Logo

वयोधा अस्पतालको ठगी ‘धन्दा’ : ‘लेक’ लागेका विरामी पर्यटकलाई २३ लाख रुपैयाँको बिल !



Spread the love

दियोपोस्ट संवाददाता

काठमाडौं । राजधानीको बल्खु चोकबाट दक्षिण तर्फ फर्केर हेर्नुभयो भने दुई वटा भव्य महल देखिन्छन् । खरानी ‘कलर’का ती घरहरुमा क्रमश नेपाली र अंग्रेजीमा लेखिएको छ,‘वयोधा अस्पताल, Vayodha hospital। शारदा ग्रुपद्वारा सञ्चालित यो अस्पतालकोे छतमा हेलिकोप्टर ‘ल्याण्ड’ गरिन्छ ।

हेलिकोप्टरमा सयर हुने विरामी हिमाली भेगबाट आएका विदेशी पर्यटक हुन्छन् । ‘लु’ लागेर उपचार गर्न ल्याइएका यस्ता पर्यटक वयोधा अस्पताल पुगेपछि ठूलो ठगीको शिकार हुँदै आएका छन् । यो अस्पतालले सामान्य परिक्षणमा समेत लाखौँ रुपैयाँ असुल्दै आएको प्रमाण दियोपोस्टले फेला पारेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालको सुन्दरताको प्रचार विश्वभर व्यप्त छ । यहि सुन्दर देश घुम्नका लागि एक स्पेनी नागरिक नेपाल आए । ठमेल स्थित एक ट्रेकिङ कम्पनी पुगे । ट्रेकिङ कम्पनीले उपलब्ध गराएको गाइड सहित उनी हिमाली भेग तिर पदयात्रा गर्न लागे । अन्नपूर्ण हिमालको बेसक्याम्पबाट माथी उक्लँदै गर्दा उनलाई गाइडले केही कुरा खान दिए । गाइडले खुवाएको केहीसमयमा उनलाई छटपटाहट भयो ।

‘इमरजेन्सी रेस्क्यु’ भन्दै ती गाइडले हेलिकोप्टर बोलाए । हेलिकोप्टरमा चढेका ती स्पेनी नागरिक केही बेरपछि काठमाडौंको वयोधा अस्पतालको छतको हेलिप्याडमा ओर्लिए । उनलाई २०६ नम्बर बेडमा भर्ना गरियो । सामान्य ‘लु’ लागेर थलिएकी ६५ वार्षिय ती पर्यटकमाथि वयोधा अस्पतालको ठगीको श्रङ्खला शुरु हुन थाल्यो ।

भर्ना भएको शरुवातमै डक्टरको एक समुहले सल्लाह सुझाव दियो । जसलाई मेडिकल भाषामा (CARDIAC CONSULTATION) भनिन्छ । शुरुवाती चरणमा दिइने यो सेवा अन्य अस्पतालमा निशुल्क दिने गरिन्छ भने केही निजी अस्पतालले ५ सय रुपैयाँ देखि ५ सय ५० रुपैयाँ सम्म शुल्क लिन्छन् । तर, वयोधाले १० हजार ५ सय रुपैयाँको बिलिङ गर्यो । ५ सय ५० रुपैयाँ पर्ने न्युरो कन्सलटेशनको पनि १० हजार ५ सय रुपैयाँको बिलिङ थियो । बेड भिजिटको १ लाख २६ हजार रुपैयाँ, २५ रुपैयाँ पर्ने हेमोग्लोबिन टेस्टको ४२ सय रुपैयाँको बिलिङ गरियो । २५ रुपैयाँ शुल्क पर्ने सुगर परिक्षण मात्रै २९ पटक गरियो र बिलिङ थियो १५ हजार २ सय रुपैयाँको । अस्पतालको अन्य चार्ज भनेर १ लाख ७५ हजार १ सय ३२ रुपैयाँको बिलिङ गरियो । अन्य अस्पतालमा भए उनको उपचार २५ हजार रुपैयाँ देखि ३० हजाररुपैयाँमा सकिन्थ्यो । तर, ती विदेशी नागरिकले वयोधा अस्पताललाई २३ लाख ५ हजार २ सय ३३ रुपैयाँ बुझाइन् ।

स्पेनी नागरिकले बयाेधामा बुझाएकाे रकमकाे रसिद


वयोधा अस्पतालमा ठगीएकी यी विदेशी नागरिक त प्रतिनिधि पात्र मात्रै हुन् । दैनिक यहाँ आउने विदेशी पर्यटकहरु लाखौँ रकम ठगीको शिकार भइरहेका छन् । वयोधा अस्पतालको यस्तो कुकर्मले गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पर्यटनको साख नराम्रोसँग गिर्न पुगेको छ ।

