Logo

उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाइ



Spread the love

 

२९ कार्तिक, काठमाडाैँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकामा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडी र सम्पूर्ण नेपालीलाई बधाइ दिएका छन् । उनले बङ्गलादेशमा बिहीबार सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेर सारा नेपालीलाई खुसी दिएकामा नेपाल भलिबल सङ्घ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिएकी प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाइसहित धन्यवाद दिएका छन् । उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुसी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताएका छन् । निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबललगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्ने उनले विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षणसमेत गराउनु भएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्