Logo

६० लाखको लगानीमा सल्यानमा गोलभेडा खेती



Spread the love

पुरुस्वत्तम गिरी
असार १३ , सल्यान

सल्यानको कोर्वांगझिम्पेमा हाडटेक प्रविधिबाट गोलभेडा खेती सुरु गरिएको छ । इजरायली प्रविधिबाट झण्डै ६० लाख रुपैयाँको लागतमा १५ रोपनी क्षेत्रफलमा ३८ वटा टनेल बनाएर खेती सुरु गरिएको हो ।

दारिमज्युला सहकारी संस्थाको नेतृत्वमा कोर्वांगझिम्पे गाविस–२ मा यो प्रविधि अपनाएर खेती गरिएको पहिलो पटक भएको सहकारी संस्थाका अध्यक्ष केशबहादुर विष्टले बताउनुभयो । एक पटक टनेल बनाउन लगानीपछि लामो समयसम्म पुग्ने र गोडमेल पनि धेरै गर्नुनपर्ने भएकोले यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । कुल ६० लाख रुपैयाँ लगानी रहेकोमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानीय किसानको लगानी छ । किसानले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढि गोलभेडाका बिरुवा रोपेका छन् । सहकारीमा २५ जना स्थानीय किसान आवद्ध छन् ।

गोलभेडा खेतीका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक सहयोग गरिरहेको छ । फलामको टनेल भित्र खेती गरिने यो प्रविधिमा जमिनमा प्लाष्टिक मल्च राखिने हुँदा गोडमेलको झण्झट नहुने, टनेललाई जाली लगाइएको हुनाले किराबाट सुरक्षित हुने र छानामा तापक्रम व्यवस्थापन गर्न हरियो मेट राखिएको हुन्छ । किरा, घामबाट सुरक्षा हुने यो प्रविधि लोकप्रिय भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुँईटेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले बनाएका झण्डै २७ सय प्लाष्टिक टनेल बाँसका भएकाले बढीमा ३ देखि ५ वर्ष टिक्छन तर यो टनेल फलामको भएकाले ५० वर्ष टिक्छ ।’ किसानले लगाएको १२ हजार गोलभेडाको विरुवाबाट राम्रासँग उत्पादन गर्न सके वार्षिक झण्डै ५० लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन हुने लुँईटेलले बताउनुभयो । गएको वर्ष ८ सय एक प्लाष्टिक टनेल बनाएर गोलभेडा खेती भएको सल्यानमा यो वर्ष पनि १९ सय भन्दा बढी टनेल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्