Logo

उपनिर्वाचन २०७६ : लोकतन्त्रको सुन्दरतम प्रयोग गर्ने प्रतिबद्धता



Spread the love

९ मंसिर, कास्की – कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई दलहरुले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढङ्गले लोकतन्त्रको सुन्दरतम प्रयोग गरी सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आयोजनामा उपनिर्वाचनमा उम्मेदवारी दिएका दलको आज पोखरामा बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णतः पालना गर्ने प्रतिबद्धतासहित सम्पूर्ण मतदातालाई मतदानमा सहभागी हुन संयुक्त आह्वान गरेका छन् ।

नेकपा जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले सत्तारुढ पार्टी भएकाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउने प्रमुख जिम्मेवारी आफूहरुको रहेको बताए । काङ्ग्रेसका जिल्ला सभापति कृष्णबहादुर केसीले निर्वाचन आचारसंहिताको पालनामा प्रतिबद्ध रहेको बताउँदै आफ्नो दलकोतर्फबाट निर्वाचनलाई शान्तिपूर्ण बनाइने उल्लेख गरे । बैठकमा नेकपा जिल्ला पार्टी सचिव बखानसिंह गुरुङ, प्रचार विभाग प्रमुख त्रिभुवन पौडेल, काँग्रेसका सचिव देवेन्द्र रानाभाट, साझा पार्टीको तर्फबाट जिल्ला सदस्य एकराज न्यौपाने, दीपक पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका सचिव श्रीमान् थापामगर तथा नेपाली काङ्ग्रेस बिपीका कार्यवाहक सभापति डम्बरबहादुर बानियाँको उपस्थिति थियो । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ जनाले उम्मेदवारी दिएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्