Logo

सिद्धलेकमा केबलकार राख्न सकियो भने ठुलै सफलता हुन्छ ।



सिद्धलेकमा केबलकार राख्न सकियो भने ठुलै सफलता हुन्छ ।

गाउँगाउँमा सिंहदरबार पुर्याउने उद्देश्यका साथ स्थापना भएका स्थानीय तहहरूले गाउँगाउँमा के-कस्ता विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ? जनताको मतद्वारा गाउँको विकास र समृद्धिका लागि भनेर निर्वाचित भएका जन-प्रतिनिधिहरूका चुनावताका योजना के-के थिए ? तीमध्ये के-कति पुरा भए र कति अझ बाँकी छन् ? आमजनताका गुनासा र समस्याहरू कतिको पुरा हुँदै छन् ? जनप्रतिनिधिका समस्या चाहिँ के हुन् ? कुन-कुन कारणले उनीहरूले सोचेअनुसार विकासको गोरेटो कोरिन सकिरहेको छैन ? समाधानको बाटो के ?

यी यस्तै आम-सवालहरू लिएर सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुग्ने लक्ष्य सहित ‘जनप्रतिनिधिसँग सल्लेरी खबर’को यात्रा प्रारम्भ गरेको हो । यस शृंखलामा हामी धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका  र गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मासँग छौँ ।

परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको छ । स्थानिय निकायको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ, सलाङ र कुम्पुर गा. वि. स हरू समेटी बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । यहाँको कुल क्षेत्रफल १०६.०९ वर्ग किमी रहेको छ, जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामूखी गाउँपालिका र निलकण्ठ न.पा. तथा दक्षिणमा गजुरी र बेननिघाट रोराङ गाउँपालिका रहेको छ ।

सिद्धलेक को लागि तस्बिर परिणाम
सिद्धलेक गाउँपालिका

प्रस्तुत छ, ३ न. प्रदेशमा रहेको धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मासँग गरिएको कुराकानीको संक्षिप्त अंश :

गाउँपालिकामा कर्मचारी दरबन्दीको अवस्था कस्तो छ ?

७ वटा वडामा भएका ७ जना सचिवहरूको संख्या पनि समायोजनले गर्दा २ जना मात्र भएको छ । शाखागतमा हेर्दा महिला र कृषिमा १/१ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यका दुई जना कर्मचारीहरू सहित करारका कर्मचारीहरू छन् । सबै वडामा गरेर जम्मा ३८ जना कर्मचारीहरू रहेका छन् ।

७ वटै वडाहरू बाटो र बिजुली पुगेको छ त ?

गाउँका लगभग सबै घरहरूमा बत्ति पुगेको छ । त्यसैगरी सबै वडाका सबै गाउँमा बाटो नपुगे पनि हरेक ठूला/ठूला बस्तीहरूमा भने बाटो पुगेको छ । सबै बाटाहरू कच्ची छन् तर ३ वटा वडालाई जोड्ने रिङरोडको अवधारणामा बनेको बाटोको १५ सय मिटर जति बाटोमा पक्की नाला सहित ग्राबेल भएको छ ।

रिङरोड कहाँबाट जान्छ ?

रिङरोड बैरेनी, ठाँटी हुँदै सलाङ जान्छ । एउटा बाटो  गाउँपालिकाको कार्यालय बुङचुङबाट भेडाबारी, मैदान, द्वारचोक हुँदै खिर्रेमा भेट हुन्छ । एउटा नलाङ र सलाङ जोड्ने भयो । कुम्पुरको चाहिँ परेवाटार भन्ने ठाउँबाट शुरू भएर कालिदह निस्किने छ । यसरी सरसर्ती हेर्दा थोरै कालुपाण्डे राजमार्ग प्रयोग गरेपछि हाम्रा ३ वटै वडा एउटै सडक सञ्जालमा जोडिनेछन् ।

बाटो  कति किलोमिटर छ ? यसका लागि कति रकम विनियोजन भएको छ ?

जम्माजम्मी रिङरोड ५२ किलोमिटर हो । यो वर्षका लागि  ३ गाउँपालिकाले ७५ लाखका दरले रकम  छुट्टयाएका छन् । अघिल्लो वर्ष नै पक्की नाला निर्माण सम्पन्न गरिसकेका छौं । यसका लागि अघिल्लो वर्ष नै रकम विनियोजन गरिएको थियो ।

गाउँपालिकामा  शैक्षिक संस्था र शैक्षिक अवस्था कस्तो रहेको छ ?

