Logo

मेराकी कालोप्सीया



प्रियसीको बोसोयुक्त नरम स्तनमा लुसुक्क टाँसिएको प्रेमी जसरी माटोमा लडेर टाँसिएका छन्- कुकुरहरू छाउराहरू। मौसम निरन्तर बद्लिरहेको छ । हिजो भन्दा चिसो छ आज, आज भन्दा चिसो हुनेछ भोलि । घाम उदाउन लगभग एक नीद जति बाँकी छ । घाम उदाउनु पुर्व मलाई पुग्नु छ- घर, निदाउनु छ- दिन भर । साँझ फेरी निस्कनु पर्ने छ ।

जन्मेदेखी रात यती सुनसान देखेको थिइन मैले कहिले । मान्छे जस्तै बनेका दुई चार मजस्ता भोका निशाचर अनि फाटफुट मान्छे रातभर सडकमा हुन्थे । मदिराले लट्ठिएर सडकमा लडेका एक- दुई मान्छे भेट्टिरहन्थे । र, बेहोसीएकाहरूलाई न म आएको थाहा हुन्थ्यो, न गएको । न उनीहरू बिहानमा नबिउँझेको खबर, आकर्षक समाचार हुन्थ्यो । त्यसैले त्यस्ता मान्छे भेटेमा सजिलो हुन्थ्यो ।

मध्य रातमा निस्केको थिए म । भोजन पाउन सबै भन्दा सजिलो समय हो यो । र, मलाई मन पर्ने इलाका ठमेल हो । जहाँका फुटपाथमा नाङ्गा शरीरहरू सजिलै भेटिन्छन् । त्यही पुगेर एक गिलास ‘रेड ब्लड’ पिएर, चाडै फर्किन चाहन्थे म ।

जति अगाडी बढ्दै गए, सुनसान झन् बढ्दै गयो । बाटोमा कि त बेफिक्री हिँडिरहेका बिरालाहरू थिए कि झ्यालबाट फ्याँकिएका प्लास्टिकका पोकाहरू। मान्छेको नाम निसान देख्खीरहेको थिएन कहीँ कतै । मलाई अचाक्ली तिर्खा लागिसकेको थियो । तर, उपाय थिएन।


सोह्रखुट्टेबाट छिरेर नर्सिङ चोकसम्म पुग्दा कोही न कोही भेट्टीनेछ भन्ने लागेर म त्यतै तर्फ हानिए । आज लगभग १२ बजे नै सबै बार क्लबहरू बन्द भइसकेका रहेछन् । यता यस्तो कहिले भएको थिएन- मैले जाने देखी । पुरै सहर बिउँझने बेलासम्म निदाउँदैनथ्यो- ठमेल । तर, आज अचम्म भएको थियो ।

जति अगाडी बढ्दै गए, सुनसान झन् बढ्दै गयो । बाटोमा कि त बेफिक्री हिँडिरहेका बिरालाहरू थिए कि झ्यालबाट फ्याँकिएका प्लास्टिकका पोकाहरू। मान्छेको नाम निसान देख्खीरहेको थिएन कहीँ कतै । मलाई अचाक्ली तिर्खा लागिसकेको थियो । तर, उपाय थिएन।

अलि पर मोडको कुनामा केही चलमलाए जस्तो लाग्यो । म हत्तपत्त अँध्यारोमा लुके । के त्यो मान्छे हुन सक्छ ? मान्छे नै भइदिओस्, म मनमनै कामना गर्दै थिएँ । अँध्यारोबाट एउटा बडेमानको छायाँ देखियो । बिस्तारै त्यो छायाँ चलमलाउदै उठ्यो र भयङ्कर भयो । आफ्नो टाउको दायाँ बायाँ दुई पटक गर्‍यो । छायाँ मान्छेको जस्तो थिएन । के होला जान्ने इच्छा बढे पनि मैले आँफैलाई खतरामा पार्नु उचित ठानिन र म अझै अँध्यारोको छेल परे । त्यो छायाँ बिस्तारै हिँडेको जस्तो भान भयो । मै तिर छाँया जति अगाडी बढ्यो, झन् ठुलो ठुलो हुन थाल्यो । म त्यहाँबाट निस्किन चाहन्थे । त्यो छाँयाले मलाई देख्नु अघि । तर, कसरी भाग्ने ? अचानक मुखमा पिज्जा जस्तो सानो त्रिकोण आकारको रोटी च्यापेर एउटा मोटो मुसा खुर्र भाग्यो । छायाँ उसकै पछि पछि भित्तामा टासिदै दगुर्यो । मुसा भन्ने थाहा पाए पछि मैले आफूलाई नियाले । सास फुलिरहेको रहेछ ।

डर भन्नु त नजान्नु मात्र हो रहेछ। भोलिसँग किन डराउँछ व्यक्ति ? किनकि ऊ जान्दैन भोलि के हुन्छ ? कुनै कुरा यो हो भन्ने जाने पछि के को डर ? मुसा भन्ने जानेको भए के म पनि डराउने थिए त ?

