Logo

नेपाली भाषामा गद्य कवितालाई हाँक्न प्रारम्भ गर्ने कवि रिमाल आफैं छन्दकवि थिए ।



पिता लोकनाथ भण्डारी र माता तुलसी भण्डारीको सुपुत्रको रुपमा मेघौली, चितवनमा जन्मिएका मनोज भण्डारी हाल अध्ययनको शिलशिलामा भारतको उत्तर प्रदेश स्थित वाराणसीमा रहँदै आइरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरणमा शास्त्री( गोल्ड मेडलिस्ट)को अध्ययन सकेका उनले सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आचार्य अध्ययन समेत सकीसकेका छन् ।

समकालीन नेपाली कविता फाँटका प्रष्ट अनुहार एवम्  प्रभावशाली छन्द कवि भण्डारीको ‘ईश्वरलाई चिठी (कविता सङ्ग्रह-२०७४)’ प्रकाशित छ । तन्नेरी पुस्ताहरूले छन्दमा कविता लेख्न र पढ्न छाडे भन्नेहरूलाई भण्डारीको कविताकृति ‘ईश्वरलाई चिठी’ गतिलो उदाहरण हो । यस सङ्ग्रहमा विभिन्न छन्दमा लेखिएका ५२ कविता सङ्ग्रहित छन् ।

Image may contain: 1 person, text
कवि मनोज भण्डारीको कविता संग्रह – ईश्वरलाई चिठी

 

०००

प्रस्तुत छ, सर्जक अफ द विकका लागि कवि मनोज भण्डारीसँग सल्लेरी खबरका राजु झल्लु प्रसादले गरेको साहित्यिक चर्चाको संक्षिप्त अंश:

राजु- हामीकहाँ छन्दमा कविता लेख्नेले गद्यमा लेख्नेलाई नमान्ने र गद्यमा कविता लेख्नेले छन्दमा लेख्नेलाई नमान्ने प्रवृत्ति अझै पनि छ । गद्द र छन्दको तुलानात्मक अध्ययन/विस्तार/बुझाई कस्तो हुनुपर्छ ? भाषा संरक्षणमा छन्द कविताको भूमिका कस्तो रहन्छ ? छन्दको मनोवैज्ञानिक प्रयोजन के हो ?

मनोज- कसैले कसैलाई नमानेर कसैको महत्ता घट्ने अथवा कसैले मान्दैमा भइहाल्ने पनि त होइन नि, है । मेरो अध्ययनले काव्य तीनथरि छन् भन्छ : गद्य , पद्य र चम्पू । तीनवटै उत्तिकै विशिष्ट छन् ।

छन्द कविताले हामीलाई शब्दहरूप्रति चनाखो बनाउँछ । शब्दहरूप्रति नभनौँ, शब्दहरूप्रति पनि । शब्दसँग मजाले खेल्न नसकी छन्द लेख्न सकिँदैन । गद्यमा भावलाई शब्दले साथ दिए पुग्छ । शब्द खेलाउन सक्नु प्लस प्वाइन्ट हो । छन्दमा चाहिँ त्यो पहिलो सर्त हो । अर्को कुरा छन्दको उच्चारण मानक उच्चारण हो । लिखितको लेखनीय उच्चारण । गद्यको उच्चारण मौखिक हुन सक्छ (नहुन पनि ) । त्यसैले भाषा संरक्षणमा छन्द अधिक उपयोगी छ ।

सङ्गीतमैत्री हुनाले छन्दका कुरा रुचिकर हुन्छन् । छन्द सुन्नासाथ कण्ठस्थ हुन्छ । त्यसैले हाम्रा ऋषिहरूले इतिहास छन्दमा लेखेर महाभारत बनाए । कथा छन्दमा लेखेर पुराण बनाए । गणित पनि छन्दमा । व्याकरण पनि छन्दमा । खगोल, भूगोल पनि छन्दमा । गुन्गुनाउँदा गुन्गुनाउँदै छन्द कण्ठस्थ हुँदाहुँदै कतिबेला हृदयस्थ भयो पत्तै हुँदैन ।

राजु- गद्य कवितामा निश्चित ढाँचा हुँदैन, अनुप्रास हुँदैन र छन्द पनि हुँदैन । र, पनि अहिले गद्द कविताकै हालीमुहाली देखिन्छ । उसो भएछन्दहीनतापनि काव्यात्मक गुण हो ? यदि तपाइले गद्द कविता बारे बोल्नुपर्यो कसरी बोल्नुहुन्छ ?