यस गाउँपालिकाले शुरूदेखि नै भौतिक संरचना भन्दा पनि शिक्षा र स्वास्थ्यमा जोड दिएको छ । किनभने यी मानव विकाससँग जोडिएका छन् । प्राथमिक तहमा अंग्रेजी माध्यमबाट अध्यापन शुरू गर्ने योजना बनाएका छौँ । दुई वटा विद्यालयमा अंग्रजी माध्यमबाट अध्यापन शुरू भइसकेको छ । ३४ जना शिक्षकहरू अनुदानमा भर्ति गरेका छौँ ।

सरकारको ठूलो लगानी रहेता पनि सरकारी स्कुलको गुणस्तरमा सुधार आउन नसकेको अवस्थामा नियम बनाएर नै विद्यार्थी संख्याको आधारमा शिक्षकहरू भर्ति गर्ने गरेका छौँ। विद्यालयलाई गाभ्ने र शिक्षकहरूको स्थानान्तरणलाई पनि हामीले मध्यनजर गरिरहेका छौँ । हाम्रो गाउँपालिकाले शिक्षामा रु. एक करोड भन्दा पनि धेरै रकम विनियोजन गरेको छ ।

कृषि क्षेत्र तर्फ ?

कृषिलाई व्यवसायिक बनाउन विभिन्न प्रकारका प्राविधिक सहायता प्रदान गर्ने कार्य यस गाउँपालिकाले गरिरहेको छ । विषादी हाल्ने पम्प,  धान झार्ने मेशिन लगायतका सामान अनुदानमा प्रदान गरिँदै आएको छ । ट्र्याकटरमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएका छौँ ।

गाउँपालिकाले जग्गा बाँझो नराख्ने नीति समेत लिएको छ । यसका लागि खाली जग्गामा काठका रूपमा प्रयोग गर्न सकिने  विरूवाहरू लगाउने कार्यहरू भइरहेका छन् । यदी कसैले जग्गा बाँझो राखेको पाइएमा जरिवाना लिने प्रावधान स्थापित गरेका छौँ ।

गाउँपालिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

हामी निर्वाचन भएर आएसँगै गाउँपालिकामा ३ वटा स्वास्थ्य चौकी रहेका छन् । प्रदेश सरकारले बनाएको “एक वडा एक स्वास्थ्य चौकी“ भन्ने अवधारणा अनुसार भवनहरू बन्ने योजना निर्माण भइरहेका छन् ।

प्रदेशले यो प्रावधान बनाउनु भन्दा पहिले नै पनि गाउँपालिकाले आवश्यकता हेरेर सलाङको अर्वास, माझिटार, भन्डाडा, गहतेका लागि स्वास्थ्यकर्मी नियुक्त गरेका थियौँ । समग्रमा ठाउँ/ठाउँमा गाउँपालिकाले औषधी र स्वास्थ्यकर्मीको व्यवस्था गरेर आफ्ना जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको  छ ।

प्रदेश सरकारको कार्यक्रम अन्तर्गत अब चार वटा वडामा रु. ५२/५२ लाखका स्वास्थ्य भवन बन्दैछन् । सुत्केरी हुन नसकेर ज्यान गुमाउनु नपरोस् भनेर गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना समेत गरेका छौँ । हामी निर्वाचित भएर आएपछि कोही पनि सुत्केरी हुन नसकेर मृत्युवरण गर्नु परेको घटना छैन । अस्पताल गएर बच्चा जन्माउने आमालाई गाउँपालिकाले प्रोत्साहन स्वरूप एउटा भाले र २० वटा अण्डा सहित १ हजार दिने गरेको छ ।

त्यसै गरी स्वास्थ्य बिन्दुबाट भने हरेक ३/३ महिनामा गर्भवती महिलालाई घरमै गएर जाँच गर्ने गरेको छ ।

खानेपानीका लागि अहिले डुमिडाँडा डिपबोरीङ आयोजना शुरू भएको रहेछ । यसको अवस्था के छ ?

