Logo

एक घर एक धारा अभियान



Spread the love

२६ कार्तिक, तनहुँ – एक घर एक धारा अभियान अन्तर्गत व्यास नगरपालिका–१४ मा ७५० पानीको धारा जडान गरिएको छ । गाउँदेखि टाढा रहेको मूलको पानी बोकेर खाँदै आएका त्यस क्षेत्रका बासिन्दालाई लिफ्टिङ प्रणाली मार्फत व्यास नगरपालिकाले घरघरमा खानेपानीको व्यवस्था गरेको हो ।

व्यासको नगरस्तरीय बजेटबाट वडामा खानेपानीको सुविधा पु¥याइएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । कूल ८५० घरधुरीमध्ये अझै एक सय घरधुरीमा खानेपानीको सुविधा पुर्याउन बाँकी छ । वडाध्यक्ष श्रेष्ठले भने, “यसै आर्थिक वर्ष २०७६–०७७ भित्रमा जडान गर्ने लक्ष्य राखिएको छ ।”

आव २०७५–०७६ मा पाँच सय घरधुरीमा धारा जडान गरिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार रुम्सीमा एक सय १३, ठिन नयाँगाउँमा ७१, मास्दीमा ४९, राउटेमा ४६, छाब्दी कैजलेमा ४०, बेलभञ्ज्याङमा २४, राशिभञ्ज्याङमा २४ घरधुरी लगायत स्थानमा खानेपानी धारा जडान गरिएको छ ।

कुलुङ र केशवटार क्षेत्रका २५० घरधुरीमा आव २०७४–०७५ मा नै धारा निर्माण गरिसकिएको वडा कार्यालयले जनाएको छ । घरघरमा खानेपानीको धारा निर्माण गर्न स्थानीय श्रमदानका साथै आमा समूह र सामुदायिक वनले समेत आर्थिक सहयोग गरेका छन् । शिवशक्ति आमा समूह र स्थानीय सामुदायिक वन उपभोक्ता समितिले रु दुई दुई लाख आर्थिक सहयोग गरेका थिए ।

उक्त वडामा करीब रु २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको हो । वडाध्यक्ष श्रेष्ठले भने, “वडाको रुम्सी क्षेत्रमा ११३ घरधुरीमा धारा निर्माण गर्दा वडा कार्यालयले रु १० लाख विनियोजन गरी योजना सम्पन्न गरेको छ भने अन्य क्षेत्रमा नगरपालिकाको रु १२ लाख खर्च भएको छ ।”

भौगोलिक विकटताका कारण कुनै क्षेत्र एक गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने स्थानीय बासिन्दाको समस्याको अन्त्य भएको छ । घरघरमा खानेपानी पुगेपछि पानी लिनका लागि लामो समय खर्चिनुपर्ने बाध्यता हटेसंँगै स्थानीयवासी आफ्ना करेसाबासीमा तरकारी खेतीतर्फ आकर्षित हुन थालेको रुम्सीका लक्ष्मण आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्