Logo

जगदुला हाइड्रोपावरको मुआब्जा प्रक्रिया शुरु



Spread the love

– हेमन्त केसी


१८ असोज, डोल्पा – लामो समयको प्रतीक्षापछि डोल्पाको जलदुला हाइड्रोपावर कम्पनीले मुआब्जा वितरणका लागि पहल थालेको छ । तोकिएको समयभित्र डिपिआरको काम पूरा नभएर छ महीना थपी गत साउन २० भित्र प्रतिवेदन दिने सहमति एनए इन्जिनीयरिङ कन्सलटेन्सीसँग आयोजनाले गरेको छ ।

माघभित्र प्रतिवेदन आउने पक्का भएपछि यता मुआब्जाको काम शुरु गरिएको कम्पनीका प्रमुख सञ्जय सापकोटाले बताए । कुल ३०७ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको उनले बताए ।

बीस महीनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महीना थपेर डिपिआरको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २४० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ रहेको प्रमुख सापकोटाले बताए । छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ ।

तीन सय मिटर जमीनभित्र भूमिगत विद्युत् उत्पादन गृह निर्माण गरी यहाँबाट उत्पादन भएको विद्युत् सिधै जाजरकोटको नलगाड नगरपालिका–७ दानीपीपलमा रहेको ४०० केभी प्रसारण लाइनमा जोडिने लक्ष्य राखिएको छ । विद्युत्को केन्द्रीय प्रसारणले जोडिन नसकेको डोल्पामा यो विद्युत् आयोजना निर्माणका लागि विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिकाको इलस्थित सेतीखोलाबाट दुई मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै ड्यामस्थलमा काम गर्नका लागि जगदुला–१ हुरिकोटमा रहेको हुरिकोट खोलाबाट दुई मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख सापकोटाले जानकारी दिए । चार मेघावाट विद्युत्बाट पनि काम गर्न विद्युत् अभाव भएमा डिजेल प्लान्टबाट विद्युत् उत्पादन गरेर काम शुरु गरिनेछ । तल्लो डोल्पामा पर्ने यो आयोजना निर्माणस्थलसम्म पुग्न जाजरकोट सदरमुकामबाट दुई दिन लाग्छ । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट पाँच घण्टामा विद्युत् उत्पादन गृहसम्म पुग्न सकिन्छ ।

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिइन् । नलगाड जलविद्युत् आयोजना र जलदुला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन् । यी दुवै विद्युत् आयोजना निर्माणका लागि केन्द्रीय विद्युत्को (११ केभी) प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताइन् ।

भौगोलिक रुपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहणको काम शुरु भएको छ । जग्गा अधिग्रहणपछि यहाँको मुआब्जा कति दिने भन्ने प्रजिअ मुकेश केसरीको संयोजकत्वमा बसेको बैठकले निर्धारण गर्नेछ । अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य शुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्