यस गाउँपालिकामा २०७२ सालको भुकम्पले मुहानबाट आउने पानी सुकेको अवस्था थियो । त्यति बेला हामिले डिपबोरिङको अध्ययन गर्याैँ । हामीले ७ वटा पानी बोरिङ गरेका छौँ । ३ वटा विधिवत रूपमा  सञ्चालन भइसकेका छन् । यस गाउँपालिकाले ‘तिर्खामुक्त गाउँपालिका’ भनेर बोरिङ शुरू गरेको थियो । उच्च पहाडी क्षेत्र भएता पनि हामीले पानी निकालीछाड्यौँ ।

डिप बोरिङ गरेका पानी डुमीडाँडाबाट १ सय ७८ घरधुरीमा, मुलाबारीबाट २ सय ५४ घरधुरीमा र  काम्राङ जस्ता बस्तिमा हामीले बोरिङको पानी जनसमुदायलाई वितरण गरिसकेका छौँ । विभिन्न संघसंस्थाहरूले पानी विरणको काममा हातेमालो गरेका छन् । ‘प्रयास नेपाल’ नामक संस्थाले मुलको पानी घरधुरीसम्म ल्याउन सम्पूर्ण खर्च व्यहोरेको छ ।

कुनै कुनै टोल बस्ती बाहेक अहिले खानेपानीको समस्या प्रयाश: समाधान भइसकेको छ । हाम्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि , बिजुली र खानेपानीमा उल्लेख्य परिवर्तन हुनुपर्छ भनेर हामी लागेका छौँ । परिणाम पनि सकारात्मक नै देखिएको छ ।

गाउँपालिकाको कामप्रति जनता सन्तुष्ट छन् ?

हाम्रो कामप्रति जनता सन्तुष्ट नै भएको पाएको छु ।

मोबाइल लगायत सुचना प्रविधिको अवस्थाबारे पनि बताइदिनुस् न !

हामीले शुरूका दिनहरूबाट नै ‘प्रविधियुक्त वडा कार्यालय’ बनाउनुपर्छ भनेर सोलार लगायत इन्टरनेटको व्यवस्था गरेका छौँ । ७ वटै वडामा वाइफाइको सुविधा रहेको छ । इन्टरनेटबाट नै हामी(जनप्रतिनिधि) काम गर्छाैँ । फोटोकपी लगायतका साधनहरू हामीसँगै छन् । अहिले प्रविधिको दुनियामा हुनुपर्ने सबै सुचना प्रविधिका सामग्रीहरूनहोलान् ।  तर, अवस्था त्यस्तो विकाराल छैन ।

केही समय अगाडी बोलेरोको ठक्करका कारण गाउँपालिकाका अध्यक्ष ‘प्रेमनाथ सिलवाल’ ज्यु दुर्घटनामा व्यहोर्नुपरेको समाचार पढेको थिए । त्यो अवस्था किन सिर्जित भयो ? बाटोको अवस्था अझै विकराल नै छ ?

दुर्घटना एउटा संयोग हो । उहाँ मोटरसाइकलमा आउँदै गर्दा त्यसो हुन् गएछ। राजमार्गमा चल्ने सवारीसाधनका चालकलाई ज्ञान नभएका कारण प्रायश: दुर्घटना हुने गरेका हुन् । ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने चेतनाका कमीका कारण पनि दुर्घटना निम्तिदैछ । यात्रु चढाउन रोकेको बसलाई छलेर जाने क्रममा उहाँलाई अर्को तर्फबाट आएको बोलेरोले ठक्कर दिएको रहेछ । मोटरसाइकललाई असर परे पनि मानवीय क्षति भने हुन पाएन । हामी खुसि छौं- यस घटनाले हामीलाई सतर्कता अपनाउन सिकाएको छ ।

यस घटनापछि केही जनचेतनामुलक कार्यक्रमहरू भए ?

त्यस्तो केही गरेनौँ । दुर्घटना भन्दा पहिले नै पनि “रोडमिरर“ राखेका थियौँ । तर, राखिएका ‘रोडमिरर’हरू छोटो समयमा नै तोडफोड गरिए । हामी यसबारे सोच्दैछौँ ।

वडा केन्द्रको भौतिक संरचनाको निर्माण कार्य र लागत के-कस्तो छ ?

