Logo

विद्यालय बिहान खोले कारवाही



Spread the love

बाग्लुङ – नगर शिक्षा शाखा बागलुङले पटक पटकको पत्राचार र निर्देशन अटेर गरेका विद्यालयमा कानूनी कारवाही प्रक्रिया थालेको छ । अब देखि बिहान कक्षा संचालन गरेको भेटिएमा कानूनी कारवाही थाल्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा शाखाले गत वैशाखदेखि पटक–पटक पत्राचार गरेर माध्यामिक विद्यालय दिउँसो १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको थियो । तर कात्तिक मसान्तसम्म पनि बिहानै चलाएपछि स्पष्टीकरण सोध्ने र कानूनी कारवाहीको तयारी थालेको हो ।

सङ्घीयता कार्यान्वयनपछि नेपाल सरकारले उच्च मावि खारेज गरेर कक्षा १ देखि १२ सम्मलाई मावि तोकेको छ । मावि तहको पढाई दिउँसो सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भएर पनि अटेर गरेपछि कारवाही प्रक्रिया थालिएको बताइएको छ ।

गत साउनदेखि केही विद्यालयले दिउँसोमा पढाउन थालेपनि बलेवाको गणेश माविसहित सदरमुकामका विद्यालयले अटेर गरेका हुन् । सदरमुकामकै कालीका कन्या मावि, चिल्ड्रेन लाईफ, अमर आदर्श, आदर्श विद्यामन्दिर, सनराईज, अमृत आदर्श, न्यू ओएसिस, गरिमा आवासीय मावि र फ्युचर ब्राइटर माविले पनि बिहान कक्षा चलाएको भेटिएको हो ।

ती विद्यालयमा पटक–पटक पत्राचार गरेर निर्देशन दिए पनि निर्देशन पालना नभएको हो । नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले सात दिनभित्र निर्देशन पालना गर्न र निर्देशन किन पालना नगरिएको स्पष्टीकरण पेश गर्न पनि पत्राचार गर्नुभएको छ । अटेर भइरहेमा कानून बमोजिम कारवाही गर्ने योजनासमेत नगरपालिकाले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्