Logo

हिस्टुनले शिक्षक आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा बहिष्कार गर्दै



Spread the love

९ असोज, काठमाडौँ l शिक्षक सेवा आयोगबाट खुलाइएको शिक्षक लाइसेन्सको परीक्षा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले बहिष्कार गर्ने भएको छ ।

हिस्टुनको केन्द्रीय कार्यालयमा बुधवार बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्सको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा उपस्थित नहुन सम्पूर्ण सदस्य शिक्षकहरूसँग अनुरोध गरेको छ ।

गत साउन २८ गते सर्वोच्च अदालतमा हिस्टुनले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै मुद्दा दायर गरेको थियो । तर, सर्वोच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको थियो ।

हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेका अनुसार, शिक्षा ऐनको आठौँ संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पश्चात् कक्षा १० र ११–१२ मा पढाइ हुने विषयमा अन्तर आएपछि, यस्तो समस्या उत्पन्न भएको हो l

उनले भने, “हाम्रो मागको बारेमा शिक्षा मन्त्रीलाई पटक पटक अवगत गराउँदा पनि सुनुवाइ भएन, अदालतबाट पनि न्याय नपाए पछि हामी बाध्य भएर बहिष्कारको निर्णयमा पुग्यौँ । १० गते नै हुने अन्य परीक्षा प्रति हाम्रो कुनै चासो छैन ।’’

प्रतिक्रिया दिनुहोस्