नर्सिङ चोक, ज्याठा, असन, जमल, सबै सुनसान सुनसान ! एउटा घरबिहिन कोही मान्छे फुटपाथमा सुतेको भेटिएन ।

म दरबारमार्ग तिर पुगे । त्यहाँ पनि उस्तै चकमन्नता । चोकमा उभिएको एउटा बुख्याचा सालिक बाहेक केही पनि भेटिएन ।

सडकहरू चिल्ला भएका रहेछन् । बाटो वरपर नयाँ नयाँ मझौला खालका गमला र रुखहरू थपिका छन् । यो परिवर्तन अचानक भएको थियो । हिजो रातसम्म सहर अर्कै थियो । आखिर के भयो दिउँसो ? दिनमा के हुन्छ त्यस्तो जादु ? छाला जलाउने घाम बाहेक के छ दिनसँग ? किन बिहानै मान्छेहरू मान्छेहरूलाई भन्छन् – शुभ दिन ?

भोकको सिद्धान्त निकै अनौठो छ । धेरै पहिला एक राजाले आफूले जानेको कुरा अर्को पुस्तामा सन्देश बनाएर पठाउने सोच बनाएछन् । त्यसको लागि जान्नेमान्नेलाई राखेर पुस्तक आकार दिने सोच आएछ । जानेका जम्मै कुरा वर्षौँ लगाएर लेख्दा सयौँ किताब तयार भएछन् । तर, समस्या के भयो भने, त्यति धेरै किताब पढ्ने फुर्सद कसलाई ? किताबलाई घटाउँदा एक दर्जन जति किताब भए । त्यो पनि कसले पढ्छ ?    अनि घटाएर एउटा किताब तयार भएछ । तर फेरी राजालाई लागेछ त्यो एउटा किताब पनि सबैले नपढ्न सक्छन् । अन्ततः त्यो सबै पुस्तकको सार निकालेर एउटा वाक्य तयार परिएछ । – “काम नगरी खान पाइँदैन । ”

भोक लागेपछि नखाई हुँदैन र खान काम नगरी पाईदैन । यतिका शताब्दी सास फेरिसकेको मलाई जीवनमा केही महत्त्वपूर्ण लाग्दछ भने त्यो खाना । बाँकी रहर र  सपना भन्नु आवश्यकता होइनन् । र, आवश्यकता बाहेकका सबै कुरा सौख मात्र हुन् । र, सौखले दु:ख दिन्छ । दु:ख किन पाल्ने ?

दिनभर मान्छेको पैतालाले पिल्सिएको सडक रातमा पुरापुर  सुस्केरा  हालिरहेको छ । यति बेला खाना खोज्दै म नारायणहिटी आसपास आइपुगेको छु । म यहाँ भित्र अहिलेसम्म गएको छैन । सायद कहिले जाँदिन पनि। सोच्दछु, एउटा शासन सत्ता के माथि टेकेर उभिएको हुन्छ ? अर्को उस्तै शासन सत्ताको अस्थिपन्जर माथि ? हरेक शासक पहिलेको शासक भन्दा कहिले कम हुँदैन । उसको नियत पनि पहिलेको शासकको भन्दा कहिले फरक हुँदैन । उसले शासन गर्ने आमव्यक्ति पनि जहिले एउटै हुन्छन् । बस्, फरक हुन्छन् त उसले शासन गर्ने अनौठा तरिका । हामी सधैँ त्यही तरिकाको जादुमा आफ्नो जिन्दगीको बलि चढाई रहेका हुन्छौ ।

हामीलाई मन पर्ने शासक हाम्रो जस्तै चरित्रको हुन्छ ।
हामीलाई मन पर्ने ईश्वर पनि हाम्रो जस्तै चरित्रको हुन्छ ।


