Logo

जनश्रमदानबाट विद्यालय भवनमा कोठा थपिए



Spread the love

२४ असोज, बागलुङ – जनश्रमदान र निजी स्रोतबाट यहाँको एक विद्यालय भवनमा चार कोठा थप गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविले बाहिरी सहयोगबिनानै कक्षाकोठा निर्माण गरेको हो ।

रु २० लाख खर्चेर कक्षा कोठा बनाइएको निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । “रु सात लाख बराबरको जनश्रमदान परेको छ, बाँकी रकम विद्यालयको आफ्नै स्रोतबाट खर्च भएको छ”, उनले भने ।

कक्षा ११ सञ्चालनका लागि कक्षा कोठा अभाव भएपछि स्थानीयवासी पूर्वाधार थप्न कस्सिएका थिए । पुरानो एकतले पक्की भवनको माथि कोठा थप गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

कक्षा कोठा निर्माणमा स्थानीय सीप र स्रोतसाधनको प्रयोग गरिएको छ । गाउँका प्रत्येक घरबाट तीन दिनका दरले सहयोग गरिएको थियो । तीसभन्दा बढी घरधुरीले निर्माणमा चाहिने काठ निःशुल्क उपलब्ध गराएका थिए ।

“काठ, ढुङ्गासँगै धेरैको श्रम पनि परेको छ”, अध्यक्ष थापाले भने, “निर्माण पूरा भएर कक्षा सञ्चालनको तयारी भइरहेको छ ।” तत्कालै कक्षा कोठा चाहिने भएपछि कुनै दाता नकुरी विद्यालय आफैँ निर्माण कार्यमा जुटेको थियो ।

नयाँ कोठा थप भएपछि पठनपाठनमा सहज भएको विद्यालयका प्रअ देवबहादुर खत्रीले बताए । “पूर्वाधार निर्माणमा व्यवस्थापन समिति, अभिभावक खटिएर लाग्नुभएको छ”, उनले भने, “अझै थप कक्षा कोठाको आवश्यकता छ ।”

पुनःनिर्माण प्राधिकरणमार्फत चारकोठे नयाँ भवन निर्माणका लागि पहल भइरहेको विद्याललयले जनाएको छ । विसं २०२१ सालमा खुलेको विद्यालयलले यही वर्षदेखि कक्षा ११ को पढाइ शुरु गरेको छ । विद्यालयमा १८० जना विद्यार्थी अध्ययनरत् छन् ।

कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रअ खत्रीले बताए । उक्त कक्षासम्मका बालबालिकाको पठनपाठन सहज बनाउन दिवा खाजाकोसमेत व्यवस्था छ । अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि यो शैक्षिक सत्रमा ६० भन्दा बढी विद्यार्थी थप भएका थिए । कतिपय संस्थागत (निजी) विद्यालय छाडेर आउने पनि छन् । विद्यालयले कक्षा दशसम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा योजना बनाएर काम थालिएको व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताए । समितिले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन घरदैलो अभियानसमेत चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्