Logo

पर्यटन वर्ष- २०२० र देशको पल्लाछेउको मृत ‘शे-फोक्सुण्डो’ !



शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल फोक्सुण्डो ताल ३,६११.५ मिटरको उचाईंमा देशकै ठुलो जिल्ला डोल्पामा अवस्थित छ । मान्छेको फोक्सो आकारको भएकाले यसलाई फोक्सुण्डो भनिएको मानिन्छ ।

नेपालको सबभन्दा गहिरो ताल ‘फोक्सुण्डो ताल’लाई शे-फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । यो तालले आफनो रङ्ग परिवतर्नन गरिरहन्छ । यसो हुनुको मुख्य कारण यस भित्र रहेको अल्गी, झारपात एवम् खनिज पदार्थको हलचल हुनसक्छ ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तर्गत पर्ने यस तालको लम्बाई ४.८ कि.मी., चौडाइ १.६ कि.मी.रहेको छ ।  नेपालको सबभन्दा गहिरो र सुन्दर शे-फोक्सुण्डो ताल, यसको गहिराइ यकिनका साथ पत्ता लगाउन सकिएको छैन भनिन्छ तर पत्ता लागेको पछिल्लो तथ्यांकअनुसार यो ६ सय ५० मिटर (वि.स. २०३६ को जापानी मापन)गहिरो रहेको छ ।

तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल ‘वाई’ आकारको छ।

फोक्सुण्डो तालबाट सुलिगाँड झरना (१६८ मिटर, ५५० फीट) निस्केको छ। यो झरना नेपालकै सबैभन्दा ठूलो झरना पनि हो । यसलाई ‘फोक्सुण्डो झरना’ समेत भन्ने गरिन्छ । यो झरना समुन्द्री सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा रहेको छ ।

फोक्सुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत समेत गरिएको छ ।

यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन् । उक्त गाउँमा  ३०,००० देखि ४०,००० वर्ष पहिला गएको पहिरोको कारण यस तालको उत्पति भएको जनविश्वास रहीआएको छ ।

कसरी पुग्ने ?

नेपालगञ्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि सुरु हुन्छ, पैदल यात्रा । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टा जति लाग्छ । दोस्रो दिन दुनैदेखि छेप्का । तेस्रो दिन छेप्कादेखि झरना । चौथो दिन झरनादेखि फोकसुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।

तालको सुन्दरता सिनेमामा कैद 

फोक्सुण्डो तालको सुन्दरता फ्रान्सेली निर्देशक एरिक भ्यालीले सन् १९९९ मा क्याराभान(हिमालय) फिल्ममार्फत संसारसामू पस्किएका थिए । ७२ औं एकेडेमी अवार्डमा सर्वश्रेष्ठ विदेशी फिल्म कोटीमा नामांकन गरिएको यो पहिलो नेपाली फिल्म हो।

2016-04-25-1461586904-5758239-ThinleyandEricValli.jpg
Thinley Lhondup: A Star of Oscar Nominated Nepali Movie Himalaya (Caravan) and Director Eric Valli

फिल्मले मध्य पश्चिमी पहाडका माथिल्लो डोल्पेली व्यक्तिको जीवनशैली मात्र नभई उनीहरूका परम्परागत चालचलनहरूलाई समेत सम्बोधन गरेको पाइन्छ ।  यही कारणले पनि होला डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुन्छन् ।

निर्देशक एरिक भल्ली नेपालमा सन् १९८३ देखि नेपालमा गर्दै आएका एवम् उनी कुशल फोटोग्राफर र लेखक पनि हुन्। उनको काम नियमित नेशनल ज्योग्राफिक म्यागजिन, जीईओ पत्रिका र लाइफ पत्रिकाहरूमा प्रकाशित हुने गर्दछ ।  सेभेन इयर्स इन तिब्बत  (1997) र चास्सेउर दे मेल (1989) उनका अन्य महत्वकांक्षी फिल्महरू हुन् ।

अमृत गुरुडको स्वरमा ‘सा कर्णाली’

त्यसो त अमृत गुरुडको ‘सा कर्णाली (Sa Karnali)‘ ले पनि डोल्पाको सुन्दरतालाई व्याख्या गरेको छ । सा (Sa) एक लोकभाका हो, जुन कर्णालीको मध्य पहाडी क्षेत्र ( मुख्यत: डोल्पा जिल्लाको वरपर) प्रख्यात छ। यो गीत पश्चिमी नेपालको डोल्पा जिल्लामा अभ्यास गरिएको देउडा र झ्याउर तालको मिश्रण हो। डोल्पा निवासी लक्ष्मीकांत उपाध्याय यस गीतका लागि स्रोतव्यक्ति  हुन्।

गीतमा पटकपटक  ‘कम्पनी माला’ शब्दको प्रयोग भएको छ । औपनिवेशिक भारतको चाँदीको सिक्काको हारको मालालाई ‘कम्पनी माला’ भनिएको नेपथ्यको युट्युब डिस्क्रिप्सनमा भेट्न सकिन्छ । त्यस्तै त्यहाँ कस्तूरी हिरणको दाँत मार्फत जवान केटाहरूले आफूले रोजेको दुलही पाउने जनविश्वास पनि रही आएको छ।

देशको पल्लाछेउको मृत ‘शे-फोक्सुण्डो’

कर्णाली प्रदेशको मुख्य–मुख्य पर्यटकिय स्थलहरुमा मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा  वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा सहित शे-फोक्सुण्डो पनि एक हो ।

सरकारले आगामी वर्ष अर्थात् सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटन भित्राउने घोषणा गरेको छ । तर ‘शे-फोक्सुण्डो’ सम्म पुग्न सोचे जति सजिलो भने छैन । न खाने ठाउँ, न बस्ने घर । न सजिलो बाटो, न प्रचारप्रसार । शे-फोक्सुण्डोसम्म पुग्नबाट बन्चित गराउनुको विभिन्न चुनौतीहरू मध्ये प्रमुख चुनौती हो- भौतिक पूर्वाधार । त्यसबाहेक्- हवाईसहित स्थल यातायात सुविधा तथा प्रयाप्त होटल लज तथा होमस्टेको व्यवस्था पर्यटन वर्षको अन्य मुख्य चुनौती हुन् । त्यसका लागि केन्द्र सरकार र प्रदेश सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

अलि पहिल्यै ‘फोक्सुण्डोले मताएको त्यो दिन !’ शिर्षकमा लेखिएको यात्रा संस्मरणमा वरिष्ठ पत्रकार प्रेम बानियाँले लेखेका छन्- “पर्यटन वर्ष मनाउने देशले फोक्सुण्डोका निम्ति खास केही किन सोचेको छैन ? हेर्नुस् त यो सौन्दर्यलाई कसले बुझेको छ ? फोटो हेरेर हुन्छ ? देशलाई त फोटोले चिनाउने हो ?’ फोक्सुण्डो सम्भावनाको कुन उचाइ हो ? यसले देशलाई कति दिन सक्छ वा देशले यसबाट कति लिन सक्छ भन्ने कुरा आजसम्म कसैले बुझ्यो ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘पर्यटन वर्ष २०२०’ नेपालीको साझा अभियान भएको बताइरहँदा मृत–तालसरी देशको पल्लाछेउमा अलपत्र छाडीएको शे-फोक्सुण्डो पुन: जीवित हुने आशा आफ्नो रङ फेरी रहेकै छ, फेरी रहेकै छ ।..

# ‘पर्यटन वर्ष २०२०’

# शे-फोक्सुण्डो ताल

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्