Logo

एक्काइस उपन्यास



एक्काइस उपन्यास

फेसबुकका लम्बे स्टाटस हेर्दै बान्ता होला जस्तो हुन्छ… समसामयिक मसलाको लफडादायक स्टाटसमा भिड्ने जाँगर नि चल्दैन…?! बुझ्नुस् तपाईँको समय बहुआयामिक व्यस्ततामा छ ।

जति नै व्यस्त भए पनि सामाजिक सञ्जालबाट अलग्गिने ‘शुद्ध महात्मा’ कम छन् । यो समय सान्दर्भिक पनि छैन । यस लतको ‘साथीसङ्गी’ जस्ता सकारात्मक पाटाहरू त छ नै, ‘फास्टफुड ज्ञान’ जस्ता भयङ्कर पाटो पनि छ । ‘फास्टफुड ज्ञान’को पोईजनले दिमाग ध्वस्त बनाउँछ । यसैले पढ्नको लागि थोरै समय इन्टरनेट र धेरै समय पुस्तकलाई दिनु उत्तम रहेको विभिन्न वैज्ञानिक अध्ययनको दाबी छ । अझ सृजनशिल दिमाग-विकासको लागि त यो अपरिहार्य नै छ ।

एउटा महत्त्वपूर्ण लिङ्क क्लिक गर्‍यो खुलेन भने १० सेकेन्डमा मस्तिष्क अन्तै मोडिने समय हो यो । यस्तो अस्थिरता पुस्तक पढ्दा काम छैन । पुस्तकको सङ्गतले तपाईँलाई स्थिर बनाउँछ । अनेक छिपछिपे ज्ञानको कस्मेटिक अनुहार भत्काएर प्राकृतिक हुन चाहनु हुन्छ भने पुस्तक नपढी हुँदैन । धेरै विद्धान यस्तै मत राख्छन् । आफै लेख्नु हुन्छ भने त झन् तपाईँको टाउकोभरि “पठनको राष्ट्रिय गान” नघन्काई सुखै छैन ।

पठनको प्रारम्भिक भोकमा तपाईँ जे पनि पढ्नु हुन्छ । यो पठन कुनै ट्राफिक सडकमा उभिँदैमा रोकिनेवाला पनि हुँदैन । त्यसपछिको चरणको लागि तपाईँ आफै अस्तव्यस्त पठनलाई सुधार्नुहुन्छ । यो आवश्यक पनि छ । यसकै पूर्तिको लागि हाम्रा पत्रपत्रिकाले “दशैं-तिहार बिदा” को लागि भनेर राम्रा पुस्तकहरू सिफारिस गर्छन् । दशैं-तिहार बिदा त टीका लगाएरै सकिन्छ । तर पढ्न यस्तो “दशैं-तिहार बिदा” निकालिरहनु पर्छ । जब दशैं-तिहार बिदा निकाल्नु हुन्छ र पढ्नु हुन्छ । तपाईँको दिमागमा वर्षैभरि दशैं-तिहारको उमङ्ग चलिरहन्छ । गतिलो किताब पढ्न पाइएन भने चैँ त्यो उमङ्ग ‘समय हत्याकाण्ड’ हुन्छ ।

म यस लिखोटमा “पछिल्लो समय पढेर” आफूलाई गतिलो लागेका पुस्तक सिफारिस गर्नेछु । बजारमा आएका सबै पढेको छु भन्ने मेरो दाबी हैन । यहाँ उल्लेख गरेको उपन्यास पढ्दा मन परेका हुन्; उत्कृष्ट भन्ने मेरो दाबी नि छैन । आख्यान , गैरआख्यान र काव्य तीनटैको पठन रुचिकर लागेता पनि यहाँ चाहिँ आख्यान मात्र समेटेको छु । समेट्दा विषयको विविधता छ नै शैली-शिल्प पनि विविध छ । आशा छ यी उपन्यास तपाईँको वर्षलाई ‘गतिलो’ बनाउन फलदायी हुनेछ ।

१. कर्नाली ब्लुज- बुद्धिसागर

{ पिता र पुत्रको सम्बन्धमा लेखिएको सुन्दर उपन्यास । बुढेसकालमा जन्मिएको छोराप्रति पिताको स्नेह, त्याग र परिवार चलाउन झेलेको दु:ख  सुन्दरसँग अभिव्यक्त छ उपन्यासमा । अन्तिमसम्म पढ्दा पाठकको आँखामा आफ्नो पिताप्रतिको श्रद्धा छचल्किन्छ । }

