Logo

अघोर गुढ रहस्य



अघोर गुढ रहस्य

सृष्टिको उदय पूर्व सर्वव्यापी अन्धकार थियो । निराकार शिवलिंगात्मक ब्रह्म नै गहन निस्तब्ध अन्धकारको अवस्थामा आफू स्वयंभित्र विद्यमान शिव र शक्ति तत्त्व को सुप्त अवस्थाको गहन नादमय ध्वनिको कारण वा प्रभाव मा दुई समान आकार, गति र शक्तिका अर्धचन्द्राकार शिव र शक्ति तत्त्वहरू तीव्र वेगका साथ बराबर तर विपरीत कोणबाट आइ एक आपसमा जोडले ठोक्किन पुग्दछन् ।

परिणामतः : उनीहरूका बिच आपसी घर्षण प्रक्रिया सुरु हुन्छ । जसबाट ॐकार ध्वनि गुञ्जायमान हुनुका साथसाथै उर्जापिण्ड स्वरूप ॐकार बीज प्रकट भएर सर्वव्यापक हुन्छ । शिव र शक्ति स्वरूप दुवै तत्त्व ॐकार बीज भित्रै लुप्त भई आपसी घर्षण प्रक्रिया सुचारु गरिरहन्छन् । यो हो व्रह्मसूत्र ,यही सूत्रको क्रिया -प्रतिक्रियाबाट ॐकार बीज सृजना भयो । यही बीजबाट पंचतत्वको रचना भयो साथसाथै समस्त तारामण्डल, सूर्य चन्द्र आदि नवग्रह ,जीव एवं वनस्पति सहित ब्रह्माण्डको उत्पत्ति भयो।

ब्रह्माण्डको उत्पत्ति पश्चात् चराचर जगत र सृष्टिचक्र लाई नियमन गर्नाका लागि श्री ब्रह्माजी ले पर ब्रह्म परमात्मा, परमेश्वरको दिव्य दश हजार वर्ष सम्म तपस्या गरे । तपस्याको क्रममा श्री ब्रह्माजी का शामुन्य कालो लगौटी, कालो जनै , कालो चिम्टा , कालो त्रिशूल र कालै फेटा लगाएका एक दिव्य तेजस्वी बालक प्रकट भए ।

यसरी तपस्या को क्रममा आफू शामुन्य प्रकट भएर मुसुमुसु हाँस्दै उभिरहेका दिव्य तेजस्वी बालक को हुन भनी श्री ब्रह्माजीले ध्यानदृष्टिले हेरे । तत् पश्चात् ती दिव्य तेजस्वी बालक पर ब्रह्म परमात्मा परमेश्वर शिव को अघोर रूप हो भनी थाह पाए र स्तुति गर्न आरम्भ गरे।श्री ब्रह्माजीका स्तुति वाट प्रसन्न भएका ती पाँच वर्षीय दिव्य तेजस्वी बालकले श्री ब्रह्माजी लाई आफ्नो इच्छा अनुरूपको चराचर जीव जगतको निर्माण र व्यवस्थापन गर्न सके भनी वरदान दिए ।

ब्रह्माजी का शामुन्य प्रकट भएका तिनै पाँच वर्षीय दिव्य तेजस्वी बालक नै संसारको पहिलो अघोर स्वरूप हो । सृष्टि रचनाको पुर्वार्ध देखिनै संसारको व्यवस्थापन र निर्माणका निर्णयाधार अघोर र अघोरी नै हुन भन्ने बुझ्न सकिन्छ । साथ साथै समस्त ब्रह्म र ब्रह्माण्ड नै अघोर छ भन्ने तथ्य पुष्टि हुन्छ ।

