” ऋतु केही बोलिनन् । रन्जुले भने, भन्दिम भन्दिम् भनिन् ।

ऊ निहुरी मुन्टी लगाएर बसीरही । उसले कुहिनाले हानेर नभन् नभन् भनी रही । तर रन्जूले सासले बोलेर भने पनि कुरो फुत्काइदिइन्, ‘के सर, ऋतु मिन्स भएर नआकी ।’


फ्ल्यासब्याक- १ 

त्यस समयको कुरो- ब्याचलर पढ्दै उनी आफैँ पढेको स्कुलमा पढाउँथे । अन्नपूर्णा माध्यमिक विद्यालय -पार्वती । आठ कक्षामा उनी स्वास्थ्य शिक्षा पढाउँथे । कक्षामा एउटी किशोरीको नाम थियो- ऋतु । रन्जु र ऋतु एकदम मिल्थे । रन्जु फर्स्ट गर्ल थिइन् ।

अचानक ऋतु हप्ता दिनसम्म स्कुल आइनन् । राम्रो पढाइ भएको विद्यार्थी एक हप्तासम्म स्कुल नआउँदा उनलाई कक्षा नै शून्य लाग्यो ।

जब ऋतु स्कुल आइन । उनले सोधे,- “ऋतु, यतिका दिन तिमी कहाँ ग’की थ्यौं ?” ऋतु केही बोलिनन् । रन्जुले भने, भन्दिम भन्दिम् भनिन् ।

ऊ निहुरी मुन्टी लगाएर बसीरही । उसले कुहिनाले हानेर नभन् नभन् भनी रही । तर रन्जूले सासले बोलेर भने पनि कुरो फुत्काइदिइन्, ‘के सर, ऋतु मिन्स भएर नआकी ।’

ऋतुले रन्जूलाई मज्जाले पिठ्यूँमा पिटिन् र लाजले घोप्टो परिन् । घोप्टो परेर पनि रन्जूको तिघ्रामा चिमोटिन् । आफ्ना कुराहरू भन्न ऋतु शब्दहरूले गरिब भएकी थिइन तर भावले धनी ।

त्यसको केही दिनमा ऋतुको नाम बदलियो- दिप्ती ।

छक्क परेर उनले कक्षामै सोधे, ‘त्यति राम्रो नाम किन चेन्ज गर्यौ ?’

यसपटक पनि रन्जूले नाम फेर्नुको रहस्य भन्न हौसिइन् । ऋतु अर्थात् दिप्तीले फेरि पनि रन्जूको तिघ्रामा नभन भन्दै चिमोटिन् । रन्जूले ऋतुतिर हेरेर आँखीभौँ खुम्च्याउँदै भनिन्, ‘सरलाई भन्न के हुन्छ त नि ? हाम्रै सर त हो नि ।”

ऋतुले रोक्दारोक्दै रन्जूले उसरी नै आवाजमा धेरै सास मिसेर भनिन्, “के सर, उसलाई सबैले उल्टोबाट बोलाए ।”

ऋतुले पहिले भन्दा अझ जोडेले रन्जुको पिठ्यूँमा हानिन् र घोप्टो परिन् ।

लेख्दै जाँदा थुप्रै घटनाहरू फ्लासब्याक भएर आउँछन् । उपन्यास नै लेख्न बस्ने भएपछि उनले यस घटनालाई पनि कथामा राख्नु उपयुक्त सम्झे । उनले त्यस घटनाका कारण  यति सानो कुराले पनि टिनेजका किशोर किशोरीहरूमा ठुलो परिवर्तन आउने गरेको उनले चाल पाए ।किशोरीहरूका यस्ता अनेक अबोध कुराहरू उनको मनमा जम्मा हुँदै गए । र, पछि उपन्यासको खुराँक बने ।

