Logo

उपाधिका लागि स्टार र भ्याली भिड्ने



Spread the love

१५ असोज, काठमाडाैँ – बैतडीको पाटन नगरपालिकामा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाटन स्टार र पाटन भ्याली भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा पाटन स्टारले भूमेश्वरलाई १०० रन र पाटन भ्यालीले वसन्तपुरलाई दुई विकेटले पराजित गरेसँगै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको पाटन स्टारले १९ दशमलव ४ ओभरमा १८४ रनमा समेटियो । पाटन स्टारका किरन चन्दको सर्वाधिक ३९ रनको योगदान रहेको थियो । भूमेश्वरका पुष्कर चन्द र मदन महराले समान ३–३ विकेट लिए । एक सय ८५ रनको विशाल लक्ष्य पछ्याएको भूमेश्वरले ११ ओभरमा ८४ रन मात्रै बनाउन सक्यो । भूमेश्वरका लागि नरेश विष्टले सर्वाधिक ४७ रन बनाए । भूमेश्वरलाई सस्तैमा समेट्ने क्रममा पाटन स्टारका हेमन्त चन्दले चार तथा किरन चन्दले एक विकेट हात पारे । हेमन्त चन्द खेलको म्यान अफ द म्याच चुनिए ।

अर्को सेमिफाइनल खेलमा वसन्तपुरले दिएको १६५ रनको लक्ष्य पाटन भ्यालीले १९ दशमलव एक ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्यो । पाटन भ्यालीका लागि वीरेन्द्र विष्टले अर्धशतकीय पारी खेल्दै ५५ रन बनाए । वसन्तपुरका दीपक भण्डारीले पाँच विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको वसन्तपुरले निर्धारित २० ओभरमा जगदीश लुहारको ६८ तथा दीपक भण्डारीको १८ रनको मद्दतमा ७ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । पाटनका धीरेन्द्र चन्दले ३ विकेट लिए । वसन्तपुरका दीपक भण्डारी म्यान अफ द म्याच भए ।

पाटन नगरपालिकाको आयोजनामा यही असोज ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल बिहीवार हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु ३० हजार र द्वितीय पुरस्कार रु २० हजार रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछ भने अनुशासित एक टोलीलाई ट्रफी प्रदान गरिनेछ । यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि समान रु तीन÷तीन हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्