अघोरीहरूको मूल मन्त्र IIअघोरेभ्योऽथघोरेभ्यो घोरघोरतरेभ्य:। सर्वेभ्य: सर्वशर्वेभ्यो नमस्ते अस्तु रुद्ररुपेभ्य:II हो। यो अघोर सम्प्रदाय को सिद्ध प्रमाणिक आधार सूत्र मन्त्र शिवजी को रूद्रावतार प्रकट हुँदा हृदय कमलबाट प्रस्फुटित भएको ध्वनि हो। जगदीश्वर शिव को रुद्र (रूप) अवतार नै अघोर पन्थका प्रथमाचार्य हुन भने अघोर पन्थ का दोश्रा आचार्य (राजा सीरध्वज) राजर्षि जनक हुन । त्यस उपरान्त एवंऋतले पृथ्वीमा अघोर परम्पराले निरन्तरता लिँदै आइरहेको छ ।

अघोर सम्प्रदायका मुख्य तीन शाखा हरू छन् ।

१)अघोर
२) औघड
३) अवदुत

यी तीनै सम्प्रदायका अघोर साधकहरूको साधनाको मुख्य ध्येय नै आध्यात्मिक खोज अनुसन्धान गर्नु हो।अघोर सम्प्रदायका साधकहरूले अपनाउने दुई फरक मार्ग र पद्धतिहरू प्रचलनमा छन् ।

१)घोर को मार्ग अपनाउने पद्धति ।

२)अघोर को मार्ग अपनाउने पद्धति ।

वास्तविक अघोर साधनामा साधना रत अघोरीले जुन सुकै मार्ग र पद्धति अपनाए पनि पंचमकार को सिद्धान्तलाई अनिवार्य पालना वा अवलम्बन गर्नु पर्दछ । तर, फरक यत्ति छ ! कोही सकारात्मक भावले अवलम्बन गर्छन् भने कोही नकारात्मक भावले अवलम्बन गर्दछन्।

घोर को मार्ग अपनाउने अघोरीहरूले प्राय पंचमकारको सिद्धान्तका पॉच विषयहरूलाई सामान्य अर्थ मा जे बुझिन्छ त्यही भाव अनुरूप जस्ताको तस्तै व्यवहार अवलम्बन गरेको पाइन्छ । परम्परागत सुनाई, बुझाइ र गराइको अन्धानुकरण गर्दै रागमय जीवन जिउँदै हिँडेको मात्र देखिन्छ भने यो अघोर पंथको घोर,नकारात्मक र विकृत पक्ष हो।

सच्चा अघोर पन्थको मार्ग अनुसरण गरेर हिँड्ने अघोरीहरू ले पंचमकार को सिद्धान्त का पॉच विषयहरूलाई प्रतिकात्मक रूपमा लिएर वास्तविक भाव अनुरूपको व्यवहार अवलम्बन गर्दै स्वाधीन भएर कर्मशील सुत् रगत शक्ति साधना मा साधना रत रहेको पाइन्छ यो अघोर पंथको सकारात्मक र सुसंस्कृत पक्ष हो ।

अघोर सम्प्रदायले अवलम्बन गर्ने पच्चमकार सिद्धान्त अन्तर्गत निम्न पाँच विषय पर्दछन् ।

१) मांस
२) मत्स्य
३) मुद्रा
४) मदिरा
५) मैथुन

१)मांस :- सच्चा अघोर साधकहरू मांस भनेको समस्त स्वादको परित्याग गर , सुरुचि र सुपाच्य भोजन ग्रहण गर भन्ने बुझ्दछन्। तर, घोर मार्गीहरू मासु आहार गर भनेको हो भन्ने बुझ्दछन् ।

२)मत्स्य :- सच्चा अघोरहरू मत्स्य भनेको श्वास सिद्दी गर भनेको हो भन्ने बुझ्दछन् । तर , घोर मार्गीहरू माछा खाऊ भनेको हो भन्ने बुझ्दछन् ।

