Logo

खेलकूद विधेयक पारित



Spread the love

१० असोज, कर्णाली – कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको ३२औँ बैठकबाट ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सामाजिक विकास समितिको भएको छलफलको प्रतिवेदन पेश गरेका थिए । तत्पश्चात् सामाजिक विकासमन्त्री रावलले प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा पेश गरेलगत्तै ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतले पारित भएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सभामा ‘उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ छलफलका लागि सभामा पेश गरे । सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभामा पेश गरेका थिए ।

दुवै विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरु अमृता शाही, देवी ओली, सीताकुमारी ओली, कृष्णा शाह, दिनबन्धु श्रेष्ठ, अमरबहादुर थापा, गोपाल शर्माले भाग लिएका थिए । प्रदेशसभामा छलफलपछि सभामुख शाहीको निर्देशनबमोजिम उद्योगमन्त्री बुढा र विकासमन्त्री रावलले ‘उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ थप छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरे ।

उपभोक्ता संरक्षण विधेयक र स्वास्थ्य प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि अर्थ तथा प्राकृतिक स्रोत समिति र सामजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव पनि प्रदेशसभाबाट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्