Logo

कर्णालीको पर्यटन विकासमा पूर्वाधार मुख्य बाधक



Spread the love

४ मंसिर, कर्णाली – कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन तथा विकास हुन नसक्नुमा पूर्वाधार मुख्य बाधक भएको औँल्याइएको छ । कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा समितिका सदस्यहरुले यहाँको पर्यटन विकासले अपेक्षित गति लिन नसक्नुमा पूर्वाधार प्रमुख चुनौती भएको बताए ।

“कर्णालीमा न सडक राम्रो छ नत हवाईसेवा नै नियमित” समितिका सदस्य तथा होटेल व्यवसायी नुर्वु लामाले भने । उनले भने, “कर्णाली राजमार्गको अवस्था अहिले पनि विकराल छ । सरकार हवाई यातायात सेवा सुचारु गर्नै सक्दैन । गरिबले बिरामी हुँदा अकालमै ज्यान गुमाउनु पर्छ ।” सडक तथा हवाई यात्रा निकै कठिन हुने भएकाले एक पटक कर्णाली आएको पर्यटक फेरी फर्कने अवस्था नरहेको उनको तर्क थियो ।

प्रदेश पर्यटन प्रवर्द्धन समितिका सह–संयोजक राजु कार्कीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट यहाँका कुनै पनि जिल्लामा नेपाल एयर लाइन्सको सिधा सेवा नभएको बताए । “निजी एयर लाइन्सले पनि सुर्खेतबाट सधैँ नियमित उडान भर्छन भन्ने छैन,” उनले भने । मन्त्री बुढाले नेपाल एयर लाइन्सका लागि पटकपटक सङ्घीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धाउँदा पनि सुनुवाइ नभएको बताए । अब प्रधानमन्त्रीसम्म पुगेर राजधानी सुर्खेतबाट यस प्रदेशका विभिन्न जिल्लामा सिधा हवाई यातायात सेवा सुचारु गर्न आग्रह गर्ने उनले उल्लेख गरे ।

मन्त्री बुढाले भने, “नेपाल भ्रमण वर्ष २०२० सफल पार्न र कर्णालीमा अधिकतम पर्यटक भित्र्याउन यातायात, होटल, उद्योग, पर्यटन व्यवसायीले आगन्तुकलाई सहुलियत दिएर सहयोग गर्नुहोस् । यसका लागि सरकार तपाई सम्पूर्ण निजी क्षेत्रलाई अपिल गर्दछ ।”

मूलतः प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भलाई भव्य बनाउन प्रचारप्रसार, व्यवस्थापन, समन्वय तथा सरसफाइ, आर्थिक, मानव संसाधन तथा सांस्कृतिक समिति गठन गरेर आजैदेखि क्षेत्रगत कार्यका लागि निर्देश गरेको छ । कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका सम्पूर्ण सदस्यलाई मन्त्री बुढाले आजै मनोनयनपत्र प्रदान गरे । बैठकमा पर्यटन विज्ञ रामचन्द्र सेडाईँले कर्णालीको पाँचवर्षे कार्ययोजनासहितको १० वर्षे दूरदृष्टि समावेश गरिएको पर्यटन गुरुयोजना प्रस्तुत गरेका थिए । उक्त गुरुयोजनाले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्