३)मुद्रा:- सच्चा अघोर मार्गीहरू मुद्रा भनेको यौगिक मुद्रा मा आसन सिद्दी र सुद्धी गर भनेको हो भन्ने बुझ्दछन् । तर, घोर मार्गीहरू पैसा कमाऊ भन्ने बुझ्दछन् । मुद्रा भनेको हाउ भाउ कटाक्ष देखाइ एक दुई महिने मसान सिद्धिका आधारमा जादु चटक देखाएर मुद्रा (पैसा)आर्जन गर भनेको पटक्कै होइन ।

४)मदिरा :- वास्तविक अघोर मार्गीहरू मदिरा भनेको बिहान शुभ मुहूर्तको ४ बजेर १९ मिनेट देखि ४ बजेर ४३ मिनेट सम्मको अवधि भित्र पृथ्वीले वायु मण्डलमा प्रवाह गर्ने अमृतमयी उर्जावान वायुपान गर भनेको हो भन्ने बुझ्दछन् । तर, घोर मार्गीहरू टन्न मादक रक्सी पान गर्नु हो भन्ने बुझ्दछन् । मदिरा भनेको किमार्थ रक्सी पान गरेर परमेश्वर शिव को प्रथम रुद्र अवतार स्वरूपको सम्प्रदाय अर्थात् अघोर सम्प्रदायको बदनाम गर भनेको होइन ।

मैथुन :- वास्तविक अघोर मार्गीहरू मैथुन भनेको मुलाधारमा कुण्डलिनी बाँधेर बसेकी कुण्डलिनी महाशक्ति चण्डी स्वरुपा शिवाङिनी लाई ध्वनि र श्वास सिद्धि का सहाराले उर्ध गमन गराएर सहश्रार चक्रमा ध्यानावस्थामा रहेका शिव तत्त्व सँग भेट गराउनु र समाधि को निरन्तर आनन्द लिनु हो भन्ने बुझ्दछन् । तर, घोर मार्गीहरू जति सक्यो त्यति धेरै विपरीत लिङ्गी लाई मैथुन गर भन्ने बुझ्दछन् । मैथुन भनेको तन्त्र मन्त्र को सहारा वाट बोध, अबोध नर-नारी लाई सम्मोहन , प्रलोभन देखाएर वीर्य स्वखलित गर भनेको पटक्कै होइन ।

पंचमकारको पवित्र सिद्धान्त को अर्थ लाई अनर्थ लगाई अभेदनितीको आवरण प्रदर्शन गरेर हाउ भाउ , कटाक्षको सहाराले समाज लाई भ्रष्ट र दिग्भ्रमित गराउने क्रिया अघोर सम्प्रदायको नकारात्मक पक्ष र विकृतरुप हो ।

अघोर शब्दको अर्थ अ+घोर अर्थात् जो सँग घोर छैन, डर त्रास छैन; जो सरल छ, जो सँग कुनै भेदभाव छैन ऊ नै अघोरी हो । हरेक विषय लाई सरल बनाउनु धेरै कठिन कार्य हो । कठिन र जडता लाई सरलता र तरलता मा रूपान्तरण गर्नु नै अघोरीहरूको स्वभाव र धर्म हो ।

अघोरीहरूको परम ध्येय वा लक्ष्य भनेकै शिव तत्त्व लाई प्राप्त गर्नु हो । शिव तत्त्व प्राप्त गर्न शक्ति तत्त्व शिवाङगिनीको सहारा लिनु अनिवार्य आवश्यकता पर्दछ । शिव लाई पहिचान गर्ने र जागृत गर्ने सामर्थ्य केवल शव अवस्थामा रहेका शिवकी ईश्वरी शक्ति स्वरूपा शिवाङगिनी सँग मात्र छ। यसैले शिव तत्त्व प्राप्त गर्न शक्ति तत्वको प्राप्ति अनिवार्य भएका कारण सच्चा अघोर साधकहरू चण्डी साधना र सिद्धि मार्फत कुण्डलिनी जागरणको प्रक्रियामा लाग्दछन् ।