बन्न त हामीलाई पनि मन हुन्छ शासक । तर, हामी सक्दैनौ । र सधैँ खोजी रहन्छौ- हाम्रो जस्तै चरित्र भएको शासक । उसैलाई हामी आफ्नो सपना बेचेर मर्छौ ।
हामीलाई मन पर्ने शासक हाम्रो जस्तै चरित्रको हुन्छ ।
हामीलाई मन पर्ने ईश्वर पनि हाम्रो जस्तै चरित्रको हुन्छ ।

खैर, अहिले मेरो खोज कुनै शासकको होइन, एउटा शासित व्यक्तिको हो । जसको रगत म पनि पिउन सकुँ । तर बाच्नुको भ्रमलाई पुजेर सुतिसकेको छ- यो शहर । दिनभर सपनाहरूको लडाईको जात्रा सकेर निदाइँ  सकेका छन्- यहाँका मान्छे ।
कसलाई चिन्ता छ यहाँ अरूको भोकको ? मेरो भोकको ? मलाई बाहेक ।

केसरमहल पुग्नै लाग्दा मैले देखे, अचानक केही मान्छेहरू दौडिँदै हतार हतार एउटा गाडीमा चढे । उनीहरू निकै आत्तिएका जस्ता थिए ।कतै मलाई देखे कि भन्ने लाग्यो तर म अलिक दुरीमा थिए । देखेनन् होला? हुन त म  भिडमा गएर पनि के नै गर्थे र ? गाडी हतारमै अगाडी बढिहाल्यो ।

आजको रात मेरो लागि उति सुखद भएन । अब बिहान हुन पनि लागिसकेको छ । चाडै निस्किन भने घरसम्म पुग्न पनि सकिन्न । र, घाम मेरो निम्ति श्राप हो। भोकै कसरी नीद पर्ला आज ? घर पुगेर कहीँ कतै कुनै बोतलमा केही थोपा भएनी रगत बचेको भेटियोस्। नत्र भोकै पर्दाहरुसँग आँखा जुधाई खेल्नुको विकल्प हुँदैन।

अघि गाडी कुदेको ठाउँ पुग्नै लाग्दा, कतै कसैले मधुरो सास फेरेको जस्तो लग्यो । आफ्नै सास हो की भनेर एक पल सास रोकेर सुने, आफ्नो रहेनछ। को होला त ? कुनै कुकुर निदाइरहेको हुनसक्छ ।

सडक पुरापुर अँध्यारो छ । केही कदम चालेक‍ो थिँए, केही लागे जस्तो लाग्छ खुट्टामा । झुकेर उठाए । मधुरो हरियो रङ्गको कपडाको झोला रहेछ । नियाले । समाउने ठाउँ समाउँदा समाउँदा कालो भइसकेको । भित्र एक जोर रातो रङ्गको पुरानो टि–सर्ट रहेछ, जसको अगाडी पट्टि ‘आइ लब नेपाल’ लेखिएको छ । एउटा लामो मोजा- गन्हाइ रहेको । सायद धेरै दिन लाएर राखिएको थियो ।अनि एउटा प्लास्टिक जसभित्र एउटा हरियो रङ्गको पासपोर्ट । एउटा बसपार्क तिरको ठेगाना लेखिएको होटेलको भिजिटिङ कार्ड र जम्मा जम्मी आठ वटा फोटो  । एउटा ख्याउटे कालो अनुहार । ठुलठुला आँखा । फोटोमा भएको आनुहर र पासपोर्टमा भएको अनुहार एकै ।

पासपोर्टमा मलेसियाको भिसा लागेको थियो । पासपोर्टबाट एउटा टुक्रो सेतो कागज जमिनमा खस्यो । त्यो टिप्न झुक्दा सडकमा रगत बगिरहेको देखे । नियाले । म उभिएको ठाउँमा रगत थियो, कोही घस्रिए जसरी त्यो रगत फुटपाथको पत्र मञ्जुषातिर गएको थियो । म त्यसैलाई पछ्याउँदै त्यहाँ पुगे । त्यही कालो अनुहार छताछुल्ल भएर त्यहाँ लडिरहेकी रहेछ । उसको टाउको अनि शरीरबाट रगत पानी जसरी जमिनमा फैलिरहेको थियो  । उसको एउटा खुट्टा धुजा धुजा भइसकेको थियो। मलाई बुझ्न कठिन भएन, अगि हतार हतार दौडिएको गाडी उसैलाई किचेर भागेको रहेछ ।

