Logo

रियल भालाडोलिडमाथिको सानदार जितसँगै बार्सिलोना शीर्षस्थानमा उक्लियो



Spread the love

१३ कात्तिक, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडलाई पराजित गरेको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए । त्यस्तै लेङलेट, अथुरो भिडाल र लुईस स्वारेजले एक एक गोल गरे । उता भालाडोलीडका लागि किकोले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा भिडाल र ३४औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म ३-१ गोलअन्तरले अघि रह्यो । त्यसपछि खेलको ७५औं मिनेटमा मेस्सी र ७७औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ५-१ गोलअन्तरको जित दिलाएका हुन् ।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा पुनरागमन गरेको छ । बार्सिलोनाको १० खेलमा २२ अंक रहेको छ भने दोस्रो स्थानको ग्रानडाले १० खेलमा २० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्