कुण्डली जागरण भनेको नै मुलाधार चक्रमा बसेकी कुण्डलिनी महाशक्ति चण्डी स्वरुपा शिवाङिनी लाई ध्वनि र श्वास सिद्धि का सहाराले उर्धगमन गराएर सहश्रार चक्रमा ध्यानावस्थामा रहेका शिव तत्त्व सँग भेट गराउनु हो ।

चण्डी साधना गर्ने अघोर साधकहरूले माता चण्डीका चार पाउ मारण, मोहन, उच्चाटन, वशीकरण र इन्द्रिय स्तम्भन सहित तान्त्रोक्त ५(पाँच ) विषयहरू लाई कठोर रूपले अनिवार्य पालना गर्दछन् र गर्नु पर्दछ ।

१) मारण :- मारण भनेको साधना वाट प्राप्त शक्ति र बल का आधारमा अरूको हत्या गर भनेको होइन । आफू स्वयम् भित्र विद्यमान रहेका नकारात्मक सोच, विचार र दुर्गुणहरू लाई मारण गर भनेको हो ।

२) मोहन :- मोहन भनेको टुना मुना सिकेर मोहनी लगाऊ भनेको होइन । आफ्नो ईस्ट,गुरु र मान्यवर तथा पर-आत्मा लाई श्रद्धा, सेवा, समर्पण र विश्वासले आफूतर्फ आकर्षित गर भनेको हो ।

३) उच्चाटन :- उच्चाटन भनेको आफू स्वयम् भित्र रहेको चञ्चल चित्तलाई स्थिर गर , चञ्चल नबनाऊ भनेको हो । तन्त्र, मन्त्र र यन्त्र बल का आधारमा अरू लाई उचालेर पछार भनेको होइन ।

४) वशीकरण :- वश्यं भनेको आफू स्वयम् भित्र रहेका इन्द्रियहरू लाई विकृत सोच विचार र दुर्गुणहरू तर्फ आकर्षित हुन नदिन वशमा राख भनेको हो । प्राप्त तन्त्र,मन्त्र र यन्त्र बलका आधारमा अरू लाई आफ्नो वशमा पार्नु भनेको पटक्कै होइन ।

५) स्तम्भन :- स्तम्भन भनेको आफ्नो इन्द्रिय विषय-विकार लाई रोक्नु वा स्तम्भित गर्नु हो। जसले आफ्ना इन्द्रिय विषय-विकार लाई स्थिर गराउन सक्दछ उ नै शक्ति साधना का लागि सामर्थ्य राख्दछ। स्तम्भनको अर्थ यो होइन कि आफ्नो स्वार्थ सिद्दी का लागि अरूलाई पक्षाघात बनाएर स्थिर गराउनु वा बन्धक बनाउनु भनेको होइन ।

समाजमा मारण, मोहन,उच्चाटन, वशीकरण, तथा स्तम्भन लाई नकारात्मक एवं विध्वंसात्मक रूपमा प्रयोग गर्नु साधना शक्तिको दुरुपयोग हो । यो विषय साधक स्वयंका लागि आवश्यक ऊर्जा प्राप्त गर्ने तथा साधनामा एकाकार भई आफ्नो लक्ष हासिल गरी पूर्ण मोक्ष प्राप्त गर्न उपयोग र प्रयोग गर्ने आधार सूत्र हो ।

षडरिपु काम,क्रोध,लोभ,मोह,मद,माष्चर्यलाई नियन्त्रण गर्न इन्द्रियहरूलाई वशमा राख्नु पर्दछ। मुख्यतः ११ इन्द्रियहरू ले नै मानव शरीर लाई सञ्चालन गरेको हुन्छ । पॉच ज्ञानेन्द्रियहरू नाक, कान, आँखा, जिब्रो र छाला हुन भने मुख, हात, खुट्टा, लिङ्ग र मलद्वार पाँच कर्मेन्द्रियहरू हुन । मन महेन्द्र हो।