फ्ल्यासब्याक- २ 

किताबमा प्रथमपटक कुनै पनि किशोरी रजस्वला हुँदाको छटपटी, उकुसमुकुसलाई ठ्याक्कै उतारेका छन् उनले । यसको पछाडिको रहस्य यसरी खोले उनले- एक दिन क्लासमा पढाइरहँदा प्रोजेक्ट वर्कको रूपमा छात्राहरूलाई आफ्नो पिरियडको अनुभव लेख्न अह्राएका रहेछन् ।  प्रोजेक्ट वर्कका कार क्लासभरिका छात्राहरूबाट महिनावारीका निकै अनुभवहरू जम्मा भएछन्- उनीसँग । “तीनै कलेक्सनबाट दुई वटा संस्मरण छानेर मैले यहाँ राखेको हुँ ।” – उनी भन्छन्  ।

यसो गर्नुको पछाडि कारण रहेको बताउँछन् उनी । व्यक्ति पिच्छे महिनावारीको फरक-फरक अनुभव हुन्छ । यस किताबमा उनले उसैगरी फरक-फरक मानिस(महिला)हरूको स्टोरीलाई जोड्दै जोड्दै लगेका छन् । यसकारण उनले यहाँ कुनै इमाजिन गर्न परेन । तर आर्टको काम भने बाँकी थियो । उनको मिहेनत यहीँ देखिन्छ । कथा उनीहरूको भएता पनि कला उनको हो ।

कुनै उपन्यास लेख्न बस्दा  कहिलेकाहीँ पुरै फ्याँक्न पनि सकिने त कहिलेकाहीँ फर्स्ट राइटिङ नै एकदम राम्रो हुने बताउँछन् उनी । उनले फर्स्ट राइटिङ नै लगभग फाइनल गरेको भनेको सेतो धरतीको हो । थोरै सम्पादन मात्रै गरेका हुन् त्यसलाई  । तर गुलाबी उमेर त्यस्तो होइन । गुलाबी उमेर एकदम धेरै इडीट गरेको उनी स्विकार्छन् ।

Image may contain: 3 people, including Amar Nyaupane, people smiling, people standing and outdoor
   गुलाबी उमेर विमोचन कार्यक्रम: आख्यानकारद्वय अमर न्यौपाने, कृष्ण धारावासी र अभिनेत्री केकी अधिकारि

किताबभित्र,

यसमा ७ वटा अध्याय छन् । प्रत्येक अध्याय विभिन्न पाठ छन् । लेख्दा प्रत्येक पाठ आफैमा पूर्ण होस् भन्नेमा एकदम ध्यान दिए उनले । प्रत्येक पाठलाई उनी मीठो लाक्षणिक शीर्षक दिन्छन्। यो टेक्निक उनले सेतो धरती र करोडौँ कस्तूरीमा पनि अपनाएका छन् । त्यस्तै पात्रहरूलाई पनि उनी जुन भूमिकाका लागि उपन्यासमा ल्याएका हुन्, त्यति नै भूमिका दिएर त्यो पात्रलाई छोडिदिन्छन् ।

उनी भन्छन्, “अरूको भन्दा फरक होस् भनेर म नयाँ तरिका सोचिरहन्छु ।” उनलाई आफ्नो यो ट्रेन्ड अरूले फलो नगर्दिउन् जस्तो पनि लाग्छ । बरू विषय दोहोरिए पनि प्रत्येकको उपन्यासको नक्सा, डिजाइन र शैली फरक हनुपर्छ भन्ने सोचेर उनी लेख्छन् ।

यस्तै उनका उपन्यासका वाक्यहरू पाठक मैत्री छन् । तिनले सोझै पाठकलाई प्रेमप्रस्ताव राख्छन् । पढ्दै गर्दा तिनले आफूसँगै यात्रा गराउँछन् । आफूलाई मन परेको मानिसँग लामो यात्रा गरे पनि एकैछिनमा सकिए जस्तो लागेझैं उनका लामालामा उपन्यास पढ्दा पनि पाठकहरूले एकैछिनमा सकिएको महसुस गर्छन् ।

“उपन्यासको काम पाठकको मनमा करुणा जगाउने हो । समभावना जगाउने हो । र, मानवता पनि ।”  उनी भन्छन् । उनका अनुसार  करुणा भनेको मन धुने साबुनको नाम हो । “यदि एउटा उपन्यास पढेर तपाईँमा करुणा पलाउँछ भने तपाईँको मन धुन सफल भयो- त्यो साहित्य ।”, उनी थप्छन् ।


