Logo

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान



२३ असोज, तनहुँ – चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ ।

मङ्गलबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँका परिवारलाई कार्यालयले बुधबार किरियाखर्चस्वरुप रु ५० हजार उपलब्ध गराएको हो ।

मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गरेका छन् ।

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिए । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । बालकको घर वरपर अत्यधिक झाडी रहेकाले झाडीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गरेको थियो ।

घर नजिकै झाडी भएको ठाउँमा र साँझको बेला चितुवाले बालबालिकालाई आक्रमण गरेकाले चितुवाको आक्रमणबाट बच्न सचेत हुनुपर्ने भानु नगरपालिकाका प्रमुख गौलीले बताए । “घर वरपरको झाडी सरसफाइमा विशेष ध्यान दिनुपर्ने र साँझको बेला घर बाहिर बत्तीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ”, नगरप्रमुख गौलीले भने, “साँझको बेला परिवारले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ ।”

डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए । बरालले घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारण यसप्रति सचेत हुनुपर्ने बताए ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्