Logo

म्याग्दीमा पुरोहितको अभाव हुँदा तुलसीको विवाह गर्न व्रत बस्ने महिलाहरू अन्योलमा



Spread the love

२२ कात्तिक, गलेश्वर। आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भएअनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी श्ययामा शयन गरेर भगवान् श्रीहरि जागा भएको दिन ।

यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि (विष्णु)को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने पुरोहितको अभावमा तुलसीको विवाह गर्न व्रत बस्ने महिलाहरू अन्योलमा परेका छन् ।

कर्मकाण्ड गर्ने ब्राह्मण (पुरोहित)हरूको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरूजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको बेनी नगरपालिका–२ की भीमकुमारी घिमिरेले बताउनुभयो ।

विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा म्याग्दी जिल्लामा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरूको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

वेद, उपनिषद्, पुराण, रुद्री लगायतका ग्रन्थहरूलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । “हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, उहाँले भन्नुभयो, “संस्कृतको ज्ञान नभएका व्यक्तिहरूले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्महरू गर्न पनि समस्या हुन थालेको छ ।” संस्कृत शिक्षा हिन्दूहरूको जीवन पद्धतिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रूपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनहरूले आफूखुशी ‘धुपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र सङ्कल्पमा सम्वत्सर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले पाएको अर्का पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो । “शुद्धसँग वेदका ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचारणमा नरहेका ब्राह्मणहरूले पनि अरू कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणहरूको समेत बदनाम भएको छ”, उहाँले भन्नुभयो ।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरूको शेषपछि पुरोहितहरूको अभाव शुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई–तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरू पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्