विभिन्न टेस्टकाे सरकारी शुल्क रेट


‘यसले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो पद यात्राबारे नराम्रो असर पर्न सक्छ,’ नेपाल ट्रेकिङ एजेन्सीज एशोसियसन टानका अध्यक्ष चन्द्र रिजालले भने,‘हामीले आधिकारीक उजुरी पाएको खण्डमा आवाज उठाउँछौँ ।’

पर्यटक उपचारमा समेत कमिशनको खेल हुुँने गरेको रिजालको भनाई छ । ‘पर्यटकले सिमित साधन स्रोत बोकेर नेपाल आएको हुन्छ । उसको विमा त्यही अनुसार हुन्छ । महँगो विमाका कारण पर्यटक नेपाल नआउन सक्ने खतरा छ,’ उनले भने,‘यो कुरा हामीले उठाइरहेका छौँ । अत्यन्तै समस्या पर्यो भने मात्रै विमा गर्ने हो । तर, सबै ठाउँमा विमा गर्ने गरिएको छ ।’

 

विभिन्न टेस्टकाे सरकारी शुल्क रेट


नेपाल पर्यटन बोर्ड मार्केटिङ विभागमा कार्यरत एक कर्मचारीका अनुसार अस्पतालका यस्ता गतिविधिले नेपालको अन्तर्राष्ट्रिय छवि नै धुमिल बनेको छ । ‘पर्यटकले नेपालमा आउँदा सुविधा पाउनु पर्ने हो । तर, निजि अस्पतालहरुले पर्यटकमाथि अत्याचार नै गरेका छन् । जिम्मेवार निकाय मौन छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नै यसको नियमन गर्नु पर्ने हो । पर्यटन मन्त्रालयले नीति बनाएर समन्वय गर्नुपर्छ ।’

सरकारी अस्पतालहरुमा पर्यटकलाई अन्य नेपाली विरामी सरह उपचार शुल्क लिइने गरेको पाइन्छ । तर, यता निजी अस्पतालले भने आफू खुसी मुल्य निर्धारण गरेर मनोमानी शुल्क उठाउँदै आएका छन् । ‘एउटा विदेशी नागरिक नेपालमा एक पटक आएपछि दोस्रो पटक आउन नसक्ने अवस्था भएको छ । उ यहाँ घुम्न आएको हो तर, ठगीएर जान्छ,’ टानका एक अधिकारी भन्छन्,‘राज्यले नै यसलाई नीतिगत हिसाबले सम्बोधन नगर्ने हो भने निकट भविष्यमा नेपाली पर्यटनको स्थिति भयाबह हुनेवाला छ ।’

हरेक अस्पतालमा फरक–फरक रेट भयो : शन्तवीर लामा

नेपाल पर्वतारोहण संघका नव निर्वाचित अध्यक्ष शन्तवीर लामा अस्ताललै पिच्छे फरक फरक शुल्क रहेको स्विकार गर्छन् । ‘हामीले पनि विरामीहरु रेस्क्यु गरेर ल्याएका छौँ । उनीहरुको उपचारमा हामीले पनि छुट्टै शुल्क तिरिरहेका छौँ,’ लामाले भने,‘कति महँगो लिने भन्ने विषयमा अस्पतालकै फरक फरक मुल्य छ । यो पीडा भोगिरहेका ट्रेकिङ कम्पनिले छलफल गरेर टानसँगको सहकार्यमा नेपाल सरकारसँग नै जवाफ माग्नु पर्छ । निजी अस्पतालले एउटै शुल्क लिनु पर्छ ।’

अस्पतालले बोल्न नमिल्ने !

विदेशी नागरिक ठगी गर्ने वयोधा अस्पताल भने यो विषयमा मुख खोल्न चाहँदैन । प्रतिक्रिया लिनका लागि हामीले अस्पतालको टेलिफोन नम्बरमा फोन गरेका थियौँ । फोन उठाउने व्यक्तिले आफूलाई यो विषयमा थाहा नभएको बताए । कार्यकारी अधिकृत रवि चौधरीको सम्पर्क नम्बर मागेका थियौँ । तर, उनको मोबाइल नम्बर समेत दिन नमिल्ने ती कर्मचारीले दियोपोस्टलाई बताए । साभार दियो पोस्ट 

प्रतिक्रिया दिनुहोस्