Logo

विद्यालय भवनको शिलान्यास



Spread the love

२९ कार्तिक, पोखरा – २६ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पार्दिस्थित फिष्टेल एकेडेमीले आज नवनिर्मित विद्यालय भवनको शिलान्यास गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उक्त विद्यालयको भवनको शिलान्यास गरे ।

प्रमुख जिसीले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता औँल्याए । प्रतिष्पर्धाको समयमा गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने भन्दै शिक्षामा निजी क्षेत्रको लगानी राम्रो भएकाले यसलाई नतिजामुखी बताउनुपर्ने बताए ।

सरकारको तीनखम्बे नीतिमा निजी क्षेत्र पनि रहेकाले निजी क्षेत्रले शिक्षामा गरेको लगानीलाई परिणाममुखी बनाउनुपर्नेमा उनको भनाइ थियो । समृद्ध नेपाल निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जनता र बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताए ।

एकेडेमीका संस्थापक एवं निर्देशक चिनु रानाभाटले जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा बिताएकाले अझ यस क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन बनाउन लागेको जानकारी दिए । १८ रोपनी क्षेत्रफलमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय भवन, ल्याब, जुनियर सिनियर विद्यार्थीका लागि छुट्टाछुट्टै खेलकूद मैदान, अण्डर ग्राउण्ड पार्किङ, बहुउद्देश्यीय डिजिटल हल, अभिभावक शिक्षक मिटिङ हलसहित अन्तरराष्ट्रिय मापदण्डको विद्यालय बनाइने उनले बताए ।

अत्याधुनिक भवनमा पानीको फोहोरासहितको हरियाली बगैँचाले विद्यालयलाई थप मनमोहक बनाउने रानाभाटले जानकारी दिए । माछापुच्छ्रे हिमालको काखमा निर्मित अन्तरराष्ट्रिय मापदण्डसहितको विद्यालयको भौतिक संरचनाले विद्यार्थी र अभिभावकलाई फरक अनुभव र गर्व गर्ने वातावरण विद्यालयले प्रदान विद्यालयका प्राचार्य बुद्धिमोहन पौडेलले बताए । हाल म्यानेजमेन्ट सङ्कायमा मात्रै पढाइ हुँदै आएको विद्यालयमा भवन निर्माणसँगै विज्ञान सङ्काय र अन्य प्राविधिक विषयको समेत अध्यापन गराइने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । हाल विद्यालयमा ७६ जनशक्ति रहेको छ भने एक हजार १०० विद्यार्थीले अध्ययन गरिहेका छन् ।

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ, सरस्वती गुरुङजस्ता खेलाडी र मुस्कान रानाभाटजस्ता गायिकासमेत उत्पादन गर्न सफल स्कूलले पढाइको अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सक्रिय सहभागिता गराउँदै आएको छ । कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वदेखि स्थानीयजन प्रतिनिधि र सामाजिक व्यक्तित्व एवं अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा १० कि सदीक्षा आचार्य र शिक्षक भरत खड्काले विद्यालयको बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्