ज्ञान इन्द्रियहरू साध्य र कर्म इन्द्रियहरू साधन हुन् भने महाइन्द्रिय मन सञ्चालक इन्द्रिय हो अर्थात् मन को नियन्त्रणाधार ज्ञानेन्द्रिय हुन् । नाक ले सधैँ सुगन्ध खोज्दछ तर दुर्गन्ध रुचाउँदैन, कान ले कर्ण प्रिय आवाज मात्र खोज्दछ कर्ण विभोर आवाज सुन्न चाहँदैन, आँखा ले सधैँ सुन्दरता मात्र देख्न खोज्दछ कहिल्यै कुरूपता देख्न खोज्दैन, जिब्रोले सधैँ स्वादिष्टता मात्र खोज्दछ नमिठो रुचाउँदैन त्यस्तै छालाले सधैँ मुलायम वस्तु मात्र खोज्दछ खस्रो रुचाउँदैन । अस्थिर र चञ्चल चित्तको निर्माण मनले गर्दछ उसको प्रत्यक्ष सम्बन्ध ज्ञानेन्द्रिय सँग हुन्छ । मुख्यतः ज्ञानेन्द्रिय लाई वशमा राख्दा सबै इन्द्रीयहरू वशीकरण गराउन सकिन्छ ।

राम्रो-नराम्रो, मिठो-नमिठो, खस्रो-मुलायम, प्रिय-अप्रिय सबै विषयवस्तुहरू प्रकृतिका उपज हुन्। अघोरीहरू प्रकृति पूजक भएका कारण राम्रो नराम्रो को भेद राख्दैनन् त्यसैले सधैँ राम्रो मात्र होइन नराम्रो मा पनि उत्तिकै रम्न सक्नु, सुख र दुःख मा समेत भेद नदेख्नु नै अघोर भाव हो । अघोरी उसैलाई भनिन्छ जसको भित्र सबै राम्रो-नराम्रो, सुगन्ध=दुर्गन्ध , प्रेम-घृणा, डाह-मोह जस्ता कुनै भाव हुँदैनन्। समभाव राख्नु र अभेद रहनु अघोरीको चरित्र हो ।

अघोर साधकहरू ‘ॐ अग्निरिती भस्म वायुरिती भस्म जलमिती भस्म स्थलमिति भस्म व्योमेति भस्म सर्वह्ँ वा इदं भस्म मन एतानी चक्षुँषि’ । को मन्त्रोच्चारण सहित आफ्नो शरीरमा सर्वाङ्ग भष्म (खरानी ) लेपन वा धारण गर्दछन् ।

अघोर साधकहरूको साधना को परम ध्येय नै शिव तत्त्व को प्राप्ति हो त्यसैले अघोर साधकहरूका आदर्श शिव जी हुन । शिवजी को प्रमुख वस्त्र भस्म अर्थात् खरानी हो । यसकारण आफ्नो स्थुल स्वरूप, आनीबानी र आचरण पनि शिवजिको जस्तै बनाएर बस्दछन् । पञ्च तत्वले वनेको यो नस्वर जगत अन्ततोगत्वा एक दिन खरानीमा परिवर्तित हुनेछ भने यो सृष्टि शिवतत्वमा विलीन हुनेछ भन्ने भाव वा सृष्टि को सार का बिम्ब को रूपमा भस्म लाई लिइन्छ।साथै, अघोर साधकले भष्म वा खरानी लाई आफ्नो शरीरको तापमान स्थिर गराउन तथा राग रहित वैराज्ञभाव को प्रतीकका रूपमा धारण गर्दछन् ।