यो मान्छे को थियो ? कसरी यहाँ आइपुग्यो ? यस्ता कुरा यती बेला कुनै तवरले महत्त्वपूर्ण थिएनन् । ऊ लामो लामो गरी सास फेर्दैथ्यो ।  अर्थात् ऊ बाच्ने कोसिस गर्दै थियो  । यति बेला उसको र मेरो बिच कुनै समान कुरा थियो भने यही थिय‍ो कि हामी दुवै जिउँदो रहन चाहन्छौँ ।


ऊ आफ्नो धुजा धुजा भएको खुट्टा समाएर भित्तामा अडेस लागेको  थियो । उसले लगाएको पहेँलो रङ्गको  हाफ पाइन्ट रगतले भिजेर सुन्तला रंगको  भइसकेको थियो । उसको टाउकोको केही हिस्सा चोइटिएर लत्रिरहेको थियो । तर पनि ऊ सास फेरिरहेको थियो । मैले धेरै वर्ष पछि यसरी टुक्रा टुक्रा भएको मान्छे देखेको थिए । यो भन्दा अघिल्लो पटक यस्तै स्थितिमा कसैलाई देख्दा त्यो युद्धको समय थियो । त्यसैले त्यो यती दर्दनाक लागेको थिएन ।

यो मान्छे को थियो ? कसरी यहाँ आइपुग्यो ? यस्ता कुरा यती बेला कुनै तवरले महत्त्वपूर्ण थिएनन् । ऊ लामो लामो गरी सास फेर्दैथ्यो ।  अर्थात् ऊ बाच्ने कोसिस गर्दै थियो  । यति बेला उसको र मेरो बिच कुनै समान कुरा थियो भने यही थिय‍ो कि हामी दुवै जिउँदो रहन चाहन्छौँ ।

तर, विडम्बना सधैँ यही नेर आएर उल्झन्छ जिन्दगी  । कसलाई बचाउने अन्त्यमा  ? अरूलाई कि आफूलाई ? घोर तपस्या गरेर यसको जवाफ खोजे पनि अन्त्यमा आफू रोज्नु को विकल्प कोसँग हुन्छ र? म पनि उसलाई बचाउन चाहन्छु । तर, मसँग त्यो तागत छैन । म आफूलाई बचाउन चाहन्छु र यसको विकल्प छैन।

उसको बगिरहेको रगतलाई हेर्छु । उसको रगतले लतपत रातो गर्धन हेर्छु । मलाई अचानक सम्झना आउँछ- आफ्नो भोक । म उसैको रगत पिउने निर्णयमा पुग्छु।  बिस्तारै उसको गर्धनमा आफ्ना धारिला दुई दाँत गाड्दछु र रगत पिउन  थाल्छु । उसको रगत निकै चिसो छ। मेरो कानै नेर जोडिएको मुखबाट उसको सास जस्तो बोली सुनिन्छु– अम्मा।

उसको रगतले लतपत ओठहरू नपुछि म त्यहाँबाट एक नजर पनि पछाडि नफर्की दौडिन्छु- अँध्यारै अँध्यारो । डर लाग्छ पछाडि फर्किन । कतै त्यो कालो अनुहार धुजा धुजा भएको आधि खुट्टा लतार्दै मेरो पछि आउँछ कि ? फेरी सासले सोध्छ कि – के अघायौ ?

निरन्तर दौडेर म  विष्णुमतीको किनारमा आइपुगेको छु । म दुखी छु ? के म खुसी छु ?

मेरो हातमा अघि उठाएको सेतो कागज छ । रगतले भिजेर जसको एक कुना रातो भइसकेको छ । पल्टाएर हेर्छु .. मलेसिया जाने हवाईजहाजको टिकेट रहेछ । पुग्नु पर्ने समय बिहान ७ बजे। घडी हेर्छु चार बजिसकेको छ । अब कति बेरसम्म बोलाउला उसको नाम एयरपोर्टमा – मलेसिया जाने यात्रु, ‘गोपी पासवान कृपया सम्पर्कमा आइदिनु होला ।’

ऊ सम्पर्कमा नआएको अबको कति वर्षसम्म पनि उसको आमालाई आशा लागिरहला ऊ फर्किन्छ भन्ने?

