Logo

लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह



Spread the love

 

१० मंसिर, पोखरा – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको पोखरामा आयोजित चुनावी सभामा उनले मुलुकलाई लोकतान्त्रिक पद्धति अनुरुप अगाडि बढाउन काँग्रेस जित्नु जरुरी रहेको बताए । नेता सिंहले कालापानी, लिपुलेकको विषयमा सरकार ठोस् रुपमा अग्रसर नभएको आरोप लगाउँदै लोकतन्त्रको पक्षमा देश विदेशमा सकारात्मक सन्देश दिन काँग्रेस जित्नु पर्नेमा जोड दिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयमा काँग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै विकास र समृद्धिका जति ठूला कुरा गरे पनि नेपाली काँग्रेसकै पालामा बनेको गोरेटोमा मुलुक अघि बढिरहेको उल्लेख गरे ।

पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको भन्दै यसबाटमुक्ति पाउन पनि काँग्रेसले चुनाव जित्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाली काँग्रेसका नेतृ एवं सांसद विन्दादेवी राना र नेता देवराज चालिसेले यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवारबीचको होइन, भ्रष्टाचार विरुद्ध र लोकतन्त्रको रक्षाका लागि निकै महत्वपूर्ण रहेको बताए ।

उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफुले जनता सामु गरेका वाचा कहिल्यै नभुल्ने बताए । कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे र सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्