मनोज- नेपाली भाषामा गद्य कवितालाई हाँक्न प्रारम्भ गर्ने कवि रिमाल आफैं छन्दकवि थिए । छन्द लेख्न धौ भयो (उनको रचनाबाट स्पष्ट हुन्छ ), गद्य समाते । यसको अर्थ सबै गद्यकविहरू छन्द नजान्ने भन्ने होइन नि । गद्य लेख्न धेरैको रुचि हुनुमा गद्य सजिलो लाग्नु (हुनु होइन ) हो । म चाहिँ गद्य अझै अप्ठ्यारो हुन्छ भन्ने ठान्छु । संरचना छन्दको अप्ठ्यारो छ । संरचना र गुदी दुवैमा फिफ्टि-फिफ्टि परिश्रम छन्दमा गर्नुपर्छ । गद्यमा भने शत प्रतिशत गुदीमा परिश्रम गर्नुपर्छ । त्यसैले शायद ।

राजु- फ्रान्सका आधुनिकतावादी कवि पल भ्यालेरीको एउटा कथन छ- छन्दको संरचनाले नै कविलाई कविता लेखाउँछ । त्यसो हो ?  तपाइको आफ्नो अनुभवले के भन्छ ? कविताको संरचना, विषय र टुङ्गाइ गर्दाखेरका अनुभवहरू (कविताको गर्भ वास या त्यसको गर्भ विकास) को बारेमा केहि कुरा बताईदिनुहोस् न !

मनोज- छन्द भन्ने जिनिस आफैमा गण्डकीजस्तो हुन्छ । बग्नु त्यसको स्वभाव हो । पहाड, खोच, समथर, उपत्यका, अधित्यका हुँदै बग्नु । गद्य बरु मरुभूमिको हिँडाइ हो । बगाइ त आफैंमा कविता हो नि । मरुभूमिको बाटो आफैंमा कवितामय हुँदैन । त्यसका लागि अतिरिक्त प्रयास चाहिन्छ । भ्यालेरीको कुरामा मेरो सहमति छ ।

मसित विषयै छैन । विचार नै छैन । तर पनि कुनै कविता सुन्नासाथ लेखूँ लेखूँ हुन्छ । त्यसको प्रतिफल सुन्दर भएको छ ।

राजु-सूचना र प्रविधिले मारेको फड्कोबाट  नेपाल ( नेपाली साहित्य ) पनी अछुतो  छैन । भर्चुअल दुनियाँमा नेपाली साहित्यको प्रभाव दिनानुदिन बढ्दो छ । समकालीन अवस्थालाई नियाल्दा अनलाइनको माध्यमद्वारा नेपाली साहित्यको उत्थान भइरहेको हो ? नेपाली साहित्य र प्रविधिबीच कस्तो तादात्म्यता भेट्नुहुन्छ ?

मनोज- अब कविता छाप्न प्रकाशक चिन्नु पर्दैन । सम्पादकलाई चिठी लेख्नु पर्दैन । फेस्बुकका कमसेकम पाँच हजार पाठक/श्रोतासामु पुग्ने गरी छाप्न सकिन्छ । त्यो पनि यथेष्ट । यो त उपलब्धि हो । यसको अर्को/अँध्यारो पाटो त छँदैछ । जुन उपाय/साधन अपनाए पनि साध्य सुन्दर भइदिनु भनेको सुन्दर कुरा हो ।

०००

प्रस्तुत छ, भण्डारीका तीन कविता:


