Logo

टेस्ट क्रिकेटः भारतद्वारा बंगलादेश भारी अन्तरले पराजित



Spread the love

३० कात्तिक, इन्दोर – भारतले बंगलादेशलाई पहिलो टेस्ट क्रिकेटमा एक इनिङ र १३० रनले पराजित गरेको छ ।

इन्दोरस्थित होल्कार क्रिकेट रंगशालामा खेलिएको यस खेलमा भारतले बंगलादेशलाई तीन दिनभित्रै पराजित गरेको हो । टेस्ट क्रिकेटमा भारतको यो लगातार छैटौं जित हो । यो जितसँगै यसअघि नै विश्व टेस्ट वरियताको पहिलो स्थानमा रहेको भारतले आफ्नो स्थानलाई अझ सुदृढ बनाएको छ ।

भारतभन्दा ३४३ रनले पछि रहेको अवस्थामा तेस्रो दिनको खेल शुरु गरेको बंगलादेशको शुरुआत राम्रो हुन सकेन । बंगलादेशका दुवै प्रारम्भिक ब्याट्सम्यान इमरुल कायेस र शदमान इस्लाम सात ओभरकै अन्तरालमा आउट भएका थिए ।

मोहम्मद मिथुन र मोमिनुल हकले केही ओभरसम्म संघर्ष गरेपनि मोमिनुल हक भारतीय बलर मोहम्मद शामीको बलमा आउट भएपछि बंगलादेश टिमको अवस्था अझ नाजूक बनेको थियो । लगत्तै अर्को ओभरमा शामीले मिथुनलाई व्यक्तिगत १८ रनमै आउट गरेका थिए ।

त्यसपछि महमुदुल्लाह र मुस्फिकर रहिमबीच २८ रनको साझेदारी भएको थियो । एकपछि अर्का ब्याट्सम्यान आउट भएपनि मुस्फिकर रहिमले संघर्षपूर्ण ६४ रन बनाए ।

भारतीय बलरहरु रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद शामीले चार विकेट लिए ।

यसअघि भारतले ६ विकेटको क्षतिमा ४९३ रन बनाएर पालि समाप्तिको घोषणा गरेको थियो । भारतका लागि मयन्क अग्रवालले सर्वाधिक २४३ रन बनाएका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा १५० रन मात्र बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्