Logo

बाटो निर्माण अलपत्र



Spread the love

२१ असोज, नवलपरासी – पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ ।

प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं. ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो । यद्यपि अहिले सो सडकखण्डमा ट्र्याक खोल्नुअघि निर्माण गरिएको अस्थायी सडक सञ्जालका संरचनासमेत बिग्रिसकेको अवस्था छ भने सडक पूर्णरुपमा बन्द रहेको छ ।

निकुञ्ज र निकुञ्ज आसपासको क्षेत्र मानिने मध्यवर्ती सामुदायिक वन क्षेत्रको केही भाग सडकमा परेका कारण सडक निर्माण गर्न समस्या भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङ बताउँछन् । साविक नवलपरासी जिल्लाको दुम्किबास गाविस, त्रिवेणी गाविस, स्थानीय जनश्रमदान गरी लाखौँ रकम खर्चिएर बाटोको ट्र्याक खोलिएको थियो ।

तर ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको थप स्तरोन्नति हुन सकेको छैन । सडक सञ्चालन गर्न स्थानीय सरकारदेखि गण्डकी प्रदेश सरकार सकारात्मक देखिएका छन् । अब तत्कालै सो सडक सञ्चालन गर्न प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष पहल भइरहेको विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीरा राना बताउँछन् ।

सो सडक २०२९ सालभन्दा अघि मानिसको हिँडडुल गर्ने सडकका रुपमा प्रयोग हुने गर्थ्यो । त्यसपछि सो सडकखण्डको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र केही भाग मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परेकाले बाटो निर्माणमा समस्या भएको मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणप्रसाद गौतम बताउँछन् ।

अब तत्कालै त्रिवेणी–दुम्किबास–सडक निर्माण कार्य अघि बढाउन स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल भइरहेको सांसद तिलक महत बताउँछन् । सो सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने कार्य भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताउँछन् ।

सडक निर्माणका क्रममा आवश्यक पर्ने काट्नुपर्ने रुखको विवरण सङ्कलन गर्ने काम सकिएको छ । सडक निर्माणका क्रममा वन्यजन्तु ओहोरदोहोरो गर्ने क्षेत्रलाई मध्यनजर गर्दै निर्माण हुनुपर्ने सूचना अधिकारीको भनाइ छ । सो सडक सञ्चालन नहुँदा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का स्थानीयवासी आफ्नो गाउँपालिकाको मुख्य प्रशासनिक भवन दुम्किबास जान पनि पश्चिम नवलपरासीको बर्दघाट हुँदै पूर्वी नवलपरासीको दुम्किबास पुग्नु करीब ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्