Logo

(साग)का निर्माणाधीन पूर्वाधार निरीक्षण



Spread the love

६ कार्तिक, पोखरा – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतको टोलीले आसन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग)का निर्माणाधीन खेल पूर्वाधार निरीक्षण गरेको छ ।

मन्त्री विश्वकर्मासहित गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री एवम् पोखरा साग तयारी समितिका संयोजक नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल लगायतको टोलीले आज काठमाडौँपछिको सागको दोस्रो आयोजनास्थल पोखरामा निर्माण भइरेहका पूर्वाधारहरुको निरीक्षण गरी कार्यप्रगतिबारे जानकारी लिएको हो ।

टोलीले पोखरा रङ्गशालामा निर्माण भइरहेको फुटबल खेल मैदान, ह्याण्डबल एकेडेमी, बहुउद्देश्यीय कभर्ड हल, क्रिकेट मैदान, आर्चरी खेल मैदान, टेनिस कोर्ट र स्क्वायस कोर्टको निरीक्षण गरेको हो । १३औँ साग आयोजक समितिका अध्यक्षसमेत रहेका मन्त्री विश्वकर्माले देशको प्रतिष्ठाको रुपमा रहेको साग खेलकूदलाई भव्य रुपमा सफल बनाउन पूर्वाधार राम्रो बन्नुपर्ने बताए ।

उनले प्रतियोगिता अगावै पूर्वाधार निर्माण गरिसक्नुपर्नेमा जोड दिँदै त्यसका लागि बजेटको समस्या नपर्ने स्पष्ट पार्दै अस्थायी प्रकृतिका पूर्वाधार बनाउँदा कम लागत र पारदर्शितामा ध्यान दिन आग्रह गरे । टोलीले फेवा किनारमा निर्माण भइरेहको बीच भलिबल कोर्ट र भारोत्तोलन आयोजना हुने पोखरा १२ स्थित केसी क्याटरिङको समेत निरीक्षण गरेको थियो।

पोखरा फुटबल रङ्गशाला परियोजनाका प्रबन्धक दीपक बरालले साग अगावै आठदेखि १० हजार सिट क्षमताको प्यारापिटसहित मैदान तयार भइसक्ने जानकारी गराउनुभएको थियो । सागको महिला फुटबल यही रङ्गशालामा खेलाइने योजना छ ।

निर्माण कम्पनी ग्रेट स्पोर्टसका प्रतिनिधि सन्दिप सिंहले फ्रान्सबाट भारतको विशाखापटन बन्दरगाहा आइपुगेका रङ्गशालाका सामानलाई यथाशीघ्र नेपाल ल्याउने पहल आग्रह गरेका थिए । सागका लागि अभ्यास स्थलको रुपमा निर्माण भइरहेका खेल मैदानहरुको हालसम्मको कार्यप्रगतिका बारेमा टोलीले जानकारी लिएको थियो । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागअन्तर्गतका नौ खेल पोखरामा खेलाइने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्