Logo

राष्ट्रिय जनता पार्टीका नेताद्वारा विमानस्थल तोडफोड



Spread the love

२८ असोज, जनकपुर – राष्ट्रिय जनता पार्टी (९राजपा) नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।

नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका हुन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन् । ११ः३० बजेको बुद्ध एयरको जहाजबाट काठमाडौँ जान साह विमानस्थल पुगेकोमा जहाज करीब एक घण्टा ढिलो भएपछि साह आक्रोशित हुँदै विमानस्थलभित्र बुद्ध एयरको काउन्टरका साथै विशिष्ठ कक्षको टेबल कुर्सी तोडफोड गरेका थिए ।

तोडफोडबाट बुद्ध एयरको काउन्टरको सिसाका साथै कम्प्युटरमा क्षति पुगेको छ । “एयर ट्राफिकका कारण विमान नियमित समयभन्दा करीब एक घण्टा ढिलो भयो”, बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले भने, “विमान किन ढिलो भएको भन्दै आक्रोशमा आएर सांसद साहले काउन्टरमा तोडफोड गर्नुभयो ।”

यसका साथै सांसद साहले विशिष्ठ कक्षभित्र रहेको सिसाको टेबलसमेत तोडफोड गरेको बताइएको छ । “सांसद साहले बुद्ध एयरको काउन्टरमा बबाल गर्नुभयो, विशिष्ठ कक्षको टेबल सीसाको ग्लास फुटालेको हामीलाई जानकारी आयो”, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले भने, “त्यसलगत्तै प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पठायौँ । अवरोध गरेकाले कानूनी कारवाही गर्ने तयारी थियो । तर बुद्ध एयरले सांसद भएको भन्दै कारवाही नगर्न आग्रह गरेपछि उहाँलाई यात्रा अनुमति दिइएको छ ।”

यात्रा अनुमति दिइए पनि साहले गरेका व्यवहारबारे सत्यतथ्य बुझेर के गर्नेबारे निक्र्यौलमा पुगिने प्रमुख जिल्ला अधिकारी कँणेलले बताए । सांसद साहले बुद्ध एयरसमक्ष आत्मालोचना गरेको जानकारी दिएका छन् ।

“जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नीका बिरामी थिए । उहाँलाई दिउँसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर जाँच गराउनुपर्ने थियो । तर विमान आउन निकै ढिला भइरहेको थियो । त्यही आबेगमा आएपछि मैले तोडफोड गरेको हुँ”, सांसद साहले भने ।

बुद्ध एयरका व्यवस्थापन प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे ।

“हामीले यो विषयमा यात्रुलाई जानकारी पनि गराएका थियौँ । तर सांसद साहले आक्रोशमा आएर बुद्ध एयरको काउन्टरमा तोडफोड गर्न थाल्नुभयो । हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो”, सिंहले भने । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्