Logo

च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टस विजयी



Spread the love

१५ असोज, काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा सहज जित हात पारेको छ। घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को जित हात पारेको हो ।

युभेन्टसको जितमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुआइन र अर्काे एक गोल फेडरिको बर्नाडडेस्चीले गरे । हिगुआइनले १७औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

६२औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए। पाउलो डिब्यालको पासलाई सदुप्रयोग गर्दै रोनाल्डोले ८९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । यस्तै, रोनाल्डोले लिभरकुसेनविरुद्ध गोल गरेसँगै इतिहास समेत बनाएका छन् । उनले च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गर्दै इतिहास बनाएका हुन् ।

जितसँगै समूह ‘डी’ मा युभेन्टस २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने लिभरकुसेन अंकविहीन हुँदै पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले रसियन लोकोमोटिभ मस्कोमाथि २–० को जित निकालेको छ । एट्लेटिकोको जितमा जोआओ फेलिक्स र थोमसले गाल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्