Logo

आइकाओ महासभालाई पर्यटनमन्त्री भट्टराईले बताए: नेपालमा हवाई दुर्घटना कम हुँदै गएको छ



Spread the love

९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् । आइकाओ महासभा क्यानडाको शहर मड्रियलमा जारी छ ।

महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै गएको र यसका लागि थप सुरक्षा मापदण्ड कायम गरिएको जानकारी गराउनुका साथै युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको पनि बताए ।

सम्बाेधनकै क्रममा मन्त्री भट्टराईले नेपालमा पर्यटन उद्योग एक प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राखिएकाे र नेपालले उड्डयन सुरक्षा निगरानी क्षमता अभिवृद्धिका लागि निरन्तर प्रयास अगाडि बढाइरहेको महासभालाई जानकारी गराए ।

मन्त्री भट्टराईले हवाई सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नती गर्ने र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकारले नयाँ रणनीतिका साथ दिगो सञ्चालनको ढाँचा तय गर्न लागेको उल्लेख गरे ।

नयाँ हवाई गन्तव्य वृद्धि गरी २० लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै मन्त्री भट्टराईले आईकाओ महासभामा सहभागी सबैलाई नेपाल भ्रमणमा आउन आह्वान पनि गरे ।

आइकाओको ७५ औं वर्ष पूरा भएको यस महासभामा १७२ राष्ट्रका १ हजार ८ सय ५० पर्यवेक्षक, ३५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका ३ सय जना गरी करिब २ हजार पाँच सय प्रतिनिधिहरु सहभागी छन् । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ । नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन् ।

महासभामा संयुक्त अरब इमिरेट्स (युएई)सँग  र अष्ट्रेलियासँग हवाई सम्झौता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्