शुरूका वर्षमा १ नम्बर वडाको गहते भन्ने ठाउँमा, ४ नम्बरको अर्गस्ता र ७ नम्बरको जुगलटार भन्ने ठाउँमा एक हल सहित ४ कोठे  घर बनायौँ । ५ नम्बर वडाको भवन पनि तयार भएको छ । ३ नम्बर वडाको भवन भने ढलान गर्ने अवस्थामा पुगिसकेको छ । यस्तै २ नम्बरको भवनको पहिलो ढलान भइसकेको छ । लागत रकम भने हेर्नै पर्छ ।

सरकारले ल्याएको पर्यटन वर्ष २०२० लाई कसरी लिइरहनु भएको छ ? यहाँ के-कस्ता पर्यटकीय क्षेत्रहरू रहेका छन् ?

‘सिद्धलेक’को नामबाट यो गाउँपालिकाको नाम रहन गएको हो । यो आँफैमा पर्यटकीय स्थल रहेको छ । यो उचाईमा रहेको स्थान हो । भन्ने गरिन्छ कि यहाँबाट साविकका ४८ वटा गाविसहरू देखिने गर्दछ । (साविकमा ५० गाविस रहेको थियो ।)

यहाँ धार्मिक आस्थाको सिद्धबाबाको मन्दिर रहेको छ । केही दिन अघिमात्रै मुख्यमन्त्री सहित हामी त्यहाँ दर्शन गर्न गएका थियौँ । मुख्यमन्त्री ज्युले पनि यसलाई ३ नम्बर प्रदेशकै धार्मिक पर्यटकीय गन्तव्यमा परिणत गर्नुपर्छ भन्ने कुरामा सकारात्मक देखिनु भएको छ ।

हामीले मन्दिर संरक्षण सहित पात्लेदेखि सिँढी निर्माणका काम पनि गरेका छौँ । सिद्धबाबाको मन्दिरमा केबलकारको अवधारणा पनि आएको छ, यसका लागि अध्ययन समेत भइसकेको छ । सिद्धलेकमा केबलकार राख्न सकियो भने ठुलै सफलता हुन्छ भन्ने हाम्रो धारणा छ । यद्दपी हाम्रो मात्र एकल प्रयास तथा खर्चले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा प्रमोट गर्न त सकिदैन नै ।

गर्न खोजेका काममा कत्तिको अवरोधहरू आएका छन् ?

जनप्रतिनीधिहरूको टिम राम्रो भएर होला, काममा त्यस्तो कुनै अवरोध आएको छैन । पर्याप्त पूर्व तयारी गरेर हामी काममा लाग्छौँ । कर्मचारीलाई पनि हामीले कडा निर्देशन दिने गरेका छौँ । सामान्य खालका सानातिना समस्याहरू बाहेक यस गाउँपालिकामा अवरोधको अवस्था सिर्जना भएको छैन ।

गाउँपालिकाको आगामी योजनाहरू के-कस्ता रहेका छन् ?

हाम्रो योजना मध्ये महत्वपूर्ण योजना रिङरोड नै हो । यसको थोरै दुरीमात्रै भएता पनि अब पिच गर्न थाल्नु पर्छ भन्ने योजनामा हामी लागिपरेका छौँ । हाम्रै कार्यकालमा हरेक घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ हामी लागिपरेका छौँ ।

सलाङ र नलाङमा पर्यटनका लागि नै भनेर होमस्टेको अवधारणा पनि बाहिर आएको छ । कलकारखाना लगायत महत्वकांक्षी योजनाहरू भने बनाएका छैनौँ । खानेपानी, शीक्षा, स्वास्थ्य, बिजुली र सडकको सर्वसुलभता नै हाम्रा योजनाहरू हुन् ।

तपाईको बारेमा केही बताइदिनु  न ! तपाईको सामान्य खानपिन देखि दैनिकी कस्तो रहन्छ ?

मेरो सानो परिवार छ । म ७ नम्बर वडामा बस्छु । छोराछोरीहरू भने काठमाडौँ पढ्दै छन् । सामान्य घरका काम बाहेक म सँधै गाउँपालिकाकै काममा व्यस्त हुन्छु । दैनिक लगभग ५० किमीको यात्रा गर्छु । कहिलेकाही स्कुटर प्रयोग गर्छु । त्यसो नहुँदा ग्रामीण यातायातको नै प्रयोग गर्छु ।

स्वास्थ्य अवस्थाको कुरा गर्दा प्रेसरको औषधी लिइरहेको छु । अरू सबै फिट एण्ड  फाइन छ ।

यहाँलाई धन्यवाद ।

तपाईलाई पनि ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्