यो प्रश्न नउठेको भए म जस्तो सन्तुष्ट कोही हुन्थेन यसपल ! तर यो प्रश्न अब मैसँग छ र जवाफ पनि । तर जहाँ हुनु पर्थ्यो त्यहाँ छैन। म हरेक पटक आफू ऊ जस्ताका रगतले बाच्नु परेकोमा दुखी हुन्छु। तर हरेक पटक म मलाई बचाउन बाध्य छु।

मैले पिएको रगत मध्ये ऊ आज सम्मकै सबै भन्दा कमजोर थियो । मलाई पहिलोपटक जसको आयु नै बाँकी थिएन उसैको आयु पिएकोमा पछुतो जाग्यो।

बिहान हुनै लागि सक्यो, म हिँडिरहेको छु खोलै खोला छेउ। अघि देखी मेरो नाक वरपर घुमिरहेछ एउटा हरियो झिँगो। दिकदार बनाई सक्यो । जति धपायो फर्किन्छ । अटेरी मोरो! बार बार उसले देखाएको हठले आफूलाई लाग्न थाल्छ- ‘कतै म फोहर त होइन?’

होइन होइन, म फोहर होइन- म ढुक्क छु यो कुरामा।

तर, झिङ्गो चिन्दैन मलाई! तर ऊ फोहर सबैभन्दा पहिले चिन्छ।

यस्ता कुरा सोच्दा भाउन्न छुटेर आउँछ। आफ्नै टाउको आफैले खानु हो धेरै सोच्नु भनेको । फेरी नसोच्नु भनेको? नसोच्नु भनेको टाउको नहुनु जस्तै हो। आफ्नो टाउको छाम्छु । उस्तै साह्रो र अण्डाकार नै छ । कान छाम्छु ठिक छ । नाक छाम्छु। यो के अचम्म ! हातमा आइपुग्छ नाकको एक टुक्रा चोक्टो- आफ्नो ठाउँ छाडेर। अब पहिले नाक हुने स्थानमा प्वाल मात्र बाँकी छ । कानमा हजारौँ झिँगाहरू कराएको आवाज बजिरहेछ । प्वालबाट एउटा झिँगा निस्कन्छ सुस्तरी र बस्छ मेरो जुँगामाथि । मतिरै मुख फर्काएर । दुवै आँखा तल झारेर म ऊ तिर हेर्छु । झिँङ्गो मलाई हेरर टाउको र खुट्टा हल्लाउन थाल्छ । जिब्रोमा काउकुती जस्तो हुन्छ । भारीपन महसुस हुन्छ। यस्तो लाग्छ हजारौँ खुट्टाहरू मेरो जिब्रोमा टेकर परेड खेलिरहेका छन्।

अब कतै बोल्नै सकिन भने? अहो ! त्यस्तो भएमा  म कसैले मायाले बोलाउँदा हजुर भन्न सक्ने छैन । कसैसँग झनक्क रिस उठ्दा आमा गाली गर्न सक्ने छैन।

यसैपल बोलिन भने अब कहिले बोल्न सक्ने छैन भन्ने लाग्यो । बोल्न खोज्छु, सास मात्र निस्कन्छ। गोपी पासवानको सास जस्तै मधुरो । अझ बल लगाउँछु ।..अह !

म आफ्नै आवाज सुन्न आत्तिइसकेको छु । चिच्याउँछु । चिच्याउँदा आफै भित्र कम्प छुटे जस्तो हुन्छ। आफैबाट केही छुटे वा टुटे जस्तो हुन्छ।

आवाज फर्किने आशाले अझ ठुलो गरी चिच्याउँछु तब हजारौँ झिँगाहरू मेरो मुखबाट मेरो आवाजको बदला निस्कन्छन्। कुनै गुप्त अँध्यारो गुफाबाट चमेरा उडेर बाहिर निस्के जसरी हरिया झिँगाहरू मेरो गाला र ओठलाई धकेल्दै निस्कन्छन् । क्रमशः केही झिँगाहरू मेरो आँखाको बाटो, केही मेरो कानको जाली च्यातेर निस्कन्छन्। अन्ततः : मेरो सम्पूर्ण अङ्ग फोडेर निस्कन्छन्- झिँगाहरू ।  एक्लो म हजारौँ हरिया झिँगामा रूपान्तरित हुन्छु।

यतिखेर ती हजारौँ झिँगा भुर्र उडेर पुग्दछन् सहिद गेट हुँदै सिंहदरबार भित्र र चाट्न थाल्दछन् बुलेट प्रुफ कारको पाँग्रामा लागेेका रगतका छिटाहरू।

ललितकलाबाट मास्टर इन फाइन आर्ट गरेका राज कविता, गजलका साथसाथै कथा लेखनमा सक्रिय छन् । आभा फर कृयटिभिटीका संस्थापक अध्यक्ष समेत रहेका राजको संयुक्त कविता संग्रह 'अनुहारको भिड' प्रकाशित छ !

प्रतिक्रिया दिनुहोस्