Logo

मनकामना केबलकार तीन दिन बन्द



Spread the love

२१ असोज, मनकामना – प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा सोमबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएकोे छ ।

नेपालीको महान् पर्व बडादशैँको समयमा हरेक वर्ष तीनदिन बन्द गर्दै आइरहेको मनकामना केबलकार सेवा सोमबारदेखि २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिए । असोज २३ गते बिहिबारबाट केबलकार सेवा नियमित सञ्चालनमा आउने पनि उनले बताए ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्वार (बटम स्टेशन) रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायःसधैँ भीड नै लाग्ने गर्दछ ।

दर्शनार्थीको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको यो कम्पनीको केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा दर्शन र पूजाका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्