उसो त उनलाई ‘रुन्चे साहित्य लेख्ने आख्यानकार’ भनेर कसै-कसैले ट्याग भिराइदिएका छन् । उनले आफ्ना अघिल्ला तीन पुस्तकमा जस्तै यसमा पनि करुणा भरेका छन् । र, पाठक एवम् समालोचक वर्गसामू ‘रुन्चे साहित्यकार’ को छवि थप प्रष्फुटित गराएका छन्  । “उपन्यासको काम पाठकको मनमा करुणा जगाउने हो । समभावना जगाउने हो । र, मानवता पनि ।”  उनी भन्छन् । उनका अनुसार  करुणा भनेको मन धुने साबुनको नाम हो । “यदि एउटा उपन्यास पढेर तपाईँमा करुणा पलाउँछ भने तपाईँको मन धुन सफल भयो- त्यो साहित्य ।”, उनी थप्छन् ।

करुणा भएपछि समभाव जाग्छ । समभाव भनेको त र म को भाव एउटै हो भन्नु हो । करुणा जन्मिएपछि समभाव आफैँ जन्मिन्छ । त्यसलगत्तै मानवता जन्मिने उनी बताउँछन् । यसैकारण पनि डाइरेक्ट मानवतामा नगईकन करुणाबाट सुरु गर्छन् उनी आफ्नो लेखाइ । ” म आफू पनि कारुणिक मान्छे हुँ । मेरा उपन्यासहरू पनि कारुणिक हुने गर्दछन् ।”, उनी बताउँछन् ।

अन्त्यमा,

पङ्क्तिकार आफैँले पनि गुलाबी उमेर पढीसकेकाले यसबारे केहि लेख्ने अनुमति चाहन्छ, 

एउटा किशोरीको मनोविज्ञानलाई उतारिएको गुलाबी उमेरमा किशोरावस्था, किशोरावस्थाले ल्याउने रोमाञ्चकता, उमङ्गता,अन्योलता मात्रै होइन त्यससँगै निम्तिएका मानिसक, पारिवारिक र सामाजिक परिवर्तनहरू पनि छर्लङ्ग उतारिएको छ । अर्कोतर्फ यस किताबले वर्तमान नेपाली समाजले कस्तो संस्कारलाई अङ्गीकार गरिरहेको छ ? यो समाजको किशोरकिशोरीप्रति कस्तो धारणा छ ? किशोरवयका बालबालिका र पारिवारिक बीच के-कस्ता छेकबार देखिन्छन् ? त्यसका कारणहरू के-के हुन् ?  यस उमेरको प्रेम र प्रेमप्रतिको धारणा कस्तो हुन्छ ? कल्पना र परिस्थितिबीच कस्तो तादम्यता रहन्छ ? पछिल्लो नेपाली समाजले आफ्ना छोरा-छोरीलाई कसरी हेरिररहेको छ ? पछिल्ल्ला छोराछोरीले आफ्ना बाउआमा प्रति कस्ता व्यवहार देखाइरहेका छन् ? यस्ता विभिन्न वाक्यहरूमा प्रश्न चिन्ह(?) झुन्डाएर पूर्णविराम (।) लगाउने काम गुलाबी उमेरले गरेको छ । यसका साथै परिवेश वर्णनमा उति साह्रो शब्दहरू नखर्चीकन सरासर कथा भन्दै जानुले उनलाई उनका अघिल्ला पुस्तकहरूको बराबरीमा पुर्याएको छ ।

