Logo

च्याम्पियन्स लिगमा टोटेनहमको प्रभावशाली जित, बायर्न शीर्षस्थानमा यथावत्



Spread the love

६ कात्तिक, काठमाडौं । इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित हात पारेको छ । घरेलु मैदानमा टोटेनहमले रेड स्टार बेल ग्रेडमाथि ५–० को फराकिलो जित निकालेको हो ।

टोटेनेहमको जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले समान २–२ गोल गरे । इरिक लमेलाले एक गोल थपे । खेलको नवौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । खेलको १६ औँ मिनेटमा सन ह्युङले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । टोटेनहमका लागि खेलको ४४ औँ मिनेटमा सन ह्युङले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता ३–० मा पुराएका थिए । लमेलाले खेलको ५७ औँ मिनेटमा टोटेनहमका लागि चौथो गोल गरेका थिए । खेलको ७२ औँ मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५–० गोलको फराकिलो जित दिलाए ।

जितसँगै टोटेनहमलले समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने रेडस्टार ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले ओलम्पियाकोसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । १ अंक जोडेको ओलम्पियाकोस पुछारमा छ ।

 

प्रतिक्रिया दिनुहोस्