२. फिरफिरे- बुद्धिसागर

{ कर्नाली ब्लुजकै दोस्रो भाग भन्न सकिन्छ । तर यसले चाहिँ ‘आमा र बाल्यकाल’को स्मृति भन्छ । स-साना कुराको भव्य वर्णनको स्वाद यसमा पाइन्छ । }

३. अर्की आइमाई- निलम कार्की ‘निहारिका’

{ पुरुषप्रधान समाज र आधुनिक समयमा महिलाको स्थान कस्तो छ ? भनेर बुझ्न यो बलियो उपन्यास छ । यो उपन्यासप्रति कतिपयको धारणा छ ‘नाम मन नपरेर’ पढिन भन्ने । नाम सुधार गर्ने सकिने ठाउँ रहेछ पनि । पढ्नु भयो भने स्पष्ट हुन्छ, नामको अर्थ पूर्णता पनि छ भनेर । }

४. योगमाया- निलम कार्की ‘निहारिका’

{ ऐतिहासिक योद्धा योगमाया र उनको कालखण्डलाई न्याय गरेको उपन्यास । भाषाशैली काव्यात्मक छैन तर निरस पनि छैन । यो उपन्यास पढिसक्दा ‘सहानुभूति’को लागि राखिएको महिला विभूतिलाई “रिप्लेस” गरेर योगमाया राख्दा ठिक हुने तर्क ममा जागेको थियो । }

५.एक सर्को माया- जि.एस. पोैडेल

{ संवेदनासँग जोडिएको कथाहरूको ह्यालुसिनेशनल उपन्यास । उपन्यास शुरु गर्नु त भयो तर कृष्ण धारावासीको भूमिका पढ्नु भएन भने अन्तिममा पुग्दा तपाईँ भुलभुलैयामा फस्नु हुनेछ । लेखकको पहिलो उपन्यास हो तर खारिएको लेखनको मिठो स्वाद पाइन्छ । }

६. हजार माइलको बाटो- नारायण ढकाल

{ नारायण ढकालले लेखेको ‘बृषभ वध’ देवेन्द्र नामको पात्रको उपद्रवबाट शुरु भएर पञ्चायतकालिन समाज व्यवस्थाको चित्रण गर्छ । “हजार माइलको बाटो”मा चाहिँ उनले पञ्चायतको पतन, जनमत सङ्ग्रह, प्रथम जनआन्दोलन हुँदै माओवादी जनयुद्ध जस्ता राजनैतिक घटनाक्रमको पृष्ठभूमिमा कथा उनेका छन् । पात्र चित्रणमा कहिकतै असावधानी भएको महसुस हुन्छ । तर नारायण ढकाललाई पढ्ने राजनैतिक आख्यानको लागि हो । त्यसमा उनी सफल छन् । ३८४ पेजको यो उपन्यासले २८४ पेजसम्म घटनाको सामाजिक वर्णन गर्छ भने त्यसपछि Fantasy शैलीमा कथा भन्छ । }

७. लिखे- शरद पौडेल

{ दलितको ईस्युमा लेखेको सामाजिक यथार्थवादमा आधारित उपन्यास हो यो । ‘लिखे’ नामको दलित पात्रको गाउँको उपल्लो जातले गरेको बहुआयामिक शोषकको कथा यसले भन्छ । पात्र गाउँबाट भारत भासिन्छ । भारत भासिने नेपालीको भोगाईको कथा पनि छ यसमा । त्यो ११-१२ वर्षे बच्चोले त्यहाँ गएर गर्नु परेको दु:खको कथाले तपाईँको शरीरभरि काँडाघारी खडा हुन्छ । यसका कतिपय छुटेको पाटोलाई समेटेर ‘तपन’ उपन्यास पनि लेखेका छन् । यसले लिखे भारतबाट नेपाल फर्केपछिको कथा भन्छ । पात्रहरू पृष्ठभूमिबाट निर्देशित हुन्छन् । तपनको कथा चाहिँ माओवादी जनयुद्धको पृष्ठभूमिमा छ । यसमा प्रयोग भएको पश्चिम नेपालको भाषाशैली फरक स्वादको लागि पर्याप्त छ । }

८. स्खलन- आहुति

{ क्रान्तिको पतन र पूँजीवादले ल्याएको नैतिक क्षयीकरणको कथा भन्छ यस उपन्यासले । पातलो साइजको यो उपन्यास निकै बलियो छ । यसको कथावाचन प्रथम पुरूष-शैलीमा छ । यसैले लामो आत्मलाप जस्तो छ । }

