Logo

बन्द ग्रामीण सडक खोलिँदै



Spread the love

– विमलबहादुर विष्ट


१८ असोज, डोटी – अविरल वर्षाका कारण अवरुद्ध भएका जिल्लाका दर्जनौँ ग्रामीण सडक धमाधम सञ्चालन गरिन थालेका छन् । यहाँका गाउँघरमा दशैँको चहल पहल शुरु भएसँगै बर्षात्ले बन्द भएका सडक स्थानीय तहको पहलमा अहिले सञ्चालन गरिन थालेका हुन् । यहाँका नौ वटै स्थानीय निकायको पहलमा अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए ।

सडकहरु अवरुद्ध भई यातायात बन्द भएपछि यहाँका ग्रामीण क्षेत्रका किसानले गाउँमा उत्पादन गरेका तरकारीलगायत अन्य विभिन्न फलफूल बजारसम्म ल्याउन सकिएको थिएन । बन्द भएका सडक स्थानीय निकायको पहलमा सञ्चालन गरिन थालेपछि अहिले यहाँका स्थानीयवासी निकै खुशी भएका केआइसिंह गाउँपालिका–५ जमलकटियाका चेतराज भट्टले बताए ।

केही हप्तापहिले जिल्लामा परेको लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायलले जनाएको छ । यहाँका ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका साधन चल्न बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य भएका थिए ।

पहिराका कारण दिपायल सिलगढी नगरपालिका बागनेटीबाट बोगटान फुड्सिल गाउँपालिकासम्म जाने कच्ची मार्गमा लामो समयदेखि यातायात सञ्चालन हुन नसकेको स्थानीयवासी सुमन भट्टले बताए । त्यस्तै जिल्लाको मौवा मेल्लेक, सायल, डौड सडक खण्डका विभिन्न ठाउँमा पनि बर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन निकै समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए ।

त्यसैगरी दिपायलदेखी गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा लामो समयदेखि यातयातका साधन चल्न बन्द भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका अन्य विपिनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, बिपीनगर, बागछेडा लगायतका दर्जनौँ सडकमा समेत पहिरोले गर्दा यातायात बन्द भएको यातायात व्यवसायी बताउँछन् ।

पहिराले गर्दा ग्रामीण सडकमा यातायात लामो समयदेखि बन्द भएको शैलेश्वरी यातायात समितिका जीपचालक मदन विकले बताए । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडक भासिएका र भत्किएका डिभिजन सडक कार्यालय कुल्पातेका सुपरभाइजर डम्वर विष्टले बताए । यति मात्र नभई यहाँका सञ्चालनमा रहेका बुडर–जोरायल, बिपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडा लगायतका सडकको यात्रा पनि भगवान् भरोसा हुँदै आएको छ ।

साघुँरा सडक तथा डोजर अपरेटरका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायत समितिका जिल्ला प्रमुख धनबहादुर बोहराले बताए । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट ग्रामीण भेगका लागि छुट्ने दर्जनौँ जीप लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा चल्न पाएका थिएनन् ।

पहिराले अवरुद्ध भएका सडकमा पहिरो पन्छाएर सवारीसाधन गुड्ने बनाउनेतर्फ आफूहरूले पहल गरी डोजर लगाएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । वर्षा लागेपछि बर्षेनी यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको बडिकेदार गाउँपालिकाका बासिन्दा रोजबहादुर कलेलले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्