Logo

धादिङमा सह-चालकले चलाएको बस धानखेतमा खस्यो, पाँच जना घाइते



Spread the love

१२ असोज, धादिङ l धादिङको नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने सोही घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा परी घाइते हुनेमा ६४ वर्षीय दल बहादुर तामाङ, ४८ वर्षीय चन्द्र परियार, ६० वर्षीया सन्त माया तामाङ, ५५ वर्षीया हस्त कुमारी तामाङ र १९ वर्षीया लक्ष्मी तामाङ रहेका छन् l

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, आज बिहान नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो ।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ भने सहचालक फरार भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताएका छन् l दुर्घटनाका उद्धारकर्मी भीम तामाङको अनुसार बस सह-चालकले चलाएका थियो ।

प्रतिक्रिया दिनुहोस्