Logo

बास्केटबलमा एलआरआई प्रथम



Spread the love

३० कार्तिक, काठमाडाैँ – काठमाडौँको कलङ्कीस्थित लर्निङ रियल्म इन्टरनेशन (एलआरआई) विद्यालयले आयोजना गरेको ‘एलआरआई इन्टर स्कूल बास्केटबल एण्ड फुटसल फेस्ट’ मा छात्रातर्फ बास्केटबलमा आयोजक एलआरआई विद्यालय प्रथम भएको छ ।

यही कात्तिक २४ गतेदेखि शुरु भएको उक्त फेस्टको आज भएको फाइनल खेलमा एलआरआईले डल्लुस्थित स्वर्णिम स्कूललाई २२ का विरुद्ध ३७ अङ्कले पराजित गरेको हो । त्यसैगरी छात्रतर्फ खेलमा हात्तीगौँडास्थित टीआइए स्कूल प्रथम र स्युचाटारस्थित रेडियन्ट पब्लिक बोर्डिङ स्कूल दोस्रो भएका छन् । पैतालीस अङ्कका विरुद्ध ४८ अङ्क ल्याई टीआइए विजेता बनेको हो ।

फुटसलमा हात्तीवनस्थित लिट्टल एन्जेल्स स्कूलले बाफलस्थित ग्रिनपिल्ड नेशनल स्कूललाई तीन का विरुद्ध छ गोल गरी प्रथम भएको हो । काठमाडौँ उपत्यकाका १८ संस्थागत विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजवंशीले पुरस्कार प्रदान गर्दै विद्यालयले गुणस्तरीय शैक्षिक गतिविधिका साथै यस्ता खेलकूद, अतिरिक्त क्रियाकलापले विद्यार्थीमा शारीरिक, मानसिक विकासका साथै विभिन्न विद्यालयका विद्यार्थीबीच सद्भाव, मित्रता कायम गर्ने विश्वास व्यक्त गरे । एलआरआइका अध्यक्ष शिवराज पन्तले विद्यालयले विभिन्न गतिविधिमार्फत शैक्षिक उन्नयनका कार्य गरिरहेकाले प्रत्येक वर्ष शैक्षिक क्षेत्रको विकासमा योगदान पुगिरहेको बताए ।

सोही विद्यालयका प्राचार्य डा देवकान्त जोशीले विद्यार्थीलाई पाठ्यक्रमका साथै अतिरिक्त क्रियाकलाप, नृत्य, सङ्गीत, खेलकूदजस्ता विषयमा समेत सिकाइँदै आएको जानकारी गराए । उनले महानगरभित्र निजी (संस्थागत) ६४४ विद्यालय तथा सरकारी (सामुदायिक) ९१ गरी ७३५ विद्यालय सञ्चालनमा रहेका जानकारी दिँदै यी सबै विद्यालयमा करीब दुई लाख विद्यार्थी अध्ययनरत रहेको आफ्नो संस्थासँग अभिलेख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्