Logo

चिहानको कथा – रेहान खान



चिहानको कथा

मेरो मृत शरीर गाडिएको छ- यो सानो, साँघुरो र अँध्यारो चिहानको कोठाभित्र । यहाँ अन्य मृतहरू पनि छन् । तिनीहरूका पनि आ-आफ्नो कोठाहरू छन् । कतिको सँगै सँगै र कतिको पर पर । तिनीहरू पनि मजस्तै कात्रो ओढेर पल्टेका छन् । कतिलाई ईश्वरले बोलाएका हुन् भने कति आफै आएका हुन; झुन्डिएर, विष सेवन गरेर, पानीमा डुबेर… अर्थात् आत्महत्या गरेर। भने कति आउने तरखरमा पनि छन् रे ! यो सूचना सब मुर्दा माझ सूचित भइसकेको छ। तबत हरेक मुर्दाले आउनेलाई भन्दो रहेछ,- “स्वागतम ! स्वागतम !! स्वागतम !!!”

चिहानमा प्रायःजसा बुढापाखा र बुद्धिजीवीहरू छन् । सबका माझ मेलमिलाप छ । सबका सुकोमल व्यवहार, बोलीबचन र भाइचारा देखेर म औधी प्रभावित हुँदै छु, यसरी कि मानौँ यिनीहरू नै मेरा अनन्त आफन्त हुन। अनन्त परिवार हुन। तर यो परिवार दिउँसोभरिको लागि मात्र साथ रहन सकेको छ । जब रात पर्छ, कतिको आत्मा भड्किन थाल्छ। भड्केको आत्माले भूतको रूप धारणा गरी चिच्याउन थाल्छन् । “जसले धरतीमा पापको प्रायश्चित नगरीकन मर्छन्, त्यसको आत्माले शान्ति पाउँदैन। र, यसरी नै भड्किन थाल्छ। यसरी नै भूतको रूप धारणा गर्छ। ” कुनै एकले बडो अफसोसको साथ भन्छ। म सोच्छु, दुनियाँमा कतिले नराम्रो काम गर्छन् । तिनीहरू श्रापिन्छन्। त्यो श्राप वास्तवमा पर्दो रहेछ ।’

“जसले धरतीमा पापको प्रायश्चित नगरीकन मर्छन्, त्यसको आत्माले शान्ति पाउँदैन। र, यसरी नै भड्किन थाल्छ। यसरी नै भूतको रूप धारणा गर्छ। ” कुनै एकले बडो अफसोसको साथ भन्छ।


लामो सुस्केरा लिँदै भन्छु, ” हे ! भगवान् अब यिनीहरूले माफी पाउन्। यिनीहरूको आत्माले शान्ति पाओस् । ‘ त्यसपछि पृथ्वीलोक चहार्न थाल्छु। दिउँसो भरी फुलेका फूलहरू ओइलिएर झरेका छन् । गीत गाउने चराहरू कुनै शिकारीको गोलीबाट मरेका छन्। रुखहरू नाङ्गिएका छन् । माकुराहरू आफ्नै जालमा अल्झिएका छन् । घाँसहरू भोलिको सूर्योदयको प्रतीक्षामा उठ्न नपाई शितले भिजेर सुतेका छन् । पृथ्वीलोकको यस्तो प्रतिकूल परिस्थितिबाट तल चिहानभित्र झर्छु । यहाँ पृथ्वीप्रति गुनासो पोखिरहेको बहस सुनिन्छ । सबले एक एक गरी आफ्नो गुनासो यसरी पोख्दैछन् ।

“त्यो दुनियाँको आयु कम छ तर छलकपटले भरिएको छ ।”

“मान्छेले आफूलाई बलियो प्राणी ठान्दै अरू प्राणीमाथि हिंसा गर्दैछन् ।”

“मान्छेले अरू प्राणीमाथि मात्र होइन । मान्छे माथि नै हिंसा गर्दैछन् ।”

“त्यो दुनियाँको आयु कम छ तर छलकपटले भरिएको छ ।”

“मान्छेले आफूलाई बलियो प्राणी ठान्दै अरू प्राणीमाथि हिंसा गर्दैछन् ।”

“मान्छेले अरू प्राणीमाथि मात्र होइन । मान्छे माथि नै हिंसा गर्दैछन् ।”


“त्यो दुनियाँ त नरक तर्फ धकेलिँदै छ।”… कताकताबाट यिनीहरूको कुरा यथार्थ लग्छ मलाई । अत: म पनि यिनीहरूकै समूहमा सामेल हुन्छु । तर विषय परिवर्तन भइसकेको रहेछ। बुढापाखाहरू आत्महत्या गरेर आउने व्यक्तिहरूको कारण सोध्न थालेका छन्, जसमा म पनि एक पर्छु ।

जवाफ यसरी प्रस्तुत गर्छन् ।

“मैले आफ्नो गरिबीपन हटाउन सकिनँ। ममाथि पारिवारिक ठुलो बोझ लादियो। त्यहीँ बोझ बिसाउन नसकेर आत्महत्या गरेँ ।”

“म टि. बि. रोगबाट ग्रसित भएँ। उपचारको लागि रकम जुटाउन सकिएन। टि . बि . एक सरुवा रोग हो भन्दै समाजले मलाई घृणा गर्न थाल्यो। मेरो एउटै सहारा थिई- मेरी श्रीमती तर उसले पनि मलाई छोडेर अर्कैसँग गई । अन्त्यमा रोगबाट ढिलो मर्नुभन्दा आत्महत्या गरेर छिटै  मर्न बेस ठानेँ।”

“मैले आफ्नो छोरीको विवाह गरिदिएँ । सकेसम्म दाइजो पनि दिएँ। तर ससुराली पुग्नासाथ उसलाई धेरै सताइयो। अन्त्यमा तेल खन्याएर जिउँदै जलाइयो। छोरीको पीडा खप्न नसकेर आत्महत्या गरेँ ।”

“प्रेम ईश्वरको प्रतीक हो भन्ने समाजमा प्रेम गर्नु जघन्य अपराध हुँदोरहेछ। हामी प्रेमी- प्रेमिकाले बुझेनौँ । घरपरिवार र समाजबाट भाग्दा भाग्दै  आखिरमा यहीसम्म आइपुग्यौँ ।”

“प्रेम ईश्वरको प्रतीक हो भन्ने समाजमा प्रेम गर्नु जघन्य अपराध हुँदोरहेछ। हामी प्रेमी- प्रेमिकाले बुझेनौँ । घरपरिवार र समाजबाट भाग्दा भाग्दै  आखिरमा यहीसम्म आइपुग्यौँ ।”


…… अन्त्यमा एउटाले मलाई सोध्छ, ” तिम्रो के कारण रहेछ ?”

“हँ…?” म झस्याङ्ग  ब्युँझिन्छु। अहो ! कस्तो यो सपना । फेरि सोच्छु, ‘कहीँ यो सपना विपना भयो भने…? ‘

 

प्रतिक्रिया दिनुहोस्