Logo

आलमको थुनछेक बहस सकियो, फैसला आजै हुने



Spread the love

२९ कात्तिक, रौतहट । राजपुर बमकाण्डका अभियुक्त नेपाली कांग्रेसका सांसद मोहमद अफताब आलममाथिको थुनछेक बहस सकिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको इजलासमा आठ दिनदेखि चलिरहेको थुनछेक बहस शुक्रबार सकिएको हो।

उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी अथवा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आजै आउने भएको छ । प्रतिवादीको तर्फबाट जारी रहेको बहस सम्पन्न भएकोले केही घण्टाभित्रै आदेश आउने अधिवक्ता अजय पटेलले जानकारी दिएका छन् ।

उनलाई थुनामा राख्नु पर्ने भन्दै रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल लगायत तीन सरकारी वकिलले बहस गरेका थिए।

आलमलाई छोड्न नहुने भन्दै जाहेरवालाहरूको तर्फबाट भने बरिष्ठ अधिवक्ता यूवराज संग्रौला लगायतले बहस गरेका थिए। सरकारी वकिल र जाहेरवालाका गरी आलमविरूद्ध १३ जनाले बहस गरेका थिए। आलमका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, शेरबहादुर केसीलगायत २५ वकिलले बहस गरेका थिए।

शुक्रबार बिहान साढे १० बजेदेखि सुरू भएको प्रतिवादीतर्फको बहस साढे १२ बजेसम्म सक्न अदालतले निर्देशन दिए पनि करिब दुई बजेमात्रै बहस सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्