पहिलो कविता

फर्केर आयो

~मन्दाक्रान्ता छन्द

क्यै सम्झौता, तमसुक थिए च्यातिए आज फेरि
मेरा कापीकलम मसितै मातिए आज फेरि
मानौं कालो गगन चिरियो, वेग दर्केर आयो
मेरो मान्छे पर पर थियोे, आज फर्केर आयो
*
चिच्याएथ्यो मसित उसको मौनता एक मानु
जानेबेला मसँग उसले क्यै नछाडेर जानु
जाऊ भन्ने अवसर भने जिन्दगीले दिएन
मेरो मान्छे मसित सजिलै टाढिएको थिएन ।
*
भुल्नैपर्ने सयसय थिए हेतु जल्ले मलाई
थोरैमात्रै अवसर थिएँ “सम्झिऊँ?” भन्नलाई
मैलाई नै अब त उसले भुल्नुपर्ने भुलेछ ।
यस्तै गल्ती यदि भइदिए, दोषमा दोष के छ ?
*
मेरा खुट्टासित हजुरको दूरता नाप्नलाई
मेरा आँखासित हजुरको मौनता सुन्नलाई
त्यस्तो केही उपकरण या यन्त्र भन्ने थिएन
हुन्थ्यो ता यो समय यतिको क्लिष्ट बन्ने थिएन ।
*
यस्तै गाँठा, हृदयभरिका खोल्न धेरै कुरा छन् ।
सिङ्गो मान्छे कम समय हो, बोल्न धेरै कुरा छन् ।
थाँती राखौं सब अब कतै भन्न चाहन्छ जस्तो
मानौं मेरै अब सब भुली बन्न चाहन्छ जस्तो ।
*
एउटा चस्को हृदय नजिकै दुख्दथ्यो पोल्दथ्यो जो ।
क्वैली जस्तै मधुर तर क्यै दूरमा बोल्दथ्यो जो
बाल्दै आयो सघन निशिमा एक विश्वास दीप
मेरो साथी पवन जसरी आज आयो समीप ।
*
हेर्थ्यो कोही मतिर जहिल्यै फर्किँदै फेरि फर्की
फर्क्यो अर्को दिशतिर उही, स्वप्नको देश सर्की
ऊ फर्केको छ अब मतिरै, फर्किने फेरि होला
तर्क्यो, फर्क्यो नगर सँगिनी, बित्न जाला कि चोला
*
कैले एउटा रनवन रुँघे फूल-काँडा भएर
कैले रोए तट सरितका तुल्य टाढा भएर
कैले आए बहन तटकै साथमा साथसाथ
के हो अर्को चरण यसको? मोहनिद्रा ? प्रभात ?

०००

Image may contain: 2 people, beard
कवि : मनोज भण्डारी

दोस्रो कविता

चौतारीको छाता

~मन्दाक्रान्ता छन्द

चौतारीमा, वटविटपको फेदमा एक छाता
केही बोल्दै छ कि नसुनिने शब्दमा, ए विधाता
आफ्नो स्वामीसित छ यसरी आज यो टाढिएको
बस्दाबस्दै कि त छुटिगयो या थियो छाडिएको । १
*
गोठालाले वनतिर हुँदा घामको भुल्न घाउ
ओढ्यो होला, अनि भुलिदियो टाढिँदा वस्तुभाउ
मानौँ जाडो भुलिदिन भनी ओढियो एक बर्को
बिर्स्यो बर्को तलतल हुँदा एक तानेर सर्को ।२
*
या गर्मीले तपतप झरे स्वेदका बिन्दुधार
बग्दै गर्दा सलल नजिकै वेगले पानभार*
छाता राखी युवक वटकै छेउमा, दौडिएर
खोला नाघ्दा, जलसँग बगे भेलमा पौडिएर ।३
*
या पर्देसी प्रियजनसितै हर्ष टाढा भएकी
आइन् कोही नव विरहिणी, बेसहारा भएकी
रोइन् देखी वरपिपलका साथ स्वामी* बसेको
थाहा पाऊन् नयन कसरी, एक छाता खसेको ।४
*
लाखौं पूजा स्तुति अनि दुआ प्रार्थनाले छुँदैन
ए आँखाको जलकण, कुनै धर्म तेरो हुँदैन ?
कस्तै दूरी पनि तँ सजिलै फड्किई सामु आई
घोच्ने गर्छन्, भन न कुन हो यादको देश, भाइ ! ५
*
फर्के फर्के घरतिर दशैं, चाड आयो तिहार
खै फर्केनन् शहरतिरका, पुत्र छन् चार चार
सुस्केराले यति भनिसकी पल्टिएका हुँदा हुन् ।
चौतारीमा अझ पनि उनै वृद्ध आई रुँदा हुन् ।६
*
“छाता ओढ्ने ?” सँग शुरु भयो प्रेम मानौं परार
“एउटै छानामुनि” अटिनुमा विघ्न आए हजार
छोटा लामा पल अब छुटे, छोटिए मार्ग, नाता
छुट्दाछुट्दै कि त छुटिगयो हातको एक छाता ।७

