Logo

दशैँमा प्रतिव्यक्ति दश केजी चामल



Spread the love

१७ असोज, खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहत स्वरुप चामल उपलब्ध गराएको हो । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वटा वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरी पीडितलाई दशैँ मान्न जनही दश किलोग्रामका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताए । “सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीको घरमा अहिले अन्नको दाना समेत छैन”, उनले भने, “खाद्यान्न अभावले दशैँ मान्न समेत नपाउने भएपछि प्रतिघर दश किलोग्रामका दरले चामल वितरण गरिएको हो ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तिमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो । खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर ल्याएको छ । वडा नम्बर–९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ ।

मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी किराले समेत आतङ्क मच्याएको छ । करीब दुई महिनाअघि फैलिएको अमेरिकन फौजी किरा अझै नियन्त्रणमा नआएको स्थानीयवासीले बताएका छन् । खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती समेत लामो समयको खडेरी र फौजी किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । खडेरीका कारण यस वर्ष जिल्लामा कम्तिमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताए । दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्