अघोर विद्या डरत्रासको विषय होइन। अघोर साधक अघोरीको स्वरूप डरलाग्दो देखिनु स्वाभाविक हो । सामान्य मानिसहरू सामूहिक रूपमा उपस्थित हुँदा समेत भयभीत हुने स्थान श्मशान(शान्त र एकान्त) एवं शमशान जस्तो डरलाग्दो र घृणित स्थानमा कालो रङ्ग को पोसाक लगाएर खप्पर,नलिखुट्टाको ध्वनिवादक यन्त्र, चिम्टा र त्रिशूल पनि साथ साथै लिएर सहजता पूर्वक रमेर बस्दछन् , मध्य रात मा शमशानमा बसेर साधना गर्दछन् ।
वास्तविक अघोरी हरू आम दुनियॉ र समाज सँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क वाट टाढै रहन रुचाउँछन् । आफ्नै धुन, धुना र साधना मा मस्त र व्यस्त रहिरहन्छन् । यसैले उनीहरूको लागि सहज र उपयुक्त रोजाइको स्थान शमशान र शमशान हुन्छ र हुनुको कारण पनि यही हो । यी-आदि कारणले अघोरी हरू सँग जनसाधारण भयवित हुनु अस्वाभाविक होइन ।

आश्रम वा कुटी पनि सामान्य मानिसको निवासस्थान तथा निगम मार्गी साधक, साधु, सन्तको भन्दा फरक हुन्छ। आघोर साधकहरू रहने आश्रम वा कुटिको तीन दिवारहरु पुर्णरुप मा बन्द हुन्छ र आश्रम वा कुटिको सामान्य दिवारमा एक द्वार र धुनाको ठिक उर्धभाग छानो मा एक सानो द्वार मात्र राखेर वन्द कुटीमा धुना जगाएर बस्दछन् ।

वास्तवमा अघोर साधकहरूले धुना जगाउनुको कारण आफ्नो देहलाई अग्निमा एकाकार बनाउनु र आफ्नो देहमा रहेका राग तथा विषय विकारहरू लाई अग्निमा नै दाह गराई रहेको छु भन्ने भाव हो । अझ स्पष्टरुप मा भन्ने हो भने अघोर साधकहरूको कुटी र आश्रम नहुन पनि सक्दछ तर धुना अनिवार्य हुन्छ । अग्नि कुण्ड वा धुना अघोर साधना गर्ने अघोरीहरूको साधनाको साधन र प्रयोगशाला हो ।

गाईको मासुभन्दा बाहेक का सर्व वस्तु आहार र भक्षण अघोरी साधकहरूले गर्दछन् यो सत्य हो तर यो नियमित आहारको रूपमा भक्षण गर्दैनन् । घोर कठिन साधनारत अवस्थामा निर्जन स्थानमा देह रक्षाका लागि आवश्यक पर्दा आफ्नो सामु जे देखिन्छ त्यो खानु परिस्थिति जन्य आवश्यकता हो रुचि किमार्थ होइन ।

सामान्य मानिसहरू वा घोर भाव ले युक्त मानसिकता भएका व्यक्तिहरूको मन मस्तिष्कमा घृणा भाव विद्यमान हुन्छ तर दुनियॉ ले घृणा गरेका विषय र वस्तु मा उनीहरू उत्ति नै रम्छन् , प्रेम गर्दछन् । जसलाई समाज घृणा गर्दछ अघोरीहरू उसैलाई प्रेम गर्दछन् , जसलाई तिरस्कार गरिन्छ उसैलाई बढी स्वीकार गर्दछन् । करुणाका प्रतिमूर्ति शिवजीको अवतारका प्रतीक वास्तविक अघोरीहरू दुर्लभ प्राय हुन्छन् ।

