Logo

स्टार सिटीलाई ‘दशैँकप फुटसल’ प्रतियोगिताको उपाधि



Spread the love

१९ असोज, धनगढी – धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको ‘दशैँकप फुटसल प्रतियोगिता’को उपाधि स्टार सिटी कैलालीले जितेको छ । शनिबार भएको फाइनलमा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजलाई एकका विरुद्ध चार गोल गर्दै स्टार सिटीले उपाधि उचालेको हो ।

उपाधिसँगै सिटीले रु ३० हजारसहित ट्रफी र मेडल पाएको छ । उपविजेता एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजले रु १५ हजारसहित ट्रफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टार सिटीका सन्दीप कुँवर र सर्वाधिक गोलकर्ता स्टार सिटीकै कमल देउवा र उत्कृष्ट गोलरक्षक एक्सपर्टका मिलन लामा भए ।

यसअघि आजै भएको सेमिफाइनलमा स्टार सिटीले फ्रेण्ड्स क्लब कैलालीलाई पराजित गरेको थियो भने एक्सपर्टले विशाल युवा क्लबलाई पराजित गरेको थियो । फ्ल्याटल्याण्डका सञ्चालक प्रेम जोशीको अध्यक्षतामा भएको समापन समारोहमा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट र कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाहले पुरस्कार वितरण गरे । फुटसल खेलप्रतिको आकर्षणसँगै पछिल्लो समयमा यहाँ लगातार फुटसल प्रतियोगिता हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्