अर्को तर्फ- यस किताबले थोरबहुत रुपमा यौनका बारेमा पनि बोल्ने चेष्टा गरेको छ । उसो त हाम्रो आजको समाजमा यौनका बारेमा स्पष्ट भाषा छैन । यौनका बारेमा कुरा गर्न हामीकहाँ स्पष्ट अक्षर, शब्द, वाक्य सम्म छैन । यहि परिस्थितिबीच यस किताबले पाठकीय समाज (नेपाली समाज)मा यौन शिक्षा या मानिसलाई यौनका बारेमा खुलाउने लक्ष्य राखिएको देखिँदैन । ( सायद यहाँ उनले यौनका बारेमा कुरा गर्न नचाहेका हुन् कि ?) यसका साथै आमा-छोरीबीचको फाटो र खटपटलाई अलि बेसी नै शब्द खर्चिएको देखिन्छ ? या बाउ-छोरीबीचको सम्बन्धलाई त्यो हदसम्म बलियो बनाइरहँदा नेपाली समाजको समग्रता नसमेटिएको हो कि ? (किनकी) बाउ-छोरीबीच किताबमा वर्णित समझदारी एवम् सहजता काठामाडौं जस्तो शहरमा पनि देखिने अवस्था सिर्जित भइसकेको छैन। जहाँसम्म इलेक्ट्रा कम्प्लेक्स र इडिपस कम्प्लेक्सको सवाल छ, यसमा लेखक सचेत छन् ।

उमेरसँगै शरीरमा देखिने शारीरिक परिवर्तन । शरीरमा आउने यौवन अवस्था, त्यो सँगसँगै निम्तिने प्रेमभाव र यौनभाव । त्यससँगसँगै निम्तिने स्व-अस्तित्व, भविष्य प्रति चिन्ता, पारिवारिक बोध । र, त्यस सँगसँगैको कर्तव्य बोध । यी सब कुराका सुन्दर माला हो- गुलाबी उमेर ।


एक वाक्यमा भन्नुपर्दा- किताब एउटा किशोरी (ऋतु, ऋतुराज, मुनु, वेदांशि र वेदु )को  मनोवैज्ञानिक पेरिफेरिमा घुमेको छ ।  बाल्यकालका साथीहरू, आफू जन्मेको ठाउँ छोड्दा आउने सम्झनाहरू । साथै उमेरसँगै शरीरमा देखिने शारीरिक परिवर्तन । शरीरमा आउने यौवन अवस्था, त्यो सँगसँगै निम्तिने प्रेमभाव र यौनभाव । त्यससँगसँगै निम्तिने स्व-अस्तित्व, भविष्य प्रति चिन्ता, पारिवारिक बोध । र, त्यस सँगसँगैको कर्तव्य बोध । यी सब कुराका सुन्दर माला हो- गुलाबी उमेर

र, उनको यस ‘हुर्कँदो उमेरको किशोरी’को कथा पढ्दै जाँदा साना बालबालिकाहरू ऋतुको उमेर सँगसँगै हुर्कँदै जान्छन् । कल्पनाको एउटा धरातलमा बुर्कुसी मार्दै कुदनेछन् । किशोरवयका पाठकहरू आफ्नो उमेरको विभिन्न आयामहरू भेट्दै जान्छन् ।  पटकपटक आनन्दित हुनेछन्, दु:खी हुनेछन् र फेरी मुस्कुराउने छन्  । युवा/वयस्क/बुढा पाठकहरू जिन्दगीका कुरूप क्षणहरू सम्झदै आफ्नो उमेर घटाउँदै गुलाबी उमेरमा आएर टक्क अडिनेछन् । र, आनन्दको एउटा लामो श्वास निल्ने छन् । ज-जसले जे-जे गर्नेछन्, सम्पूर्णले आफ्नो उमेर अनुभव गर्नेछन् ।

उसो त उनी आफैँ भन्छन्, “उपन्यासको काम शिक्षा दिने भन्दा पनि अनुभव र जीवनबोध गराउने हो । शिक्षाले भन्दा मानिसलाई अनुभव र बोधले बढी प्राभाव पार्न र परिवर्तन गराउन सक्छ ।”

०००

 

०००

सम्बन्धित:

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर हो – ‘गुलाबी उमेर’

बैँसको सबैभन्दा मीठो सुवास चल्ने उमेर– ‘गुलाबी उमेर’ सार्वजनिक !

०००

यो पनि पढ्नुहोस्,

स्वतन्त्रता गुमाएको सिर्जनाले समाजलाई हित गर्न सक्दैन

देवकोटाको पालामा यदि युट्युब हुन्थ्यो भने ‘पागल’ कविता स्योर ट्रेण्डिङमा पर्थ्यो

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

लेखकको साधना भनेको धेरै पढ्ने, धेरै लेख्ने र थोरै छाप्ने हो

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्