Logo

मुख्यमन्त्री पोखरेलद्वारा जिल्ला अस्पताल उद्घाटन



५ मंसिर, रुकुमपूर्व – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गरेका छन् । सतहत्तरौँ जिल्लाको मान्यता पाएको लामो समयपछि स्वास्थ्यचौकी रहेकै भवनमा जिल्ला अस्पतालको उद्घाटन गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले स्वास्थ्य उपचार नागरिकको नैसर्गिक अधिकार भएको बताए । जनताले स्वास्थ्य सेवा सुलभ र सहजरुपमा लिन सकून् भनी सरकारले स्वास्थ्य बीमाको अवधारणा ल्याएको उनको भनाइ थियो । “अब स्वास्थ्य बीमामार्फत जनताले सुुलभ र सहजरुपमा स्वास्थ्य सेवा पाउने छन्”, मुख्यमन्त्री पोखरेलले भने ।

सो अवसरमा जिल्ला अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले पहिले स्वास्थ्यचौकी रहेको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गर्न मुस्किल भएको जानकारी गराए । जिल्ला अस्पतालमा हाल ३१ कर्मचारीको दरबन्दी छ । अस्पताललाई आवश्यक उपकरण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएको जिसीले बताए । अहिले अस्पतालबाट आकस्मिक सेवा, बहिरङ्ग सेवा, प्रसूति सेवा, शव परीक्षणलगायत सेवा प्रदान गरिँदै आएको छ ।

“जिल्ला अस्पतालको डिजिटल एक्सरे त्यसै थन्किएको छ”, उनले भने, “भवन अभावकै कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।” अस्पतालमा ल्याव टेक्निसियन, रेडियोग्राफरलगायत दरबन्दी रिक्त रहेको जिसीले उल्लेख गरे । सो अवसरमा उनले जिल्ला र स्थानीय तहमा एम्बुलेन्स नभएको मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

सांसद कमला रोकाले नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला अस्पतालका लागि आवश्यक जग्गा गाउँपालिकाले उपलब्ध गराएको छ । गाउँपालिकाले २१ रोपनी जग्गा उपलब्ध गराएको छ । झण्डै ३५ रोपनी क्षेत्रफलमा ५० श्ययाको अस्पताल निर्माण गरिनेछ । जिल्ला अस्पतालको भवन रु २७ करोडको लागतमा निर्माण गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले जानकारी दिए ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्