Logo

बीडीसीए कप क्रिकेटमा दीपकको नयाँ रेकर्ड



Spread the love

८ मंसिर, बैतडी – दीपक बोहराले यहाँ जारी बीडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने रेकर्ड कायम गरेका छन् । निङ्गलाशैनी क्रिकेट क्लब, देहिमाडौँंको टोलीबाट १९औँ संस्करण खेल्दै उनले व्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् ।

घरेलु मैदानमा बोहराले ५६ बल खेल्दै सात छक्का र २० चौका प्रहार गरे । उनले ४१ बलमा शतक बनाए । यसअघि बीडीसीए कपमा सर्वाधिक रन बनाउने रेडर्क निङ्गलाशैनी क्रिकेट क्लबकै गजेन्द्र बोहराको नाममा थियो । गजेन्द्रले बीडीसीए कपको १७औँं संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए । जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टका अनुसार दीपकले विद्यालयस्तरीय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप र आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेलिसकेका छन् । उनी तीन वर्षदेखि काठमाडौंँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध छन् । पन्ध्र वषीय दीपक दाँया हाते ब्याट्सम्यान हुन् ।

शनिबार सम्पन्न खेलमा निङ्गलाशैनीले ६ विकेटको क्षतिमा २० ओभरमा ३०६ रन बनायो । उसका लागि प्रकाश नाथ र खडक बोहराले ४०÷४० रन तथा वीरेन्द्र नाथले २९ रन बनाए । तीन सय सात रनको लक्ष्य पछ्याएको जनसेवा क्रिकेट क्लबले १८ दशमलव चार ओभरमा ११६ रन मात्र बनायो । दीपकले बनाएको रेकर्डले यहाँका अन्य खेलाडीसमेत उत्साहित भएको क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । जिल्ला क्रिकेट सङ्घले २०५८ सालदेखि निरन्तर बीडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्