९. मैदारो- भूपिन

{ उपन्यासको प्रमुख पात्र नदीन । जो दलित समुदाय अन्तर्गतको सार्की परिवारबाट हुन्छ । प्रमुख पात्रले भोगेको विभेद समाजको उल्टो चिन्तनको उपज हो भन्ने तर्क उपन्यासमा छ । काव्यात्मक छ- उपन्यास । यसमा स-साना तर सुन्दर प्रयोगहरू देख्न सक्नु हुन्छ । उपन्यासमा पेन्टिङको प्रयोग गज्जब छ । }

१०. फातसुङ्ग- छुदेन कामिवो

{ माटोको सरल , सुन्दर अनि मर्मस्पर्शी कथा । पुस्तकको कभरमा फाइन प्रिन्टले लेखेको छ-“ठेट दार्जिलिङे लवजमा लेखिएको फातसुङ जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा सुन्दर आँखीझ्याल हो ।” }

११. परिभाषित आँखाहरू- पारिजात

{ शिरीषको फूल विसङ्गतवाद प्रयोगको लागि आज पनि उति नै महत्त्वको साथ पढिन्छ । सामाजिक यथार्थवादमा आधारित ‘परिभाषित आँखाहरू’ उहाँकै सशक्त उपन्यास हो । अनाथ केटी बिजुलीलाई विनोद यादव नामको पात्रले छोरीको नाता दिएर बिज्जु यादव बनाउँछ । पछि त्यो सम्बन्ध कति भयावह हुन्छ ? त्यसको चित्र उतार्छ उपन्यासले । जम्माजम्मी ४ पात्र प्रमुख छन् । त्यसमा राजन सर र विनोद यादव दुई पुरुष पात्रको फरक चित्र छ । उपन्यास पढिसक्दा यसका पात्रहरूले तपाईँलाई खिचिरहन्छन् । यो नै हो उपन्यासको सबल पाटो हो । }

१२. ताप- शारदा शर्मा

{ अध्यात्मसँग धेरै आयामबाट निकट छ । बौद्ध धर्म र गुम्बा जीवन तथा ध्यान-विपश्यनाको गहिरो चर्चा पाइन्छ । म पात्रको जीवनको आरोह , अवरोह र निजत्वले उपन्यासलाई यादगार बनाएको छ । }

१३. छाप्रो नं. ५५- रमेश दियाली

{ केही समय अघि पढेको थिए डा. तारालाल श्रेष्ठको उपन्यास ‘सपनाको समाधि’ । पढिसक्दा भुटानी शरणार्थीको कथाव्यथाले भावुक भएको थिए । भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले पनि छोयो । घटनाहरूको सुन्दर वर्णन र कथावाचन शैली सरल र सानदार छ यस उपन्यासको । नेपालीभाषी भुटानी जो पछि भुटानी शरणार्थी भएको कथाव्यथा बुझ्न सपनाको समाधि पछि लेखिएको उपन्यास सायद यही हो । }

१४. कम्प- शारदा शर्मा

{ शारदा शर्माको उपन्यासको मूल विशेषता के भनेँ पात्रको चित्रण प्राकृतिक हुन्छ । ‘कम्प’को १०० पेजसम्ममा प्रवाह काव्यीक त छ नै यसको प्रमुख पात्र चित्रांगदा र उसको पति राजबाबुको कथाले आँखा रसाउँछ । यो उपन्यास मृत्युपश्चात्को घटनालाई स्वरै काल्पनिक र कल्पनिकताले उनेर तयार पारिएको छ । यसले इसाई र इस्लाम धर्मको अधर्म त उजागर गर्छ नै । हिन्दु धर्मको गरुड पुराणको समय सान्दर्भिकता र असमानताप्रति तिखो असहमति समेत व्यक्त गर्छ। }

१५. मयुर टाईम्स- नारायण वाग्ले

{ ‘पल्पसा क्याफे’को लेखकको ट्याग सहित आएको यो उपन्यासमा नारायण वाग्लेले उपन्यासमा प्रयोग गर्ने “टेस्टि” संवादको सुन्दर प्रयोग गर्नु भएको छ । कति सुन्दर भने पढेपछि सक्न ‘आइतबार’ कुर्नु पर्दैन । उपन्यासमा प्राविधिक त्रुटि त छ तर मदन पुरस्कार प्राप्त लेखकको दोस्रो कृति कस्तो रहेछ ? बुझ्न पढ्दा ठिक होला । }