०००


तेस्रो कविता  

देवनारायण यादव उवाच

~शार्दूलविक्रीडित छन्द

मानौं छोडिदिएछ रङ्ग कविले पोतेर पानाभरि ।
पुर्खाको पसिना र रक्त छ अझै हाम्रो सिमानाभरि ।
त्यो मेट्ने यदि गर्छ साहस कुनै, रोकेर रोकिन्छु म ?
हावा बन्छु, उडाइदिन्छु, त्यसकै नामेट गर्दिन्छु म ।
*
भेडा हुन् जनता भनेछ कसले हामीहरू शेर हौं ।
आफ्नो शक्ति, अदम्य तागत सबै बिर्सी सुतेका थियौं ।
ब्वाँसा,स्यालहरू गिज्याउन यतै आए, चलाए कति ।
के होला अब सिंहका निकटमा जानेहरूको गति ।
*
के हो सङ्घ, प्रदेश ? बुझ्दिनँ म ता, स्वाधीनता बुझ्छु म ।
धर्ती ईश्वर हो म भक्त यसको, यै ढोग्छु यै पुज्छु म ।
मेरो मन्दिरमा पसेर जब यी जिस्क्याउँछन् दुश्मन ।
ए आमा ! म कुना पसूँ कि खुकुरी बोकेर गर्जूँ? भन ।
*
के छाती यदि देश धर्धर रुँदा मान्दैन केही पिर ।
भो साथी, किन चाहियो दसगजा दुख्दा नदुख्ने शिर ।
रातारात लुटेर देश रिपुले खोसेर लाँदा पनि ।
निद्रा लाग्छ भने अजिङ्गरजसै, धिक्कार हो जीवनी ।
*
नेपाली जन हूँ, म हैन “मदिसे”, हो देश मेरो पनि ।
जन्मेँ किन्तु मधेस, पर्वतजसै छाती छ मेरो पनि ।
आफ्नो देश बचाउने प्रण गरूँ, सङ्घर्ष यस्तो गरूँ ।
मेरो अन्तिम श्वाससम्म म लडूँ, नेपाल भन्दै मरूँ ।

०००

००००००

‘सर्जक अफ द विक’ सल्लेरी खबर र आभा For Creativity को संयुक्त प्रस्तुति हो ।

प्रस्तुति: राजु झल्लु प्रसाद

००००००

यो पनि पढ्नुहोस् :

मेरो सोचका हरेक पूर्णविराम, अल्पविरामहरू कविता हुन् !

कविता जन्मिनु, आगो सल्किनु जस्तै हो…

कविता लेख्नु दुस्साहस हो, किनकी यो अभिलेख हो ।

कविता नै मेरो जिन्दगी हो ।

म साहित्यको साधक र उपासक हुँ ।

हामीले हाम्रो साहित्य मापनको जमिन पर्याप्त मात्रामा खडा गर्न सकेका छैनौँ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्