Logo

आज नवरात्रको सातौँ दिन, माता कालरात्रीको पूजा आराधना गरिँदै



Spread the love

सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्।

उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली सरह झल्कने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्। यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ। देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ। यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ।

माता कालरात्रीको भक्तिले मनका हर प्रकारका भय नष्ट हुँदै जान्छ र जीवनका हर समस्याको पलभरमा हल गर्ने शक्ति प्राप्त हुने तथा शत्रुको नाश गर्ने माता कालरात्री आफ्ना भक्तलाई हर परिस्थितीमा विजय दिलाउँछिन् भन्ने विश्वास छ । ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

कालारात्रीको मन्त्र 
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स-साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्