Logo

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन



Spread the love

२७ कार्तिक, मकवानपुर – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाअन्तर्गत वडा नं ६, ७ र ८ मा पाँचवटा पक्की विद्यालय भवन निर्माण भएको छ । पाँचमध्ये चार वटा भूकम्परहित व्यवस्थित भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार, राक्सिराङ गाउँपालिका र जिल्ला शिक्षा समन्वय एकाइसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका पक्की भवनहरु निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको हो ।

वडा नं ७ को दामराङमा निर्मित दामराङ आधारभूत विद्यालय भवन एक समारोहका बीच लिसा हिमालय इभी जर्मनीका अध्यक्ष डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दीगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरे ।

सुरक्षित विद्यालय भवन निर्माण भएको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गैरसरकारी क्षेत्रबाट स्थानीय सरकारलाई शिक्षा क्षेत्रमा गरेको सहयोग अमूल्य रहेको बताए । उनले अबका दिनमा चेपाङ बालबालिकालाई पक्की भवनमा पठनपाठन गराउन पाइने र प्राकृतिक प्रकोपको असरसमेत कम हुने बताए ।

दामराङ आधारभूत विद्यालयमा आठ वटा कक्षाकोठासहितको भवनमा दुई वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ । त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरी व्यवस्थित गएिको छ भने हरेक कक्षाकोठामा ‘फर्निचर’, ‘ह्वाइटबोर्ड’ लगायतका सुविधाहरु राखिएका छन् । भवन निर्माणका लागि रु दुई करोड ५७ लाख ९९ हजार खर्च भएको समारोहमा जानकारी गराइएको थियो ।

दामराङसहित लिसा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालले वडा नं ६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नं ८ को जनज्योति आधारभूत विद्यालय, वडा नं ६ को जनसेवा प्राथमिक विद्यालयलाई भूकम्परहित पक्की भवन निर्माण गरिदिएको छ । टिकेढुङ्गा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको लिसा हिमालय इभीका परियोजना संयोजक अन्जनप्रसाद पौडेलले जानकारी दिए ।

विद्यालय भवन निर्माण कार्य लिसा हिमालय जर्मनीका अध्यक्ष झारिङ र नेपाल प्रतिनिधि स्टेफनको प्रत्यक्ष निगरानीमा निर्माण भएको हो । स्टेफन इञ्जिनीयरसमेत हुन् । परियोजना संयोजक पौडेल भन्छन्, “विद्यालय भवनको आवश्यकता, निर्माण कार्यको तौरतरिकालगायत सबै विषयहरु उहाँहरुकै निगरानी र सल्लाहबमोजिम पारदर्शी ढङ्गले गरिएको छ ।” झारिङ र स्टेफन केही वर्षदेखि अधिकांश समय गाउँपालिका केन्द्रित रहँदै आइरहेका पौडेलले जानकारी दिए ।

तीनवटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रमअन्तर्गत संस्थाले चेपाङ, तामाङ र दलित समुदायका सबै छात्राहरुलाई पोशाक तथा शैक्षिक सामग्री तथा सबै विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्