१६. आज रमिता छ- ईन्द्र बहादुर राई

{ भारतीय नेपाली भाषी One Of The Legend साहित्यकार ईबराको कथाहरू पढेता पनि उपन्यास चाहिँ भर्खरै पढिसकेको हुँ । कति दुखद ! पहिलो पटक यो बुक ‘प्लस टु’को अन्तिम ईयरमा पढ्न खोजेको थिए । सिलसिलाबद्ध घटनाको क्रमभंग व्याख्याले उ बेला मरे बुझिन । नबुझेरै पनि पढ्थे उबेला । यो पाली बुझ्नै भनेर पढेँ । “आज रमिता छ” 3D छ । किनभने यसको सामान्य पात्र पनि असामान्य “लम्बाइ/चौडाइ/उचाइ”को कुरा गर्छन् । यसैले पज गरेर पढ्नु पर्ने बाध्यता सृजना गर्छ । पज गर्दा कथाहरू ठाउँ/बेठाउँमा गुजुल्टा पर्छन् । यो मज्जाकै कुरा हैन त !

१७. उलार- नयनराज पाण्डे

{ करिब २५ वर्ष अघि लेखिएको यो उपन्यासमा बादी समुदायलाई जसरी चित्रण गरिएको छ; विवेक ओझाको ‘ऐलानी’, सरस्वती प्रतीक्षाको ‘नथिया’ले पनि गर्छ । यो लघु-उपन्यासको थप विशेषता के भने यसबाट मधेसको “आईसोलेटेड” मानिसको जीवन नियाल्न सकिन्छ । }

१८. शिरीषको फुल- पारिजात

{ पातलो आकारको यो उपन्यासको भूमिकामा शङ्कर लामिछाने भन्छन्-“मेरो युगको अन्तिम लेखिका र प्रथम कवि पारिजात” । निकै सुन्दर अनि सशक्त उपन्यास भएकैले भनेका हुन् । पातलो साइज हुनु र काव्यीक अभिव्यक्ति पाइनु सबैभन्दा सुन्दर पाटो हो यसको । सुयोगवीर नामक पात्रले सकमबरीलाई चाहन्छ । उसको चाहानाको अभिव्यक्तिले “बरी” रोगाउँदै मर्छे । “शिरीषको फुल”को कथा यति हो । }

१९. मोहनदास- उदय प्रकाश

{ उदय प्रकाशको जम्माजम्मी सय पेजको यो उपन्यासले बोकेको ईस्यु र त्यसको प्रस्तुति बेजोड छ । एक दलित पात्र मोहनदास मार्फत समाज/राज्य व्यवस्थाको कुरूप यथार्थ चित्र यसमा प्रस्तुत गरिएको छ । यसको नेपालीमा अनुवाद यज्ञशले गर्नु भएको छ । }

२०. चारखुट्टेको घरजम- जर्ज अरवेल

{ निकै पातलो तर पावरफुल उपन्यास हो “एनिमल फार्म” । यसलाई फणिन्द्र प्रसाद उपाध्यायले “चारखुट्टेको घरजम”को रूपमा नेपालीमा अनुवाद गर्नु भएको छ । “सबै जनावर समान हुन्, तर केही जनावर अरूभन्दा ज्यादा समान हुन्।” कसरी ? उपन्यासले “समान र ज्यादा समान”को राजनीतिलाई बिम्बात्मक ढङ्गले उतारेको छ ।

२१. खबुज- बेन्यामिन

{ मलयालम भाषाबाट नेपालीमा दिनेश काफ्लेले अनुवाद गर्नुभएको यो कृति वैदेशिक रोजगारीमा हिनेको एक सजीव पात्र ‘नजीब मोहम्मद’को भोगाइमा आधारित छ । लेखकीयमै भनिएको छ-“यसमा कुनै रङ्गरोगन, मसला भरिएको छैन !” थर्डक्लास काममा जान बाध्य आम मानिसको जीवन-कथा महसुस गराउन सफल छ खबुज । }

अन्त्यमा , केही पुराना उपन्यास माथि पनि परेका छन् । ती नाम सङ्गै पागलबस्ती, घामका पाइला, अलिखित, सुम्निमा, राधा र सेतो बाघ उपन्यास सदैव पठनीय छ मेरो लागि । नजाने अझै कति उपन्यास अझै पढ्न छुटेको छ ..।

०००

सम्पादकीय नोट : यहाँहरूको ‘दशैं-तिहार बिदा’ पठनीय रहोस् । नेपाली भाषा–साहित्यप्रेमीको सक्रियता निरन्तर बढीरहोस् । यहाँहरूलाई दशैँ, तिहार साथै छठको शुभकामना !!

 

०००

लेखकबाट थप :

जीवन यात्रा होइन ।

प्रतिक्रिया दिनुहोस्