अघोर पंथी साधक लाई ‘अ’ को अर्थ अस्तित्वगामी ‘घो’ को अर्थ घोरिएर अनुसन्धानमूलक तपस्या गर्ने ‘र’ को अर्थ रहस्यमयी संसार को रहस्य उजागर गर्ने सम्प्रदाय भनेर बुझ्दा पनि अत्युक्ति हुँदैन।अघोर साधकहरूका असाधारण व्यवहार र क्रियाकलाप का कारण अघोरीहरू लाई पृथक् र डरलाग्दो भनेर बुझ्ने र बुझाउने गरिन्छ । वास्तविकतामा यो विल्कुल होइन । कसै सँग केही नमाग्ने अर्थात् आशा र अपेक्षा नगर्ने वास्तविक अघोरीहरू न्याय र दण्ड का प्रतिमूर्ति हुन् ।

अघोर तन्त्र र अघोरीहरू लोक कल्याण का संवाहक हुन्, अघोरीहरू स्वतन्त्रता, न्याय र समानताका प्रतिपादक एवं संरक्षक हुन् । आफ्नो-अर्कोको भेद नराखी हरेक व्यक्तिलाई समानरूपले उत्थान र विकास होस् भनी आफ्नो विद्याले दिएको र आफ्ना कठिन साधनाबाट प्राप्त उपलब्धिहरू समेत सहजै समर्पित गर्दछन् ।

वास्तवमा भन्नू पर्दा जो सँग घोर छैन त्यही अघोर हो । घोर भनेको डर लाग्दो र अघोर भनेको साधारण भन्ने बुझिन्छ । एउटा पाँच वर्ष को बालक आफू सामु कालो लगौटी, कालो जनै , कालो चिम्टा , कालो त्रिशूल र कालै फेटा बाँधेर उभिँदा श्री ब्रह्म जी ले समेत दिव्य दृष्टि ले पहिचान गर्नु पर्‍यो भने सामान्य मानिसले सहजै अघोरी लाई पहिचान गर्न नसक्नु अस्वाभाविक होइन। तर, सच्चा अघोर सँग डराउनु पर्दैन । यथार्थ मा बुझ्नु पर्दा कृयात्मकरूपले आध्यात्मिक यथार्थ को खोज अनुसन्धान गर्ने सम्प्रदाय बुझ्नु सान्दर्भिक हुन्छ ।

आध्यात्मिक यथार्थ को खोज अनुसन्धान गर्ने पद्धतिका पनि दुई मार्गहरू छन्

१)वेद निगम मार्गमा शास्त्रगत ज्ञान,कर्म र भक्ति योग हुन्छ ।
२)वाम आगम मार्गमा तन्त्रगत कर्म योग को प्रवलता हुन्छ।
जीवनका हरेक क्रिया तान्त्रोक्त क्रिया हुन । यो चराचर जगत प्रकृति, तारामण्डल, मनुष्यको सम्बन्ध , चरित्र, विचार, भावनाहरू सबै विषयहरू तन्त्र ले नै चलिरहेका छन् ।
जीवनमा घटित हुने कुनै पनि घटना सूचना दिएर आउँदैन, सामान्य व्यक्ति सँग काल को गति लाई बुझ्न सक्ने सामर्थ्य हुँदैन । भविष्यको ज्ञान ,समय-चक्र लाई अधीन मा राख्ने कुरा सम्भव छैन । यस कारण तन्त्र शक्ति को बोध हुनु जरुरी छ ।

अघोर विद्या तन्त्रगत कर्म योगका विषय हुन् ,भय, त्रास र डरको विषय होइन। अघोर विद्याले व्यक्तिलाई यस्तो चेतना युक्त शक्ति प्रदान गर्दछ की स्वयंलाई कृयात्मकता, स्व अभिव्यक्ति, स्वाधीनता, स्वावलम्बनको भाव उत्पन्न र विकास गराई वास्तविक स्वतन्त्रता अनुभूति गराउँदछ ।

जय अघोर ।

– अघोर साधनाका सन्त “अघोरी श्मशानेश्वर चण्डी बाबा
प्रतिक्रिया दिनुहोस्