Logo

वुमन्स च्याम्पियन्स लिग–काठमाडौँद्वारा ललितपुर पराजित



Spread the love

३ कार्तिक, काठमाडाैँ – राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो । जितसँगै काठमाडौँले चार खेलमा छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । त्यस्तै लगातारको तेस्रो हारसँगै ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुरले दिएको १०६ रनको लक्ष्यलाई पच्छाएको काठमाडाँैले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा एक छक्का र नौ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिएकी हुन् । त्यस्तै रोमा थापाले १८, रश्मी चौलागाईले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन् ।

बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक÷एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो । उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन बनाइन् । काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट लिँदा सरस्वती चौधरीले एक विकेट झारिन ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्