Logo

चितुवाको आक्रमणबाट बालकको मृत्यु



Spread the love

२२ असोज, तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँ रहेका छन् ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

“दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ”, प्रहरी नायब उपरिक्षक लामिछानेले भने, “भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।”

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।

विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो ।

यसअघि असोज १५ गते भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । पुनः चितुवाले आक्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्